आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मतदाता भन्छन्– यिनले केही गर्लान् भन्ने विश्वास नभए पनि दियौँ भोट

आइतबार, ०४ मङ्सिर २०७९, २० : २२
आइतबार, ०४ मङ्सिर २०७९

‘गाउँठाउँको विकास र परिवर्तनका लागि भनेरै भोट हाल्ने हो, तर के गर्नु ! भोट त मताधिकारको प्रयोग गर्नुमात्रै रैछ,’ आइतबार बिहान ९ बजेतिर सुर्खेत, वीरेन्द्रनगरको जनमावि विद्यालयको प्राङ्गणमा भेटिएका वीरेन्द्रनगर नगरपालिका–६ का दलबहादुर दमाई (७० वर्ष) ले निराश हुँदै आफ्नो गुनासो सुनाए ।

उनले पञ्चायतकालदेखि नै मताधिकार प्रयोग गर्दै आएको सुनाए । तर भोट हालेर आफ्नो कर्तव्य निर्वाह गर्नुबाहेक कुनै आशा नरहेको उनले बताए । ‘भोट त पञ्चायतकालदेखि नै हाल्दै आएको हो नि,’ उनले रातोपाटीसँग भने, ‘त्यो भोटको उपलब्धि के भयो भन्ने कुरा मुख्य हो । बास्तवमा भन्ने हो भने भोट हाल्नुको कुनै अर्थ ठानिनँ ।’

दलबहादुरले आफूले हालेको भोट समाज परिवर्तनको उद्देश्यका लागि भएको बताए । ‘तर के गर्नु ! ०३६ सालदेखि लगातार भोट हाल्ने काममात्र भएको छ परिवर्तनको आशा हाम्रो नेताहरुमा गर्नु बेकारजस्तै रहेछ,’ उनले भने, ‘न कुनै नेताबाट सहयोग पाइएको छ न त राज्यबाट प्राप्त आधारभूत सेवा–सुविधाको उपभोग गर्न नै पाएको छु ।’

जनताप्रति राजनीतिक नेतृत्व उत्तरदायी नबन्दा जनतामा वितृष्णा पैदा भएको उदाहरणका रुपमा दलबहादुरको अभिव्यक्तिलाई लिन सकिन्छ । मदतान स्थलहरुमा उनीजस्तै धारणा राख्ने अन्य व्यक्ति पनि प्रशस्त भेटिए ।

दलबहादुरले जतिसूकै राजनीतिक परिवर्तन भए पनि अहिलेसम्म टोल छिमेकको अवस्थामा भिन्नता नआएको प्रतिक्रिया दिए । ‘मैले भन्न खोजेको अझै पनि समाजको विकास हुन सकिरहेको छैन,’ उनले भने, ‘जबसम्म समाजको विकास हुँदैन, तबसम्म अन्य विकासको खासै अर्थ नहुने रहेछ । अझै पनि हाम्रो समाज परम्परागत मानसिकताको भागिदार बनिरहेको छ ।’

उनले देशमा जतिसुकै राजनीतिक परिवर्तन भए पनि जनतालाई कुनै पनि सुख सुविधा नभएको बताए । यद्यपि अब आउने नेतृत्व सुध्रनुपर्छ भन्ने सन्देश दिन पनि आफू मतदानमा सहभागी भएको उनको भनाइ छ ।

‘आशा गर्न थालेको पनि त दशकौँ भयो, तर के गर्नु हामी नेपालीहरुले गर्ने भनेको आशामात्रै रहेछ,’ ५ मिनेट हामीसँग गफिएमा दलबहादुरले भने, ‘मेरो खासै नेताहरुप्रति आशा केही पनि छैन ।’

उनले स्वास्थ्य बिमा नवीकरणमा ढिलाई भएको गुनासो गरे । ‘पैसा हुनेले त उत्तिबेला नै नवीकरण गर्छन्, नहुनेले कमाएर तिर्न जानुपर्छ,’ उनले भने, ‘सर्वहारा वर्ग र पुँजीपति वर्गबीचको भिन्नता अझै यहाँ छ ।’

उनले सेवा सुविधा भनेकै औषधि भएको बताए । उनले नेताहरु चुनावको समयमा मात्रै हात जोड्दै आउने गरेको, अघिपछि कुनै चासो नदिने गरेको गुनासो गरे ।

दलबहादुर जस्तै वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ४ रातोपुलकी ७० वर्षीय बालकुमारी थापा पनि नेताहरुप्रति खासै भरोसा र आशा नभएको बताउँछिन् ।

विगत लामो समयदेखिनै भोट हाल्दै आएकी उनले बिना उद्देश्य नै आफू भोट हाल्नका लागि मतदान केन्द्रमा आएको बताइन् । बिहान साढे ८ बजे भैरव माध्यमिक विद्यालयको मतदान केन्द्रमा भेटिएकी उनले भनिन्, ‘नेताले भन्नेमात्रै हुन्, गर्ने केही पनि होइन, यिनीसँग आशा गरेर पनि के गर्नु र !’

उनले नेताले काम नगरे पनि आफ्नो मताधिकार प्रयोग गरेर कर्तव्य निर्वाह गरेको बताइन् । उनले आफ्नो बस्तीमा खानेपानीको प्रमुख समस्या रहेको बताइन् ।

अधिकांश मतदाताहरु बाटोघाटो, खानेपानी जस्ता समस्या रहेको र ती समस्या समाधान गर्नुपर्ने खाँचो औंल्याउँछन् । उम्मेदवारहरुले पनि आफ्नो एजेण्डामा यिनै विषयलाई समावेश गर्दै आएका छन् । यद्यपि नेताहरु सत्तामा पुगिसकेपछि जनताको समस्यालाई बेवास्ता गर्छन् भन्ने आम बुझाइ समाजमा व्याप्त छ ।

वीरेन्द्रनर वडा नम्बर ४ का विष्णुप्रसाद जैशीले ०७० सालको दोस्रो संविधानसभाको निर्वाचनदेखि भोट हाल्दै आएको सुनाए । यद्यपि आफूले मताधिकार प्रयोग गरेको नेता जनतामुखी नभएको उनको भनाइ छ ।

उनले पनि सामान्यतयाः खानेपानी र सडक व्यवस्थापनको कुरा नै उठाए । त्यो भन्दा ठुलो अपेक्षा पनि नरहेको उनले बताए ।

उनले वीरेन्द्रनगरको धिपधिपे विद्युतको समस्या समाधान गरिनुपर्ने बताए । उनले भने, ‘हामीले भोट हालेर पठाएका छौँ, गर्ने–नगर्ने उहाँहरुकै हातको कुरा हो, जनता त भोट बैंक हुन् नि !’

वीरेन्द्रनगरकै गंगादेवी थापा लेखपढ गर्न जान्दिनन् । अरुले भनेकै भरमा उनी भोट दिने गर्छिन्, यहाँसम्म कि, उनी कसलाई भोट दिएको हो भन्ने पनि जान्दिनन् ।

सामान्यतया बाटोघाटो, खानेपानीकै समस्या समाधानको आशाका साथ भोट दिएको उनले बताइन् ।

‘विकास केही भएको छैन, नेताहरु विकास गर्छौंमात्रै भन्छन्,’ उनले भनिन्, ‘नेताहरुप्रति भरोसा भने छैन ।’

उनीमात्र होइन, आइतबार मताधिकार प्रयोग गरेका धेरैजसोले केही आशा रहे पनि नेताहरुप्रति भरोसा भने नभएको बताए ।

वीरेन्द्रनगरकै लक्ष्मी बुढाथोकी भन्छिन्, ‘मताधिकार प्रयोग गरिसकेपछि केही आशा त हुन्छ नै, तर हाम्रा नेताहरु जनतामुखी हैन कि कार्यकर्तामुखी र सर्वसत्तावादी भए ।’

सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ (क) बाट प्रदेशसभा सदस्य पदका उम्मेदवार यामलाल कँडेल चुनावको समयमा मतदाताले नेताहरुप्रति विभिन्न खालका गुनासा राख्नु स्वाभाविक भएको बताउँछन् ।

यद्यपि सीमित श्रोत, साधनका कारण अहिलेको समयमा जनताको आवश्यकतालाई पूर्ति गर्न कठिन हुने उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप