कविता : विजेता नेता
चुनाव भयो
जनताले
मत दिए
आफ्नो अभिमत दिए
मत सहमतिको अभिव्यक्ति हो
सपनाको स्वीकारोक्ति हो ।
नेताका
कति सपना बिके
कति बिकेनन्
सुपो भरिका सपना बिक्नेहरू
सफल बिक्रेता भए
बिजेता भए
रंगिए
फुलमाला लगाए
अबीर लगाए
शीर ठडाए
जितको सर्टिफिकेट समाए
चमक्क चम्किए
दङ्दास देखिए ।
अब
आएको छ
पाएको भोटलाई
प्रमाणित गर्ने समय
जनहित गर्ने समय
राम्रो मान्छे रोजिएछ
भन्ने पार्ने समय ।
अब विजेता
ती नेता
कसैगरी नभूलुन्
सपनाका पाना पल्टाऊन्
समस्या सल्टाऊन्
हो नि
अब सधैँ उही बहाना चल्दैन
पुरानो त्यो अल्छी गाना चल्दैन
बरू
सबै बाचालाई सच्चा पारून्
प्रतिबद्धता पूरा गरुन्
बाटो, बिजुली, पानीले तानेका भोटहरू
मर्माहत नपारुन्
हिजो जस्तो आहात नपारुन्
बरु राहत बनुन्
पुनः अर्को चाहत बनुन् ।
अब
पहिले झैँ
आफ्नो स्वार्थको खातिर
व्यर्थको झगडा नगरुन्
पदको लागि हानथाप नगरुन्
नातेदार मात्र जागिरको आधार नदेखुन्
यस्तो गरुन् कि
पाँच वर्ष समय लामो नलागोस्
सपनाले अर्को नेता नमागोस् ।
अर्को नेता नमागोस् ।।