सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

गणेश ‘मार्मिक’ को महाकाव्य ‘श्रीधरा’ विमोचित

बुधबार, २८ मङ्सिर २०७९, १० : ५४
बुधबार, २८ मङ्सिर २०७९

साहित्यसुधा नेपालको आयोजनामा नेपाल प्रज्ञा प्रतिष्ठानमा साहित्यकार गणेश घिमिरे ‘मार्मिक’को महाकाव्य ‘श्रीधरा’ सार्वजनिक गरिएको छ । 

प्रमुख अतिथि प्रा.डा.माधवप्रसाद पोखरेलका साथ वरिष्ठ समालोचक डा.रामप्रसाद ज्ञवाली, विशिष्ट अतिथि साहित्यकार गोविन्दप्रसाद कुसुम लगायत विशिष्ट व्यक्तित्वहरूबाट साहित्यसुधा नेपालका उपाध्यक्ष तथा प्रगतिशील लेखक सङ्घ, भक्तपुरका अध्यक्षसमेत रहेका मार्मिकको महाकाव्य सार्वजनिक गरिएको हो । 

​साहित्यसुधा नेपालकी अध्यक्ष कल्पना काफ्लेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको संचालन सोही संस्थाका सह-सचिव कृष्णदेव रिमालले गरेका थिए भने सदस्य राजेन्द्र घिमिरेले स्वागत मन्तव्य प्रस्तुत गरेका थिए ।  साहित्यकार डा. रमेश शुभेच्छुले श्रीधराका स्रष्टाको परिचय दिएका थिए भने पुस्तक समीक्षाको भूमिका वरिष्ठ साहित्यकार तथा समालोचक डा. रामप्रसाद ज्ञवालीले निर्वाह गरेका थिए । 

 शुभकामना मन्तव्य दिनेहरुमा नेपाल सरकारका पूर्व सचिव तथा लोकसेवा आयोगका पूर्व माननीय सदस्य साहित्यकार गोविन्द कुसुम तथा साहित्यसुधा नेपालका सल्लाहकार कवि कलानीधि दाहालसमेत थिए ।  ​कार्यक्रममा कवि सुशीला शर्मा धमला, पूजन मिश्र, सविता बराल तथा इन्दिरा दाहालले श्रीधरा महाकाव्यबाट केही काव्यांश पाठ गरेका थिए । 

स्रष्टा परिचय, समीक्षा तथा शुभकामनाका क्रममा बोल्नेहरुबाट महाकाव्यकार मार्मिकको शालीन व्यक्तित्व, मिहिनेत, काव्यक्षमता, काव्यशिल्प, शब्द संयोजन कला र विषय गाम्भीर्यको चर्चा गर्दै महाकाव्यको उत्कृष्टताको मुक्त कण्ठले प्रशंसा गरेका थिए । कुल ३५ वटा छन्दमा लेखिएको श्रीधरा महाकाव्यमा सिङ्गो नेपाल राष्ट्रको चित्र उतारिएको चर्चा गरिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप