सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सडक सुरक्षा : खै उद्धार समिति ?

शुक्रबार, ०१ पुस २०७९, १२ : ४३
शुक्रबार, ०१ पुस २०७९

हालैको काभ्रेपलाञ्चोकको बेथानचोकमा बस दुर्घनामा परी १८ जनाले अकालमै ज्यान गुमाए । दजनौं यात्रुहरु घाइते भए । यस्तै केही दिन अघि मात्र जाजरकोटमा भएको सडक दुर्घटनामा परी ११ जनाले ज्यान गुमाए । दिनहुँ जसो ४–५ जनाको मृत्यु सडक दुर्घटनाबाटै भइरहेको हुन्छ । तर, यस्तो सडक सुरक्षाका विषयमा संवेदनशीलता कमै छ ।

सडक दुर्घटना, अङ्गभंग, मृत्युमा ठूला नेताहरुको दुःखेसोका विज्ञप्ति आउँछ । तर, विज्ञप्ती समस्याको समाधान हो त ? हाम्रोमा सडक सुरक्षाका सवालमा दुर्घटना भएको २–३ दिनमै संवेदनशीलतासँगै सचेतना पनि हराएर जान्छ ।

ट्राफिक प्रहरीको तथ्याङ्कअनुसार नेपालमा सरदर दैनिक ७÷८ जनाको सडक दुर्घटनामा मृत्यु हुने गर्छ भने वार्षिक औसत ३ हजार जनाको मृत्यु हुन्छ । यो निकै डरलाग्दो स्थिति हो । र, पनि हामी सडक सुरक्षा जस्तो संवेदनशील विषयमा गम्भीर हुँदैनौं ।

सडक दुर्घटनामा सबै दोष चालकमाथि नै खन्याएर पन्छिन्छौं । गुणस्तरहीन ग्रामीण सडक र यस्ता सडकमा गुड्ने अनकन्डिसनल सवारी साधन र सडक सुरक्षाको संवेदनशीलता प्रतिको लापरवाही दुर्घटनाका खास कारण हुन् । सडक दुर्घटनालाई प्रश्रय दिनेमा यात्रुहरु पनि पर्छन् । कोचाकोच चढेर उनीहरु आफ्नो गन्तव्यमा पुग्न बाध्य भएकाले पनि यस्तो अवस्था आएको हो । तथापि, राम्रो सडक भएको काठमाडौंमा पनि यस्ता दुर्घटनामा भने कमी आएको छैन ।

उपत्यकामा तीनकुने–सूर्यविनायक सडक खण्डलाई उत्कृष्ट मानिन्छ । तर यही सडकमा सवारी दुर्घटनामा परी ज्यान गुमाउनेको सूची लामै छ । त्यसैले गुणस्तरहीन सडक नै दुर्घटनाको प्रमुख कारण हो भनेर ठोकुवा गर्नु पनि त्यति उपयुक्त हुँदैन ।

चालकको दक्षता

स्टेरिङ चालकको हातमा हुने भएकाले दुर्घटनाको मुख्य दोषी चालक ठानिन्छ । तर, चालकलाई दुर्घटनाको मुखसम्म धकेल्ने अन्य संयन्त्र को–को हुन् ? कसले र कसरी चालकलाई दुर्घटनाको मुखसम्म पु¥याउँछ भन्ने विषयको चुरोमा पुग्न जरुरी छ ।

नेपालमा सामान्यतय साना ४ गल्तीले ठूला दुर्घटना भइरहेका छन् । त्यो हो, सडकको गुणस्तर, सवारी साधनको कन्डिसन, चालकको सीप र सुरक्षा संयन्त्रले ख्याल राख्न नसक्नु । सडक संरचना राम्रो हुँदा चालक तीव्र गतिमा गाडी चलाउन प्रेरित हुन्छ । तीव्र गति, जीवन क्षति भने झंै अत्याधिक गतिले ९० प्रतिशत दुर्घटना बढाउन सघाएको छ ।

बसमा सवार सम्पूर्ण यात्रुका ज्यान ड्राइभरको हत्केलामा हुन्छ । त्यसैले जुनसुकै सडकमा पनि दक्ष चालक आवश्यक छ । जति नै दक्ष भएपनि सडकका अनुभव भएको ड्राइभर आवश्यक छ । हाइवेमा बस चलाउने चालकले खल्डाखुल्डी भएको पहाडी सडकमा बस चलाउँदा दुर्घटना हुने सम्भावना बढ्छ ।

पहाडी सडक कच्ची हुने र छोटो दुरी भएकाले मानिसहरु छतमा, बसभित्र पनि उभिएर यात्रा गर्छन् । क्षमताभन्दा बढी यात्रुका कारण पनि दुर्घटना हुने सम्भावना अत्याधिक हुन्छ ।

सवारी साधनको कन्डिसन

कन्डिसनमा नभएको सवारी चलाउनु विरामी मानिसलाई काममा लगाउनु जस्तै हो । थला परेको मानिसले काम गरेमा उ जति बेला पनि ढल्न सक्छ । त्यसैले कन्डिसनमा भएको सवारी मात्रै चलाउनुपर्छ । सवारीको कन्डिसन ठिक छ कि छैन, यसको चेकजाँच भइरहनुपर्छ ।

महत्वपूर्ण कुरा, सुरक्षा संयन्त्रको सतर्कता र कडाई नै हो । सवारी साधनको कन्डिसन ठिक छ कि छैन भनेर ट्राफिक प्रहरीले चेकजाँच गर्नुपर्ने हो । तर यसको कार्यान्वन एकदमै फितलो छ । सवारीको क्षमता कति हो, त्यसको लेखाजोखा पनि राख्दैन सुरक्षा संयन्त्र । मानिस जति कोचेपनि छतमा मात्र नदेखिए हुन्छ, सुरक्षा संयन्त्रलाई । क्षमताभन्दा बढी मानिस भए पनि छतमा चाहि नराख्नु तर भित्र जति पनि राख्न पाइने जस्तो व्यवहार सुरक्षा संयन्त्रको छ । बसमा कति सवार छन्, त्यसको तथ्याङ्क राख्ने जाँगर पनि छैन, कार्वाहीको कुरा धेरै टाढाको विषय भयो ।

साइडबार नभएका सडकले त्यस्तै दुर्घटना बढाइरहेको छ । हाइवेमा एकैजना चालकले पुरै बाटो बस हाँक्दा पनि दुर्घटनाले प्रश्रय पाइरहेको छ । त्यसैले, यी सामान्य गल्ती सुधार्न सरकारले तत्काल सडक सुरक्षा हेर्ने एउटा बेग्लै कमिसन÷बोर्ड÷परिषद स्थापना गर्नुपर्छ ।

भौतिक पूर्वाधार, निर्माण तथा यातायात मन्त्रालयको आफ्नै दैनिक कार्य र सयौं प्रोजेक्टमा ध्यान दिनुपर्ने भएकाले सडकमा ध्यान दिन नसकिरहेको अवस्था छ । यस्तोमा सडक सुरक्षामा दक्ष जनशक्ति अनिवार्य व्यवस्थापन हुनुपर्दछ ।

साथै, खराब सडककै कारण पनि नेपालमा दुर्घटना बढिरहेको छ । त्यसैले, सडक मापदण्डअनुसार बन्नुपर्छ । डोजर ड्राइभरको इन्जिनियरिङमा बन्ने सडकले पहाडी सडकको अवस्था नाजुक बनेकोमा दुइमत छैन ।सडक मापदण्डअनुसारको छ छैन भन्ने विषयमा अडिट हुनु जरुरी छ ।

उद्दार समितिको खाँचो

सरकार सडक दुर्घटनामा धेरै जनाको मृत्यु भएका घटना भएलगत्तै छानबिन समिति बनाउँछ । तर उद्दार समिति बनाउँदैन । सरकारको पहिलो प्राथमिकता त घाइतेहरुको उद्दार र उपचार नै हो । त्यसपछि मात्रै कारण र कारक पत्ता लगाउने हो ।

सडक सुरक्षा मजबुत पार्ने हो भने अब सडक सुरक्षा परिषद गठन गर्नुपर्छ । यसै संयन्त्रले काम गर्छ । स्वीडेनले ‘जिरो दुर्घटना’ अभियान चलाउने भन्दै ठोस निकायलाई सडक सुरक्षाको जिम्मेवारी दिएको छ । जसले स्वीडेनमा ५० प्रतिशतले सडक दुर्घटनामा कमी आएको मात्र होइन, मृत्युदरसमेत सोही दरमा घटेको छ ।

नेपालले पनि अब यस्तै भिजन बनाएर सडक सुरक्षा परिषद माध्यमबाट सडक सुरक्षाका जोड दिने हो भने दुर्घटनामा निकै सुधार हुने थियो । चालकलाई मात्रै होइन, सडक प्रयोगकर्ताहरुलाई पनि तालिम र परामर्शका कार्यक्रम गर्न सके दुर्घटना धेरै कम हुनेमा दुइमत छैन ।

लेखक यातायात विज्ञ हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

आशिष गजुरेल
आशिष गजुरेल
लेखकबाट थप