सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

उनले अर्कै छ भनेपछि म पछि हटेँ– सुलेमान शङ्कर (इकु)

शुक्रबार, १४ पुस २०७४, १३ : ३२
शुक्रबार, १४ पुस २०७४

काठमाडौँ– कलाकार सुलेमान शङ्कर अहिले परिचय फेर्ने क्रममा छन् । हाँस्य शृङ्खला ‘मेरी बास्सै’मा जङ्गली मान्छे ‘इकु’को भूमिका निर्वाह गरेपछि ‘इकु’ परिचय पाएका उनले चलचित्र ‘फिर्के’ मार्फत आफ्नो परिचय फेर्न लागेका हुन् । ‘फिर्के’ उनको निर्माणमा बनेको तेस्रो चलचित्र हो । ‘इकु’ र ‘इकु ब्याक अगेन’ यस अगाडि निर्माण गरी सफल अवतरण गरेका उनी ‘फिर्के’ले आफ्नो परिचय फेर्ने बताउँछन् । ‘फिर्के’मा अभिनेता अपर्ण थापा र अभिनेत्री ऋचा शर्मालगायत थुपै्र चलेका अनुहारसमेत देख्न सकिन्छ । त्यसैले चलचित्रको व्यवसाय पनि राम्रो हुने उनी दाबी गर्छन् । ‘इकु’ भूमिका अगाडि केही चलचित्र र टेलिचलचित्र अभिनय गरे पनि चिनिन नसकेका सुलेमानको अर्काे लुकेको पाटो समाज सेवा पनि हो । भूकम्पमा आमाबुबा गुमाएका दश बालबालिकालाई उनले अहिले संरक्षण गर्दै आएका छन् । कलाकार ‘इकु’सँग यस्तो छ रातोपाटीको दश प्रश्न ।

पछिल्लो समय केमा व्यस्त हुनुहुन्छ ?
– आफैले निर्माण गरेको चलचित्र ‘फिर्के’ २१ गते शुक्रबारबाट देशभर प्रदर्शनमा आउँदैछ । यसै चलचित्रको सेन्सर, प्रचारप्रसारमा दौडधूप छु । पाँच वर्षको अन्तरालमा यसै चलचित्र मार्फत म पुनः अभिनय र निर्माणमा देखा परेको छु ।

तपाईं कमेडी कलाकार, हिरो बनेर हिँड्न कतिको मनपर्छ ?
–हिरो बनेर हिँड्न कसलाई मन पर्दैन र ? मेरो शरीर हिरो बनेर हिँड्ने खालको छैन । तैपनि चलचित्रमा हिरो खेलिरहेको छु । फेसनको कुरा गर्नु भएको हो भने चलेको फेसन र आफूलाई सुहाउँदो गर्न मनपर्छ । बाहिर हिँड्दा टिपटप भएर हिँड्न रुचाउँछु । बढी मनपर्ने पहिरन भनेको टिसर्ट पाइन्ट नै हो । 

बिर्सन नसकेको दुःखका क्षण ?
¬– धेरै छन् । मेरो जीवन नै दुःखैदुःखले भरिएको छ । जीवनमा मैले धेरै सङ्घर्ष गरेको छु । त्यसैले सानातिना दुःख दुःख हो जस्तो लाग्दैन । दुःखमा आफूलाई भिजाउन जानेको छु ।  त्यो नजानेको भए, अहिले म स्वर्गमा हुन्थे होला । 

फेबरेट खाना ?
– थकाली खाना मेरो फेबरेट हो । त्यसमा पनि ढिँडो मिसाएर खान मनपर्छ । बच्चैदेखि ढिँडो खाएर हुर्किएको हुँ । खसीको मासु, सादेको गुन्दु्रक र ढिँडो धेरै मनपर्छ । यो त सम्झने बित्तिकै मुखमा पानी रसाउँछ ।

मनपर्ने गीत सङ्गीत ?
– लोकगीत धेरै मनपर्छ । अन्य गीतहरू पनि लोक टाइपकै मनपर्छ । पप गीतमा पनि मेरो रुचि छ । तर रक टाइपको मन पर्दैन । गायक गायिका उदय र मनिला सोताङको ‘हजार जुनी..’ बोलको गीत म बच्चादेखि सुन्दै आएको छु ।

मन परेको चलचित्र ?
– अभिनेता राजेश हमालको ‘भिष्म प्रतिज्ञा’ । सानैमा हेरेको यो चलचित्रको छाप मनमा अझै गहिरो छ । यो धेरै चोटि हेरेको छु । 

रोजाइको सवारी साधन ?
– मोटर बाइक नै, यो छिटो र सजिलो सवारी साधन हो । काठमाडौँको सडकमा गुडाउन पनि सजिलो छ । गाडी पनि मनपर्छ । तर काठमाडौँमा धेरै जाम हुने भएकोले गाडीमा हिँड्न मन पर्दैन ।

अभिनयमा नआएको भए ?
– कलाकारिता मेरो सानैदेखिको रुचिको विषय हो । यदि कलाकारितामा नआएको भए म बिजनेस म्यान हुन्थे । कलाकारितामा पनि निर्माण माफैत बिजनेस गरिरहेको छु ।

पहिलो प्रेम ?
– ४ कक्षामा पढ्दै गर्दा कक्षाकै फस्ट गर्ल सारै राम्री थिइन् । मलाई धेरै मनपथ्र्याे । प्रेम पत्र त लेखिन् । तर साथीहरू मार्फत प्रेमको अफर राखेको थिए । उनले अर्काे छ भनेपछि म पछिहटे । अरूको कुनै पनि वस्तुमा आँखा लगाउन मन लाग्दैन ।

रोजेको व्यक्तिसँग डेट जाने अफर दियो भने ?
– बलिउड अभिनेत्री कट्रिना कैफसँग जान मन छ । तर सलमानको डर लाग्छ ।   
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप