आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एमालेबाट गण्डकी प्रदेशका मुख्यमन्त्रीका दाबेदार खगराज को हुन् ?

कास्की क्षेत्र नम्बर १ (क) बाट बराल विजयी
शुक्रबार, ०९ मङ्सिर २०७९, १६ : ०३
शुक्रबार, ०९ मङ्सिर २०७९

नेकपा एमाले संगठन विभाग प्रमुख खगराज अधिकारीको कास्की क्षेत्र नम्बर १ (क) बाट गण्डकी प्रदेशसभा सदस्यमा जित हासिल गरेका छन् । माओवादी केन्द्रबाट उम्मेदवार बनेका दीपक कोइरालासँग फराकिलो मतान्तरले अधिकारी प्रदेशसभामा निर्वाचित भएका हुन् ।

अधिकारीले १५ हजार ६२३ मत मत ल्याउँदा उनको प्रतिस्पर्धी कोइरालाले ११ हजार ६२७ मत ल्याए । अधिकारी केपी ओली नेतृत्वको सरकारमा गृहमन्त्री भइसकेका छन् । संसद विघटन भएको तत्कालीन समयमा अधिकारीले १३ दिन गृहमन्त्री बन्ने अवसर पाए । त्योभन्दा अगाडि ०७१ सालमा उनी सुशील कोइराला प्रधानमन्त्री हुँदा स्वास्थ्य तथा जनसंख्या मन्त्री भइसकेका छन् । स्वास्थ्यमन्त्री हुँदा स्वास्थ्य बिमाको सुरुवात गरेर अधिकारीले आमनागरिकको पक्षमा उल्लेखनीय काम गरेको चर्चा छ । तर, त्यो बिमालाई व्यवस्थित गर्ने काम गगन थापा स्वास्थ्यमन्त्री हुँदा गरेका थिए ।

प्रतिनिधिसभामा दुई पटक निर्वाचित भएर मन्त्री भइसकेको अधिकारी ०७४ सालको निर्वाचनमा वाम गठबन्धनबाट चुनाव जितेका थिए । उनले कांग्रेसका यज्ञबहादुर थापालाई हराएका थिए । यस पटक उनी एमालेकै संगठनका बलमा चुनाव लडे र जित हात पारे । अधिकारी यस पटक गण्डकीको मुख्यमन्त्री बन्ने लक्ष्यसहित प्रदेशमा चुनाव लडेका हुन् । 

अधिकारी एमालेका अध्यक्ष ओलीका विश्वासपात्र हुन् । यस पटक ओलीले अधिकारीलाई मुख्यमन्त्री बनाउने उद्देश्य सहित प्रदेशको टिकट दिएको चर्चा छ । यद्यपि एमाले एक्लैको बहुमत बनाउन सक्ने अवस्था छैन । गण्डकीमा दुई वा दुईभन्दा बढी दलसँग मिलेर सरकार बनाउनुपर्ने अवस्था प्रारम्भिक नतिजाले देखाउँछ ।

साना दललाई मिलाएर अधिकारी नेतृत्वमा सरकार बन्ने एमाले वृत्तमा चर्चा सुरु भइसकेको छ । ०५१ र ७४ सालमा प्रतिनिधिसभा संसदमा निर्वाचित भइसकेका अधिकारी २०५१ सालमा कांग्रेसका तत्कालीन महामन्त्री तारानाथ रानाभाटलाई पराजित गरेका थिए । ०५१ सालबाट संसद यात्रा सुरु गरेका अधिकारीलाई तत्कालीन संसदीय दलका नेता मनमोहन अधिकारीले सचेतकका नियुक्त गरेका थिए । 

उनी ०४८, ५६ र ०६४ को चुनावमा पराजित भएका थिए । पहिलो संविधानसभाको निर्वाचन ०६४ सालमा अधिकारी  पराजित भएपछि ०७० मा टिकट नै पाएनन् ।

०७४ मा कास्कीबाट चुनाव जिते लगत्तै उनी एमालेको प्रमुख सचेतक बने । वाम गठबन्धन हुँदा अधिकारी हटेर माओवादीका देव गुरुङ प्रमुख सचेतक भएका थिए । नेकपा हुँदा उनी केन्द्रीय कमिटी सदस्य एवं गण्डकी प्रदेश सहइन्चार्ज थिए । 

अधिकारीले एमाले संगठन विभाग प्रमुखको जिम्मेवारी पाएका छन् । एमालेका अध्यक्ष ओलीसँग पञ्चायतका बेलासँगै जेल बसेका अधिकारी २०२९ सालदेखि राजनीतिमा होमिएका हुन् । उनी त्यति बेला स्थानीय आनन्द ज्योति माविको स्ववियु सभापति थिए । ०२९ सालबाटै अधिकारी सक्रिय राजनीतिमा होमिए । 

विद्यार्थी राजनीतिबाट २०३७ सालमा केन्द्रीय स्ववियु सदस्य भएका उनी २०४०÷४१ मा पृथ्वीनारायण क्याम्पस पोखराको स्ववियु सभापति बने । अधिकारी अनेरास्ववियुको केन्द्रीय समिटीको उपाध्यक्ष, एमाले कास्कीको सचिव हुँदै जिल्ला कमिटीको अध्यक्ष भए ।

अधिकारी केन्द्रीय विभागमा अनुशासन निरीक्षण, वैकल्पिक पोलिटब्युरो सदस्य हुँदै गण्डकी संयोजक भइसकेका छन् ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय रानाभाट
सञ्जय रानाभाट
लेखकबाट थप