सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

मालिका केशरीलाई दिइयो आभाष उत्कृष्ट साहित्य पुरस्कार, २०७८

शुक्रबार, ०१ पुस २०७९, १८ : ०५
शुक्रबार, ०१ पुस २०७९

आभाष उत्कृष्ट साहित्य पुरस्कार, २०७८ साहित्यकार मालिका केशरी उपनामले परिचित प्रकाशकुमार श्रेष्ठलाई प्रदान गरिएको छ ।  आभाष पुरस्कार कोषले आज यहाँ आयोजना गरेको कार्यक्रममा केशरीको तिब्बती शरणार्थीको दर्दनाक अवस्थालाई चित्रण गरेर लेखिएको उपन्यास ‘दुङाल’का लागि यो पुरस्कार दिइएको हो ।

रु दुई लाख नगद र सम्मान पत्रसहितको यो पुरस्कार आज राजधानीमा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखेरलले केशरीका भाइ प्रवीणचन्द्र श्रेष्ठलाई दिएका हुन् । लेखक पारिवारिक भेटघाटका सिलसिलामा अमेरिका रहेकाले उनका भाइले पुरस्कार ग्रहण गरेका हुन् ।

सो अवसरमा अध्यक्ष पोखरेलले उपन्यासमा उठान भएको विषय मार्मिक रहेको बताए । शरणार्थीलाई दमित गर्ने काम भइरहेको उल्लेख गर्दै उनले परिचयपत्र उपलब्ध गराउन पनि हिच्किचाउन नहुने बताए । घृणित अवस्थामा पनि प्रेम अङ्कुरण हुन्छ भन्ने देखाउन लेखक सफल भएका अध्यक्ष पोखरेलले सुनाए ।  

कोषका संयोजक उत्तम बस्नेतले भर्खर स्थापना भएको कोषले साहित्यकारलाई प्रोत्साहन स्वरूप पुरस्कार दिन थालेको बताए । कोषले पहिलो पुरस्कार नै ‘दुङाल’लाई दिएको उनले सुनाए । आगामी वर्षमा पनि साहित्यकारलाई छनोट गरी पुरस्कार अर्पण गरिने कोषले जनाएको छ ।

कार्यक्रममा प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत झविन्द्र भुसाल, न्यूनतम् पारिश्रमिक निर्धारण समितिका अध्यक्ष सङ्गीता खड्का, समीक्षक राजकुमार बानियाँलगायतले प्रकृति, संस्कृति र प्रेमलाई उपन्यासकार केशरीले उपन्यासमा रोचक तरिकाले प्रस्तुत गरी पाठकको ध्यान तान्न सफल भएको बताए ।

साहित्यकार केशरीका यसअघि कविता सङ्ग्रह ‘मिरमिरे’ २०५८, र उपन्यासहरू ‘पुरुत्थान’ २०७२ र ‘सुवर्णलता’, २०७४ प्रकाशन भइसकेको छ । उनको अर्को उपन्यास पनि प्रकाशनको तयारीमा रहेको जनाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप