सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव : शबाना आजमीको मास्टर क्लास हुँदै

शनिबार, १० मङ्सिर २०७९, ०८ : ३०
शनिबार, १० मङ्सिर २०७९

दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) को दोस्रो दिन शनिबार दुई नाटकको चार मञ्चन र सुप्रसिद्ध भारतीय रङ्गकर्मी तथा अभिनेत्री शबाना आजमीको मास्टरक्लास हुँदैछ ।

शुक्रबारदेखि सुरु भएको महोत्सवमा शनिबार भारतको नाटक ‘देस्देमोना रुपकम’ मध्यान्ह १२ बजे र दिउँसो ४ बजे मञ्चन हुँदैछ । अंग्रेजी, कन्नड र तामिलभाषी यस नाटकका निर्देशक अभिषेक मजुमदार हुन् ।

त्यस्तै अर्को नाटक स्पेन र इटालीको संयुक्त प्रस्तुति ‘मिस्टर एण्ड मिसेस क्राफ्ट’ दिउँसो २ र ४ बजे मञ्चन हुँदैछ । नन भर्वल यस नाटकका निर्देशक पाब्लो दुरान रोजस डायना कोस्टा हुन् ।  

त्यस्तै महोत्सवको आकर्षणको रूपमा रहेको अभिनेत्री शबना आजमीको मास्टरक्लस साँझ ७ः३० बजे हुँदैछ । अभिनयका शिल्प र शैली, संघर्ष र सफलतालगायतका सन्दर्भमा हुने मास्टरक्लसलाई कवि विप्लव प्रतीकले सहजीकरण गर्दैछन् ।

सामाजिक रुपान्तरणको लागि रङ्गमञ्चः विविधिताको उत्सव भन्ने नाराका साथ मण्डला थिएटर थापागाउँ काठमाडौंमा भइरहेको महोत्सव आगामी मङ्सिर १७ सम्म चल्नेछ । महोत्सवको शुक्रबार
भारतका सुप्रसिद्ध रङ्गकर्मी तथा अभिनेत्री शबाना आजमीको विशेष आथित्यतामा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री जीवनराम श्रेष्ठले समुद्घाटन गरेका हुन् ।  

पहिलो दिन शुक्रबार नयनराज पाण्डेको कथामा आधारित दिया मास्के निर्देशित नेपाली नाटक ‘कथा कस्तुरी’ र अनिल सुब्बा निर्देशित नाटक ‘बुद्ध र भिकारी’ मञ्चन भएको छ । त्यस्तै पहिलो दिन बिहान ‘डिभाइजिङ अपेरेटिक ड्रामाटर्जी कार्यशाला’ साँझमा ‘ब्रिथ एण्ड बिट’ शीर्षकमा शलिल सुवेदी र नवरा गुरुङको साङ्गीतिक कार्यक्रम पनि भएको थियो ।

महोत्सवमा नेपालसहित भारत, भुटान, श्रीलङ्का, रुस, इटाली, स्पेन, बेलायत, बेलारुस, इजिप्ट, संयुक्त राज्य अमेरिका, उरुग्वे र अर्जेन्टिनाका नाटकहरू समावेश छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप