आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मतदाताले भने, ‘आफ्नो विवेकले भोट दियौँ, दलभन्दा व्यक्ति हेर्‍यौँ’

सोमबार, ०५ मङ्सिर २०७९, ०७ : ०३
सोमबार, ०५ मङ्सिर २०७९

मतदान गरेर बाहिर निस्कने बित्तिकै पोखरा महानगरपालिका ११ का सम्भव भुर्तेलको मुहारमा छुट्टै चमक थियो । भुर्तेलको संसदीय निर्वाचनको मतदानको पहिलो अनुभव हो । अध्ययनका लागि काठमाडौँ बस्ने भुर्तेल भोट हाल्नकै लागि शनिबार जन्मथलो पोखरा आइपुगेका हुन् । 

आइतबार दिउँसो कास्की क्षेत्र नम्बर २ शिवशक्ति मावि पुगेर भोट हालेका भुर्तेलले पाँच वर्षमा देशको भविष्य बदलिने विश्वास व्यक्त गरे । मतदान गरिसकेपछि कुराकानी गर्दै उनले विगतमा बाबाआमाले जिताएर पठाएका राजनीतिक पार्टी र नेताप्रति असन्तुष्टि पोखे । ‘यसपालि दुःख गरेर भोट हाल्नुको पहिलो कारण देशमा व्याप्त निराशा हो । यो निराशालाई खुसीमा बदल्न भोट हाल्न आइपुगेको हुँ,’ भुर्तेलले भने ।  

पहिलोपटक निर्वाचनमा भाग लिएका उनले यसपटक राजनीतिक दल र तिनका उम्मेदवार नरहेको बताए । ‘पुराना पार्टीबाट हामीले धेरै दुःख पायौँ,’ विगतलाई खोतल्दै उनले भने, ‘भोलिको भविष्य सोचेर नयाँ सोच नयाँ विचार बोकेकालाई भोट हालेँ ।’ 

२३ वर्षीय भुर्तेल ०७४ सालको निर्वाचनमा काठमाडौँमा थिए । त्यो निर्वाचन पनि राम्रोसँग हेरेको उनी बताउँछन् । तर, उनले यो पाँच वर्षमा विकास भन्दा जनतामा निराशा देखेको सुनाउँछन् । भुर्तेलले निर्वाचन आयोगले भोटिङ मेसिन प्रयोग गर्नुपर्ने बताए । ‘बुढा बाआमा लाइनमा उभिँदा दुख लाग्यो,’ उनले भने, ‘अब निर्वाचनलाई प्रविधिमैत्री बनाउनुपर्छ । हामीले छिमेकी देशको निर्वाचनलाई हेरेर पनि यो सिस्टम बदल्न आवश्यक छ ।’  

निर्वाचन प्रणालीलाई वैज्ञानिक बनाउँदै दिउँसो मतदान गरेर बेलुका रिजल्ट हेर्न पाउनुपर्ने उनको माग छ । ‘मतदान गरेर बेलुका घर पुगेर रिजल्ट हेर्न पाउनुपर्छ,’ उनले भने, ‘मतदान सकिएको १०/१५ दिनसम्म पनि न्युज च्यानल हेर्नुपर्ने अवस्था हाम्रोमा छ । यसमाथि धेरै समय लाग्दा मतपत्र च्यातिने, झैझगडा पर्ने,  मतपत्र साटफेर हुने र गन्न झन्झटिलो छँदैछ ।’ उनले आउने पाँच वर्ष देशलाई स्वास्थ्य शिक्षा, रोजगार, त्यो व्यक्तिको विज्ञान प्रतिको मोह, शिक्षा, स्वास्थ्य र रोजगारीमा योगदान पुर्‍याउन सक्ने अरू नेतृत्व भन्दा क्षमतावान उम्मेदवारलाई भोट हालेँ । 

निर्वाचन क्षेत्र नम्बर २ कै पोखरा ११ फूलबारी शिवशक्ति माविमा मतदान गरेर बाहिर निस्केका उदयराज अधिकारी पनि भोट बदलेको भन्दै साथीसँग खुसी बाँडिरहेका थिए । उनी यसपटक लाइन बस्न नपरेको र नयाँ उम्मेदवारलाई मतदान गर्न पाएकोमा सन्तुष्टि थिए । तर, मतदानमा भोट हाल्ने भीड नदेखिँदा भने उनी दुखी थिए । ‘यो नेताहरूले नै सिर्जना गरेर परिस्थिति हो । हिजो जितेर जाने नेताले केही नगरिदिएपछि जनतामा निराशा देखिएको सङ्केत हो,’ उनले भने, ‘पार्टीहरू प्रति वितृष्णा हो कि । जनता नै गैर जिम्मेवार पनि हुन सक्छन् । यसले जनताले पुराना नेताको विकल्प खोजिरहेको सङ्केत पनि हो ।’ 

कास्की क्षेत्र नम्बर १ कोलपाटनमा मतदान गर्न पुगेकी प्रतीक्षा कार्की पनि नेताको झुटा आश्वासनले आजित छिन् । भोट हालेर बाहिर निस्केर नि उनले नेतालाई गाली गर्न छोडिनन् । भनिन्, ‘बेलुकासम्म भोट हाल्न जान मन थिएन । साथीहरूले जानुपर्छ भनेर भोट हाल्न आएकी हुँ । पुराना वाचा पूरा नगर्ने । फेरि हामीले जिताएर पठाउनुपर्ने भएपछि भोट हाल्न मन नै थिएँ । यसपटक आफूले भोट बदलेको उनको भनाइ छ । ‘भोट त हाले । हिजोको परम्परालाई तोडेर नयाँ विकल्पको खोजी गरेर भोट हाले,’ उनले भनिन् ।’ 

कास्कीका सबै मतदान स्थलमा शान्ति पूर्वक मतदान सकिएको छ । निर्वाचन कार्यालय कास्कीले सौन्दर्य पूर्ण तरिकाले मतदान सकिएको र  ६० प्रतिशत मत खसेको जनाएको छ ।

कार्यालयका सूचना अधिकारी रुद्र न्यौपानेले कास्कीका २ गाउँपालिकाको मत परिणाम नआइसकेकाले प्रारम्भिक गणनामा ५८ देखि ६० प्रतिशत मत खसेको जनाए । कास्कीमा उत्साहजनक रूपमा मतदान सुरु भएको छ । कास्कीमा तीन वटा निर्वाचन क्षेत्र छन् । कास्कीमा १ सय ५० मतदान स्थलमा ३ सय ४४ मतदान केन्द्र छन् । जिल्लाभरि २ हजार ७ सय ५२ जना कर्मचारी निर्वाचनका लागि खटिएका छन् । कास्कीमा २ लाख ९१ हजार ५ सय ६८ जना मतदाताले मतदान गर्ने छन् । 

गण्डकीमा प्रतिनिधिसभा १८ र प्रदेशसभाका ३६ निर्वाचन क्षेत्र छन् । प्रदेशभर १ हजार २ सय ८३ मतदान स्थल अन्तर्गत २ हजार ३ सय ३९ मतदान केन्द्र छन् । प्रदेशभर १८ लाख १७ हजार ५ सय ४१ मतदाता रहेका छन् । कास्कीमा २ लाख ९१ हजार ५ सय ६८ र मनाङमा मात्र ६ हजार ७ सय ७९ रहेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । गण्डकी प्रदेशमा कास्की सबैभन्दा धेरै छन् भने सबैभन्दा कम मनाङमा छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय रानाभाट
सञ्जय रानाभाट
लेखकबाट थप