सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

प्रसिद्ध पर्यटकीय बस्ती घोडेपानीमा पुग्यो बस

बुधबार, २८ मङ्सिर २०७९, २२ : २४
बुधबार, २८ मङ्सिर २०७९

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने प्रसिद्ध पर्यटकीय बस्ती घोडेपानीमा बस पुगेको छ । अन्नपूर्ण चक्रीय पदमार्गमा पर्ने घोडेपानी जोड्ने सडक स्तरोन्नति भएपछि बस सञ्चालन हुन थालेको हो । यसअघि जिप र मोटरसाइकल मात्र सञ्चालन हुने गरेको थियो । 

केही दिनअघि पोखरा यातायात प्रालिको यात्रुवाहक मिनीबस आन्तरिक पर्यटक लिएर घोडेपानी आएको घोडेपानी टोल सुधार समितिका अध्यक्ष वीरेन गर्बुजा पुनले जानकारी दिए । “सडक सञ्जालमा जोडिएको तीन वर्षपछि घोडेपानीमा पहिलोपटक यात्रु बोकेर बस आएको छ”, उनले भने– “घोडेपानी घुम्नका लागि अब बस चढेर आउन सकिने भएको छ ।”

गाउँपालिकाको केन्द्र पोखरेबगरबाट चित्रे जोड्ने १८ किलोमिटर पाँच सय मिटर सडक कालोपत्र गर्न विसं २०७५ देखि सुरु भएको आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ । सङ्घीय सरकारमार्फत सञ्चालित आयोजनाले सडक विस्तार र स्तरोन्नति गरेपछि बस चल्न सक्ने भएको हो । 

चित्रेदेखि घोडेपानी जोड्ने सडकलाई निर्माणका क्रममै बस चलाउने मिल्ने गराइएको घोडेपानीका बासिन्दासमेत रहेका अन्नपूर्ण गाउँपालिकाका पूर्वअध्यक्ष डमबहादुर पुनले बताए । घोडेपानी अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को प्रमुख पर्यटकीय गन्तव्य हो । समुद्री सतहदेखि दुई हजार आठ सय मिटरको उचाइमा अवस्थित घोडेपानी पुनहिल र घान्द्रुक जाने आउने पदमार्गको केन्द्र हो । 

घोडेपानीदेखि ४० मिनेट उकालो हिँडेपछि पुगिने पुनहिल सूर्योदय, हिमशृङ्खला, गुरासे जङ्गलको दृश्यावलोकनका लागि प्रसिद्ध छ । घोडेपानीबाट पोखरा–बागलुङ भूपि शेरचन राजमार्गमा पर्ने नयाँ पुललाई सडकले जोड्ने तयारी गरिएको छ । 

कास्की तर्फबाट म्याग्दीको सिमानामा पर्ने वनठाटी नजिकैको बस्ती उल्लेरीसम्म सडक निर्माण भइसकेको छ । उल्लेरी–घोडेपानी सडक निर्माणका लागि उपभोक्ता समिति गठन भइसकेको वडाध्यक्ष रामबहादुर खड्काले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप