बुद्ध हुनलाई म
शनिबार, १० मङ्सिर २०७९, ०८ : ४१
सिद्धार्थको लास बोकेर
दरबारबाट बुद्ध बाहिरिए पनि
यशोधराको सिन्दूर आलै छ
राहुलको आँखामा बाबुको खोजी
छर्लङ्ग भेट्टाएँ मैले ।
यशोधरा पस्दी हुन्
त्यो सयन कक्षमा
आँखा चिम्म गरी
राजकुमारसित बिताएको प्रथम रात
बन्द आँखाले देख्दा
बुद्ध मलाई पटक्कै मन पर्दैन
तड्पन दिन्छ जसले
वियोग दिन्छ जसले
आज पनि राहुल
उसरी नै रुँदैछ
आमाको काखमा लडी लडी
उफ ! सुजाता
कस्तो नशा बस्यो सिद्धार्थलाई
प्रत्येक दिन पिउनै पर्छ
तिम्रो हातको त्यो मद्
बुद्ध हुनलाई
म ।
–शिक्षक, श्रीकृष्णाश्राम मावि कन्याम, इलाम