मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

चुनाव तताउने ओलीका दश बोलीः कहिले के बोले ?

बिहीबार, १५ असार २०७४, १६ : २७
बिहीबार, १५ असार २०७४

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी ओली आफ्ना प्रतिद्वन्द्वीमाथि कटाक्ष गर्न चर्चित मानिन्छन् । उखान टुक्कासहित प्रतिपक्षलाई आरोप लगाउन खप्पिस मानिने ओलीले पहिलो चरणको स्थानीय निर्वाचनमा एमालेले बढि स्थानीय तह जितेपछि ओलीको बोली अन्य राजनीतिक दलमाथिको प्रहार थप कडा बन्दै गयो । 

तर योबीचमा उनले बोलेका बोली राजनीतिक भन्दापनि व्यक्तिगत तुष राख्ने खालका सुनिए । त्यसो त पार्टीको नीति, विधि विधान र कार्यपद्धति भन्दा पनि अन्य राजनीतिक दलहरुमाथि खनिनु ओलीको विशेषता नै हो । पहिलो चरणको निर्वाचनमा भरतपुरमा मतपत्र च्यातिएपछि स्थगित भएको मतगणनाका विषयमा ओलीले यो बीचमा सवैभन्दा बढी आफ्नो बोली खर्चिए । दोस्रो चरणको निर्वाचन नजिक भएकाले उनको अभिब्यक्ति चुनाव तताउन लायक पनि थियो ।  

जेठ १५ गते 

भरतपुरमा भएको घटना लोकतन्त्रमाथिको अराजकता र प्रक्रियामाथिको षड्यन्त्र भएको दाबी गर्दै मतगणना रोकिएको स्थानबाट शुरु पुन हुनुपर्ने ओलीले बताए । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले भरतपुर महानगरपालिका वडा नम्बर १९ मा पुन मतदान हुनुपर्ने माग गरिरहेकाबेला ओलीले कुनै पनि हालतमा पुनःनिर्वाचन हुन नसक्ने बताए । 

‘चितवनमा जे भयो त्यो लोकतन्त्रमाथिको अराजकता हो । विधि र प्रक्रियामाथिको षड्यन्त्र हो’ राजधानीमा पत्रकारहरुसँग कुराकानी गर्दै ओलीले भने, ‘पुनः निर्वाचन कुनै पनि हालतमा एमालेले स्वीकार्दैन । यदि जबर्जस्ती गर्न खोजे त्यसको असर अन्यत्र पनि पर्छ ।’
 

जेठ १६

नेकपा एमालेको तर्फबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुलाई बधाइ तथा शुभकामना दिन आयोजना गरेको कार्यक्रममा ओलीले तत्कालीन प्रधानमन्त्री प्रचण्डलाई इंगित गदै भने ‘तक्मा पाउन कति विवाह गर्नुपर्छ प्रधानमन्त्री ज्यू ।’ तर प्रचण्डपुत्र प्रकाश दाहालले आफुले पाएको पदक नलिने घोषणा पहिला नै गरीसकेका थिए । प्रधानमन्त्री भइसकेका व्यक्तिले यसरी सानासाना कुरामा टिप्पणी गर्न नहुने एमाले नेताहरु नै बताउँछन् । 
 

जेठ १८ 

दोस्रो चरणको निर्वाचन हुने नहुनेबीच सरकारले असार १४ गतेलाई दोस्रो चरणको निर्वाचनको मिति घोषणा गरेको थियो । १८ गते निर्वाचित एमालेका प्रतिनिधिलाई प्रशिक्षण दिदै ओलीले प्रशिक्षण कम र बरु अन्य राजनीतिक दलहरुलाई बढी सरापे । उनले जेठ ३१ गते हुने भनिएको निर्वाचन असार १४ मा सरेको सन्दर्भलाई ‘सुख्खामा नै पछारौंला भन्ने सोचेको थिएँ अब हिलोमा नै पछार्छु’ भने । 
 

जेठ २९ 

प्रधानमन्त्रीबाट बाहिरिएपछि छिमेकीको चर्को आलोचना गर्ने ओलीले ललितपुरको च्यासलमा तीन नम्बर प्रदेशका एमालेका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा प्रशिक्षण दिदै छिमेकीको चित्त दुखाउन नहुने बताए  । त्यहि कार्यक्रममा उनले एमालेको सरकार आएपछि नेपालमा भएका यूरेनियमका खानी उत्खनन गर्ने र त्यो यूरेनियम बेच्ने समेत बताए । ‘चाहिएमा त्यो यूरेनियम खरिद गर्न सक्ने’ भन्दै भारततफै व्यङग्य पनि कसे । 
 

असार २ 

सरकारको आलोचना गदै ओलीले भने ‘यसरी सरकार तानाशाही तरिकाले चले कि तानाशाह जन्मन्छ ? कि जनविद्रोह हुन्छ ।’ ओलीले सरकारलाई तानाशाही त भने संभावित विद्रोहको नेतृत्व कसले गर्नसक्छ भनेर खुलाएनन् । यदि साच्चै सरकार तानाशाही भएर आए विद्रोहको नेतृत्व गर्न सक्ने क्षमता अहिलेका पार्टीमा छैन भन्ने अनूमान गर्न कुनै गाह्रो छैन । त्यहि दिन उनले महान्यिायाधिबक्ताको पनि कडा आलोचना गरे । भने– महान्यायाधिवक्ताको खल्तीमा माओवादीका नारा हुन्छन् । महान्यायाधिबक्ता सरकारको नभएर माओवादीको भएका छन् ।’ ओलीले निर्वाचन आयोगको पनि कडा शव्दामा आलोचना गरेनन मात्र सरकारको छायाँ भएको समेत बताए । 
 

असार ४

तीनवटा प्रदेशमा दोस्रो चरणको निर्वाचनका लागि उम्मेदारी दर्ता भइरहको दिन असार ४ मा ओलीले पत्रकार सम्मेलन गरे र पुनः सत्तारुढ दलमाथि खनिए । यो दिन सत्ताका प्रमुख घटक माओवादी केन्द्र र काँग्रेस भन्दा पनि मधेशी दलहरुमाथि पनि उनी खनिएका थिए ।  े ‘संविधान जारी हुँदा संविधानमा हस्ताक्षर नगर्ने । संसदमा काँग्रेस र माओवादीका नेतालाई प्रधानमन्त्री बनाउन भोट हाल्ने ? यीनीहरुलाई सत्ता प्यारो छ । देश होइन ।’– उनले भने । 
 

असार ६–८ 

दोस्रो चरणको निर्वाचनको प्रचार प्रसार गर्न आफ्नो गृह जिल्ला झापा गएका ओलीले एमालेको पक्षमा मत तान्न बुढेसकालमा पाल्ने एमाले पार्टीमात्रै भएको बताए । ‘वृद्धभत्ता र आफ्नो गाँउ आफै बनाउ भन्ने एमालेकै योजना हुन् ।’
एमाले र त्यसमा पनि आफुलाई राष्ट्रवादी भएको दाबी गदै आएका ओलीले झापामा ‘अब राष्ट्रवादी रोज्ने कि राष्ट्रघाती ?’ भनेर जनतालाई प्रश्न गरेका थिए । 
उनले गृह जिल्लामा निर्वाचनबाट भाग्नेलाई आफुले निर्वाचनको मैदानमा ल्याएर सिंहदरबारको अधिकार गाँउ गाउँमा पुगाउने पनि बताए ।  विपक्षी गठबन्धनलाई लक्षित गदै भने ‘एमालेले पहिलो चरणको निर्वाचनमा ४५ प्रतिशत मत ल्याएको सबैलाई जानकारी छ । अब १ नं प्रदेशमा पनि ६५ प्रतिशत मत ल्याउछ ।’ उनले यो देश चलाउने क्षमता एमालेसंग मात्र भएको दाबी पनि गरे । 
 

असार ११

यस दिन विराटनगर पुगेका ओलीले काँग्रेसले लैनो थुन चुस्नबाहेक केही पनि नजानेको बताए । भने –जतिसम्म भैसो लैनो छ चुस्न जान्छ बर्केनो भएपछि छोड्छ ।’ काँग्रेसले देशभरीका उद्योग धन्दा बेचेकोले अब एमालेले स्थापना गर्ने पनि बताए । ‘कांग्रेस बैश सम्झेर हिड्ने बुढाबुढी जस्तो हो । अहिलेका होइन, उहिलेका मात्र कुरा गर्छ । यसबाट नयाँ केही बन्दैन ।’
 

असार १२ 

तीन वटा प्रदेशको निर्वाचनका कारण मौन समय सुरु भएको थियो । तर एमाले अध्यक्षले प्रेस चौतारीको आयोजनामा पार्टी कार्यलयमा भएको पत्रकार सम्मेलनमा प्रतिपक्षमाथि हमला गरे । यो सरकारलाई इराकका पूर्व शासक सद्दाम हुसेनको शासनसंग तुलना गरे । ‘हत्यारालाई जेल हाल्नुको सट्टा यो सरकार बाहिर छोड्छ ।’ ओलीले अरुलाई पनि नियम कानून मान्न लगाउनु पर्ने सरकार आफै नियम कानूनको धज्जी अडाइरहको आरोप लगाए । 
 

असार १४

नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीको ६६औं जन्मजयन्ति मनाउने क्रममा पनि ओलीले भण्डारीकाबारेमा कम बोले । उनले त्यस दिनपनि सत्तारुढ दलकै बढी आलोचना गरे । यो दिन तीन वटा प्रदेशमा निर्वाचन भइरहेको थियो भने ओली राजधानीमा काँग्रेस र माओवादी केन्द्रमाथि खनिदै थिए । उनले सरकारले सत्ताको आडमा धाँधली गरेको बताए । आफ्नो दलमा आन्तरिक लोकतन्त्र भएको तर काँग्रेस माओवादी केन्द्रमा नभएको भन्दै मंचमा बसेका माओवादीका नेता नारायणकाजी श्रेष्ठ र काँग्रेस नेता रामशरण महतलाई आआफ्नो पार्टीमा यसबारे बहस चलाउन पनि भने । ‘यो सरकारले आफु नजित्ने भएपछि मान्छे मारेर, कुटेर, बुथ कब्जा गरेर र त्यसरी पनि भएन भने मतपत्र च्यातेर जित्न खोज्छ’ ओलीले आरोप लगाए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण गिरी
कृष्ण गिरी

कृष्ण गिरी रातोपाटीका लागि राजनीति क्षेत्रको रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप