लघुकथा : सहरमा पढ्न बसेकी छोरी
उसले मोबाइलको किबोर्डहरु थिच्दै वुवालाई फोन लगाई– बुवा सञ्चै हुनुहुन्छ ? बुवाले जवाफ फर्काए– सञ्चै छु छोरी, तिम्रो पढाई कस्तो छ ?
राम्रै छ, बुवा । अलिकति पैसा चाहिएको थियो । –उसले भयसहितको आवाजले केही रकम माग गरी । बुवाको ब्लडप्रेसर हाई भयो–के कामका लागि चाहियो फेरि, अस्ति भर्खर पठाको होइन ?
किताब किन्नु थियो । –उसले दबेको आवाजमा जवाफ फर्काई । सहरमा पढ्न बसेकी छे । काम पर्यो होला । गलत कामको लागि त पक्कै होइन । –आमाले मातृप्रेम जाहेर गरिन् ।
बुवाले केही नबोली फोन काटे । चुप लागेर कुखुराको खोरतर्फ लागे । भर्खर बासेको कुखुराको भाले निकाले र श्रीमतीलाई अह्राए – जा, माथि फ्रेस हाउस गएर पैसा लिएर आइज ।
भाले बेचेर आएको रकम सदमुकाम हिँडेको जीप चालकलाई दिदै बुवाको अनुरोध गरे– मेरी छोरीलाई दिनु है ।
सदमुकाम पुग्ने बित्तिकै चालकले उसको हातमा पैसा हातमा थमाइ दिए । छोरीको निन्याउरो अनुहार एकाएक प्रफुल्ल भयो । ऊ चालकलाई धन्यवाद दिई र विदा भई ।
ऊ दगुर्दै मेडिकल पसल पुगी । र, बढेको स्वास प्रस्वास रोक्दै भनी –दाई, ईकोन दिनुस् त ।
बागलुङ नगरपालिका– १०, भकुण्डे अर्भक, बागलुङ