सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

मानन्धर र नेपाललाई बालवाङ्‍मय सम्मान

आइतबार, २५ मङ्सिर २०७९, २२ : १२
आइतबार, २५ मङ्सिर २०७९

बालवाङ्मय तथा अनुसन्धान केन्द्रले वरिष्ठ बाल साहित्यकार शान्तदास मानन्धरलाई साहित्य सृष्टि बालवाङ्मय साधना सम्मान र सुश्री अनुज्ञा नेपाललाई राकुपा बालवाङ्मय बालप्रतिभा पुरस्कार प्रदान गरेको छ । थाहा पुस्तकालय मीनभवनमा आयोजित कार्यक्रमका प्रमुख अतिथि केके कर्माचार्यले पुरस्कृतद्वयलाई पुरस्कार र सम्मानपत्र प्रदान गरेका थिए । 

साहित्य सृष्टि बालवाङ्मय साधना सम्मान रु. २५ हजार र राकुपा बालवाङ्मय बालप्रतिभा पुरस्कार १० हजार रहेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपतिसमेत रहेका केके कर्माचार्यले बालवाङ्मय तथा अनुसन्धान केन्द्रले उपयुक्त व्यक्तिलाई पुरस्कृत गरेको बताए । उनले भने, ‘बाल साहित्यका क्षेत्रमा स्थापित व्यक्तिको चयनले पुरस्कार आफैं सम्मानित भएको छ । यसले पुराना र नयाँ दुवै पुस्तालाई पुरस्कृत गरेर उदाहरणीय काम भएको छ ।’ 

सम्मानित स्रष्टा शान्तदास मानन्धरले नयाँ पुस्तामा अत्यधिक विदेश मोह देखिनुमा अभिभावकहरूकै कमजोरी रहेको भन्दै यो अत्यन्त डरलाग्दो प्रवृत्ति भएको बताए ।  वरिष्ठ साहित्यकार रामकुमार पाँडेले नयाँ पुस्तामा संस्कार, संस्कृति, भाषा र साहित्य प्रेम बढाउने कार्यलाई प्रोत्साहन गर्न पुरस्कारको स्थापना गरेको बताए । 

अध्यक्षको आसनबाट केन्द्रका अध्यक्ष प्रमोद प्रधानले अग्रज पुस्तालाई सम्मान, समकालीन पुस्तासँग सहयात्रा र आउने पुस्तालाई प्रोत्साहन नै संस्थाको उद्देश्य भए बताए । उक्त कार्यक्रममा साहित्यिक पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकालीले सम्मानित र पुरस्कृत स्रष्टालाई बधाई दिँदै केन्द्रले महत्त्वपूर्ण कार्य गरेकोमा प्रशंसासमेत गरे ।

सो अवसरमा केन्द्रका उपाध्यक्ष विजयराज आचार्यले स्वागत भाषण, कोषाध्यक्ष शान्ति सापकोटाले सम्मानित र पुरस्कृत व्यक्तिहरूको योगदानको चर्चा र सदस्य नेत्र तामाङले धन्यवाद ज्ञापन गरेका थिए । साहित्य सृष्टि बालवाङ्मय साधना सम्मानका लागि साहित्यकार प्रमोद प्रधान, उहाँकी श्रीमती ब्युटी श्रेष्ठ र छोरी सृष्टि प्रधानले रु. ५ लाखको अक्षय कोष स्थापना गरेका छन् । यस्तै राकुपा बालवाङ्मय बालप्रतिभा पुरस्कारका लागि वरिष्ठ साहित्यकार रामकुमार पाँडेले रु. २ लाख ११ हजार १११ को अक्षयकोष राखिएका छन् । यी दुवै पुरस्कार पहिलो पटक वितरण गरिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप