आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कर्णालीमा दलको नेता बन्न जीवन र राजीव तीव्र लबिङमा

बिहीबार, २९ मङ्सिर २०७९, ०८ : ३१
बिहीबार, २९ मङ्सिर २०७९

कर्णाली प्रदेशमा १४ सिटसहित पहिलो दल बनेको नेपाली कांग्रेसभित्र संसदीय दलको नेताका लागि संस्थापन पक्षकै दुई नेताबीच रस्साकस्सी सुरु भएको छ । कांग्रेस केन्द्रीय सदस्य राजीवविक्रम शाह र बहालवाला मुख्यमन्त्री जीवन बहादुर शाही संसदीय दलको नेताका मुख्य दाबेदार देखिएका हुन् ।

मुख्यमन्त्री शाहीले केन्द्रका नेताहरुबीच एक खालको सहमति भएर नै मुख्यमन्त्री बन्ने उद्देश्यसहित प्रदेशमा पुनः उम्मेदवार बताएका छन् । उनले कर्णाली प्रदेशको मुख्यमन्त्रीमा आफ्नो निरन्तरता हुने बताइरहँदा संस्थापन पक्षकै नेता शाह चुनौती दिने तयारीमा छन् ।

रातोपाटीसँग कुरा गर्दै शाहले भने, ‘मैले ठूलो नेतालाई च्यालेञ्ज गर्नका लागि संसदीय दलमा लड्न खोजेको होइन, नयाँ नेतृत्व र परिवर्तनको आवाज जसरी उठिरहेको छ, त्यसका लागि म मैदानमा उत्रिएको हो ।’ 

शाहले अहिलेको आवाश्यकता अनुसार नेतृत्व परिवर्तन हुन आवाश्यक रहेको टिप्पणी गरे । ‘मैले अग्रज नेताहरूलाई सम्मानका गरेर नै मैदानमा उत्रिएको हो, म पनि एउटा भिजन बोकेर आफ्नो पुर्ख्यौली प्रदेशलाई सहयोग गर्छु भनेर आएको हो,’ उनी भन्छन् ।

नेपाली राजनीतिमा पदमा नपुगेसम्म प्रभाव बलियो बनाउन नसकिने उनको भनाइ छ । ‘भिजन हुँदा हुँदैपनि पछि पर्नु पर्छ । समयको माग अनुसार संसदीय दलमा मेरो उम्मेदवारी रहने र कर्णालीको नेतृत्व लिने सोचका साथ तयारी गरिरहेको छु ।’ 

२०७० मा प्रतिनिधिसभा सदस्य बनेका शाह समाजसेवी नेताको छवि बनाएका व्यक्ति हुन् । कांग्रेस लोकतान्त्रिक पार्टी भएको र परिवर्तनका लागि प्रतिस्पर्धा गर्न पाउनुपर्ने उनको भनाई छ । 

विगतमा आफूले त्याग गरेको भन्दै संसदीय दलको नेताबाट ब्याक नहुने उनको अडान छ । ‘१३ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा लड्न खोजेको थिए । नेताहरुले पुरानो मान्छेहरुलाई छोड्दिनुपर्छ भनेर रुकुमको नेता गोपालजङ जी शाहलाई छाडेँ । १४ औं महाधिवेशनमा पनि प्रदेश सभापति लड्छु भनेको हो,’  उनी भन्छन्,  ‘म निर्विरोध हुन्थे । त्यसमा पनि मलाई ब्याक हुनुप¥यो । सँधै ब्याक हुने भएकाले मान्छेहरुले संसदीय दलमा पनि मलाई ब्याक हुन्छ भनेर ठान्या होला, म हुँदैन ।’ 

शाहले यस पटक अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्न चाहेका थिए । तर जाजरकोट माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेतलाई छोड्नुपर्ने भएपछि उनी प्रदेश झरेका हुन् । गठबन्धनका शीर्षस्त नेताहरुको भावी मुख्यमन्त्री बनाउने वचनले प्रदेश झरेको शाहले बताए । उनले भने ,‘उहाँ (जीवन) केन्द्रमा गएपनि स्वत क्याविनेटमा जाने ठाउँ थियो नि..! उहाँजस्तै मलाई पनि त केही वचन दिएर नै प्रदेश झरेको हौला, म कुनै हालतमा व्याक हुने छैन । उहाँको विरोध गरेको पनि होइन ।’ 

तर पार्टीको कार्यसम्पादन समिति सदस्य समेत रहेका शाही कर्णाली प्रदेश संसदीय दलको नेतामा आफ्नो विकल्प देख्दैनन् । ०७४ मा एक सिट प्रत्यक्ष जितेर भएपनि कर्णाली सरकारको नेतृत्व गरेर कांग्रेसको शिर उच्च बनाएको शाहीको दावी छ ।​

यो पनि...

 

 

शाहले भने आफू निर्वाचित केन्द्रीय सदस्य भएको भन्दै शाही मनोनित भएर कार्यसम्पादन समितिमा गएको बताए । १४ औं महाधिवेशनमा पिछडिएको कोटाबाट सह–महामन्त्रीको उम्मेदवार बनेको शाही बद्री पाण्डेसँग पराजित भएका थिए । सभापति शेरबहादुर देउवाले पछि शाहीलाई केन्द्रीय सदस्यमा मनोनित गरेका थिए ।

शाहीलाई प्रतिनिधि सभामा जान कुनै अवरोध भए पनि उनी रहरले प्रदेशसभा लडेको शाहले बताए । शाहले संसदीय दलमा शाहीले पनि आफूलाई सहयोग गर्ने विश्वास व्यक्त गरे ।

उनले हिजो सांसद हुँदा केन्द्रमा पनि मन्त्री बन्न नपाएको र नेताहरूको आग्रह अनुसार ‘ब्याक’ हुँदै आएकोले प्रदेशमा स्वाभाविक रुपमा संसदीय दल नेतामा दाबी रहने बताए ।

उनले आफू राजनीतिमा इमानदार र विकास प्रेमी व्यक्ति भएको र सुशासनमा पनि पत्याउने व्यक्ति हो भएको बताए । ‘म बाट कर्णाली प्रदेशले राम्रै नेतृत्व पाउँछ,’उनले भने,‘धेरै साथिहरुको मप्रति अपेक्षा र भरोसा पनि छ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप