आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पोखराको फोहोर व्यवस्थापनमा चुनौती थपिँदै, मंसिर १८ देखि ल्याण्डफिल साइटमा फोहोर नफालिने

शुक्रबार, १६ मङ्सिर २०७९, १५ : ३०
शुक्रबार, १६ मङ्सिर २०७९

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको एउटा प्रमुख समस्या पोखरा– १४ स्थित बाच्छेबुडुवामा रहेको ल्यान्डफिल्ड साइट हो । रिठ्ठेपानी डाँडाकटान गरेर निस्किएको माटोले नै ल्यान्डफिल साइट पुरिने हुँदा अहिलेसम्म ल्यान्डफिल्ड साइट पुर्ने काम सुरु भएको छैन । 

यसअघि डाँडा १६ मिटर काटेर क्यालिब्रेसन फ्लाइट गरेपनि अझै २४ मिटर काट्न बाँकी छ । पुस १७ अगाडि नै ४० मिटर डाँडा काटिसक्नुपर्ने भए पनि यसको ठेक्का सम्झौता वैशाखसम्म छ । ​यसैबीच पोखरा महानगरपालिकाले मंसिर १८ देखि बाच्छेबुडुवास्थित ल्यान्डफिल्ड साइटमा फोहोर नफाल्ने पत्र विमानस्थल प्रशासनलाई पठाएको छ । महानगरपालिकाका प्रशासकीय प्रमुख वीरेन्द्रदेव भारतीले फोहोर नफाल्ने भनेर विमानस्थल प्रमुखलाई पत्र पठाइएको जानकारी दिए । 

यद्यपि महानगरले अहिलेसम्म फोहोर फाल्न नयाँ ठाउँको टुंगो लगाउन सकेको छैन । जसका कारण महानगरपालिकाको फोहोर व्यवस्थापनमा चुनौती सिर्जना हुन सक्ने देखिन्छ । महानगरले विकल्पको रुपमा १÷२ ठाउँ रोजे पनि टुंगोमा नपुगेको भारतको भनाइ छ । ‘कुहिने फोहोरलाई पोखरा ३२ मा रहेको गण्डकी ऊर्जासँग सम्झौता गर्ने तयारीमा छौं । कुहिने फोहोरलाई हामीहरु सजिलै व्यवस्थापन गर्छौं । बाँकी रहेको फोहोरलाई व्यवस्थापन गर्न पनि हामी छिट्टै टुंगोमा पुग्छौं,’ भारतीले भने  । 

विमानस्थलबाट नियमित उडान भर्न अब साढे १ महिना बाँकी रहँदा विकल्पको टुंगो नलाग्दा ल्यान्डफिल्ड साइटबारे अन्योलता बढेको छ । उसो त ल्याण्डफिल माटोले पुर्ने काम सुरु नहुँदा आसपासमा चराचुरुगीहरुको आवतजावत उस्तै छ । अन्तर्राष्ट्रिय विमानस्थलको रनवेमा चराहरूको बाक्लो आवतजावत देखिन्छ । 

प्रमुख समस्या भनेको २ किलोमिटरमा रहेको ल्यान्डफिल साइट कहाँ स्थानान्तरण हुने भन्ने हो ।  यो नहट्दा हवाई उडानमा पक्षी ठोक्किने खतरा छँदै छ चराचुरुंगीले बासोबास गरेको स्थान सार्न पनि समय लाग्ने विज्ञहरू बताउँछन् । अधिकारीहरुका अनुसार क्यालिब्रेसन फ्लाइट भइरहँदा पनि चराचुरुगीहरुको आवाजावत बढी देखिएको थियो ।  

‘हामीले ल्यान्डफिल साइटभन्दा पनि फोहोरमैलाको कसरी व्यवस्थापन गर्न सक्छौँ भन्नेतिर ध्यान दिएका छौं । जसले रिसाइकल, ग्याँस निर्माण र रियुज गर्न सकोस् । यसले थोरै मात्र फोहोर निस्कन्छ । नकुहिने फोहोर व्यवस्थापन गर्न सक्ने कम्पनीको खोजीमा छौँ,’ प्रशासकीय प्रमुख भारतीले भने । 

यसअघि मयेर धनराज आचार्यसहितको टोली भारतसम्म पुगेर त्यहाँको फोहोर व्यवस्थापनबारे जानकारी हासिल गरेको थियो । मेयर आचार्यसहितको टोलीले भारतबाट फर्किएपछि आधुनिक फोहोर व्यवस्थापन गर्न सक्ने ग्यास र मलसमेत उत्पादन हुने गरी प्लान्ट ल्याउने तयारी थालेका प्रशासकीय प्रमुख भारतीको दाबी छ । 

तर, तत्काल कुनै ठाउँमा फोहोर फाल्ने र त्यहाँ के के संरचना तयार गर्ने भन्नेतिर महानगर अनिर्णीत छ । त्यसमा आवश्यक तयारीमा पनि जुटेको देखिन्नँ । त्यसअघि मेयर मानबहादुर जिसी नेतृत्वको ५२ औं कार्यपालिका बैठकले पोखरा २० मा रहेको पस्मराङमा ल्यान्डफिल साइट सार्ने निर्णय गरेको थियो । सो निर्णय स्थानीयको विरोधका कारण कार्यान्वयन हुन सकेन । 

यसपछि मेयर आचार्य नयाँ नेतृत्वमा आएपछि कार्यपालिका बैठकबाटै पोखरा–३३ मा ल्यान्डफिल साइट स्थानान्तरण गर्ने निर्णय गरे पनि त्यहाँसमेत स्थानीयहरुले विरोध जारी छ । 

अहिले पोखरा–२२ स्थित, स्याङजाको सीमानामा ल्यान्डफिल्ड साइट बनाउनेबारे पनि महानगरपालिकाले आन्तरिक छलफल थालेको छ । सबै विकल्पमा छलफल भएपनि अहिलेसम्म टुंगो नलागेको अवस्थाका कारण महानगरको फोहोर व्यवस्थापनमा चुनौती हुने देखिएको अधिकारीहरुको भनाइ छ । 

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन फ्लाइट सम्पन्न भएसँगै नागरिक उड्डयन प्राधिकरणले पुस १७ अर्थात् अंग्रेजी नयाँ वर्षबाट विमानस्थल पूर्ण सञ्चालनमा ल्याउने घोषणा गरिसकेको छ ।  

चीन सरकारको २२ अर्ब सहुलियत ऋणमा बनेको हो । जुन विमानस्थल चिनियाँ सरकारले नेपाललाई हस्तान्तरण गरिसकेको छ । 

विमानस्थल सञ्चालनमा आएपछि १ सय ५० देखि १ सय ८० जना यात्रु बोक्ने एयरबस ३२० र बोइङ ७५७ ले यहाँ उडान भर्न सक्छन् ।  विमानस्थल फोर डी श्रेणीको भएकाले रनवेको लम्बाइ २ हजार ५ सय मिटर छ । अन्तर्राष्ट्रिय जहाजले पूर्वपट्टिबाट मात्रै उडान र अवतरण गर्नेछ । यो विमानस्थलबाट दैनिक ६ वटा अन्तर्राष्ट्रिय र ४८ आन्तरिक उडान हुन सक्ने प्राधिकरणले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय रानाभाट
सञ्जय रानाभाट
लेखकबाट थप