सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कथा : अप्सराको त्यो अनुहार

शनिबार, ०२ पुस २०७९, ०५ : ४७
शनिबार, ०२ पुस २०७९

दिनभरिको कामले थाकेको शरीर । यसो क्याबिनको झ्यालको पर्दा हटाएर बाहिर हेरेँ । सूर्यको तेज मलिन हुँदै गइरहेको थियो । शरीरले पनि आराम मागिरहेको थियो । ड्युटीको समय सकिएकाले कपडा फेरेँ र क्याबिनबाट बाहिर निस्किएँ ।

बाहिर बिरामीहरूको लामो लाइन थियो । यो दृश्य मेरा लागि अनौठो पनि थिएन । अनेकौँ प्रकारका रोगले ग्रस्त भएर उपचारका लागि पालो कुरिरहेका । सदाझैँ मैले यसो त्यो लामो पङ्क्तिमा नजर पुर्‍याएँ । प्रायः सबैको अनुहारमा पीडा झल्किरहेको स्पष्ट देखिन्थ्यो । कतिपयको मुहारमा त असह्य पीडा थियो । सबै जनाको प्राण पुनः स्वास्थ्य लाभ हुने आशाको त्यान्द्रोमा झुन्डिरहेको जस्तो देखिन्थ्यो । 

आफ्नो सहानुभूतिपूर्ण नजर ती बिरामीहरूको मुहारबाट मोड्नै लाग्दा मेरा आँखा एक चिरपरिचितजस्तो लाग्ने अनुहारमा पुगेर टक्क रोकिए । स्मृतिमा खोतलेर त्यो अनुहार चिन्ने प्रयास गरेँ । अन्ततः सफल पनि भएँ । अनायासै मुखबाट ध्वनि निस्कियो– अप्सरा !

आज भन्दा चार–पाँच वर्ष पहिले मेरो सरुवा गाउँको एउटा हेल्थपोष्टमा भएको थियो । अप्सराको घर हेल्थपोष्टनजिकै थियो । हेल्थपोष्ट आउँदा–जाँदा हामी एक–अर्काबीच देखादेख हुन्थ्यो । विकट गाउँ, जहाँ बिहान खाएपछि साँझको छाक कसरी टारौँ भन्ने अवस्था थियो । अलिकति गाउँमा टाठीबाठी लाग्थ्यो मलाई अप्सरा । 

थाहा छैन, उनको अनुहारमा के थियो ? सायद उनको निर्दोष र उज्यालो अनुहारले मलाई आकर्षित ग¥यो । पहिलो वार्तालाप मैले नै सुरु गरेकी थिएँ । विस्तारै हामीबीचको मित्रता झाँगिँदै गयो । 

अप्सराको अध्ययन धेरै थिएन । साक्षर मात्रै थिइन् । पढ्दा पढ्दै उनको विवाह गरिदिएका थिए उनका बाबुआमाले । तर, दिमाग भने तीक्ष्ण थियो । सामान्य दैनिक आवश्यक पर्ने हिसाब किताब फ्याट्टै मिलाउँथिन् । मैले भनेका कुराहरू जस्ताको तस्तै सम्झन्थिन् । फक्रिएर एक सुन्दर फूल बन्ने सम्भावना भएकी अप्सराको प्रतिभालाई कोपिलामै निमोठिदिएका थिए उनका बाबुआमाले । अप्सरा कलिलै उमेरमा तीन बच्चाकी आमा बनिसकेकी थिइन् । 

अप्सराको दिनचर्या चुलोचौको र घाँस–दाउराका लागि पाखा र जङ्गल चहार्दै बित्थ्यो । यी सबै कुराहरू स्मृतिको कुनै कुनामा धुमिल भएर बसेका थिए । अप्सरालाई देख्ने बित्तिकै ती सबै जीवन्त भएर मेरा आँखाअगाडि आए ।

..‘अप्सरा ! तिमी यहाँ ?’ मैले नजिकै गएर अप्सरालाई बोलाएँ ।

‘दिदी, हजुर ?’ अप्सराले आश्चर्यमिश्रित आवाजमा भनिन् । अप्सराको अनुहारको असह्य पीडालाई छेडेर दबिएको उज्यालोपन केही क्षणका लागि बाहिर प्रकट भयो । सायद आफ्नो पुरानो हितैषीलाई देखेर होला । 

अप्सरालाई उभिन पनि मुस्किल परिरहेको थियो । डाँडापाखामा घाँस–दाउराको भारी बोकेर उकालो–ओरालो गरिरहेका ती खुट्टाहरूले आफ्नै शरीरको भारसमेत थाम्न सकिरहेका थिएनन् । पेटमा हातले थिचिरहेकी थिइन् । उनलाई डो¥याएर नजिकैको बेन्चमा बसाएँ ।

‘के भयो अप्सरा, तिमीलाई ?’ मैले सोधे ।

‘खै दिदी, क्या भयो क्या भयो मकन ! तल्लो पेट बेस्सरी दुख्दो छ । अनि, भारी भयाजस्तो हुँदो छ । पिसाब पनि तारन्तार लाग्दो छ । खोक्दा पनि पिसाब चुहिँदो छ । मासुको डल्लोजस्तो निस्क्याको छ । माथि डाक्टरले तराईमा गएर उपचार गर्नू, यहाँ उपचार हुँदैन भनेर पठाए । तमिकन देखिकन दिदी, आधा पीडा नै हराएजस्तो भइगो, दिदी !’, अप्सराले डर र खुसी दुवै मिसिएको अनुहार बनाएर एकै सासमा भनिन् ।

अप्सराको कुरा सुनेर मलाई उनको रोगका बारेमा केही अनुमान भने भयो । तर, यकिनका साथ भन्न सकिने अवस्था थिएन । मैले उनलाई सबै ठीक हुन्छ भन्दै सहानुभूति दिएँ । 

सहानुभूति मात्रले के गर्ने ? उपचार पनि जरुरी थियो । मैले उनको तल्लो पेटको भिडियो एक्स–रे निकाल्नका लागि काउन्टरमा पैसा जम्मा गरिदिएँ र तुरुन्त एक्स–रे रुममा लिएर गएँ । 

म अस्पतालकै स्टाफ भएकाले काम पनि तुरुन्तै भयो । म अप्सराको हँसिलो मुहार पुनः देख्न आतुर थिएँ । आखिर एक नर्सको कर्तव्य पनि त यही हो । बिरामीको पीडा दूर गर्नु । अप्सरा त झन् मेरै साथी थिइन् ।

‘कतै अप्सरा पनि पाठेघर खस्ने समस्याको सिकार त भइनन् ?’, मैले मनमनै प्रश्न गरेँ । ‘नहोस् पनि कसरी, त्यति सानै उमेरमा तीन जना बच्चाकी आमा भइसकेकी थिइन् । जन्मान्तर पनि कम थियो । बर्सेनी एउटा बच्चा जन्माएपछि त्यस्तो हुनु स्वाभाविक नै हो । फेरि सुत्केरी भएपछि आराम गर्न पाउने ठाउँ पनि होइन । सुत्केरी भएकै अवस्थामा घाँस–दाउरा बोकेर उकालो–ओरालो गर्नुको नतिजा नै हो । मान्छेहरू पनि कति निर्दयी हुने ! सुत्केरी भएको बेलामा पनि त्यस्तो काम गर्न पठाउने !’ मेरो मनमा अनेकौँ कुराहरू खेल्न थाले ।

अप्सरा एक्स–रे रुमबाट बाहिर निस्किइन् । रिपोर्ट र अप्सरालाई  साथमा लिएर म डाक्टरको रुमतिर लागेँ । डाक्टरले रिपोर्ट हेरेर अप्सरातर्फ हेर्दै भने, ‘तपाईंको पाठेघर खसेको छ । यसलाई गाउँघरतिर आङ खस्नु...’

‘अब के हुन्या हो, डाक्टर साहेब ?’ डाक्टरको कुरा पुरा नहुँदै उनले बीचमै आत्तिएर प्रश्न गरिन् । बिचरीको होसहवास नै उड्यो । डाक्टरले नआत्तिन भने र सबै कुरा सम्झाए । उपचारको एक मात्र विकल्प अब अप्रेसन मात्र भएको कुरा बुझाए । उनको त अप्रेसन भन्ने बित्तिकै झन् होस उड्यो ।

बाहिर निस्किएपछि उनले विगत याद गर्न थालिन् ।

‘दिदी, तमिले त भनेकै थियौ, यसरी वर्षौटे बच्चा जन्माउनुहुँदैन भनिकन । त्यस बेलामा अहिले भएजति मात्रै बच्चा भए पुग्दो छ भनेर तमिले भनेकै थियौ । परिवार नियोजनको सल्लाह पनि दिएकै थियौ । उही बेला बुद्धि आएन, के गर्नु ?  तमिले सम्झाउँदा पनि नमानेर सुत्केरी भएकै बेलामा गाह्रो काम गरिरहेँ । आज आइकन यहीको फल पाएँ,’ उनले पश्चात्ताप गर्दै भनिन् ।

मैले उनलाई अनेकौँ तरिकाले सम्झाएँ । अब केही दिनका लागि अस्पतालमै भर्ना हुनुपर्ने कुरा पनि बताएँ । राम्रोसँग सम्झाइ–बुझाइ गरेपछि उनी केही शान्त भइन् । मैले उनलाई अस्पतालमा भर्ना हुने चाँजोपाँजो मिलाइदिएँ । बेडमा लगेर केही नदुख्ने औषधि चलाइदिएर स्लाइन लगाइदिएँ ।

‘दिदी, तमिलाई धेरै धन्यवाद ! म तमिको गुन कहिल्यै बिर्सिन्या छैन ।’ उनको रुन्चे स्वरमा कृतज्ञता पनि मिसिएको थियो ।

‘धन्यवाद आफैँकन देऊ, अप्सरा ! । धन्न, तिमी समयमै आइछौ । अझै दुखाइ सहेर बसेको भए त के के हुन्थ्यो के के ! तिम्रा बालबच्चाले पनि दुःख पाउँथे । अँ साँच्ची ! तिम्रा कति जना बच्चा छन् रे ?’ मैले उनलाई सोधेँ ।

‘पाँच छन्’, उनले लज्जामिश्रित भावमा फिस्स हाँस्दै उत्तर दिइन् । सायद औषधिको असरले  होला, उनको अनुहारमा पीडाको भाव अलि कम भएको थियो । अन्ततः उनको अनुहारमा त्यही पुरानो अप्सराको उज्यालो अनुहारको झलक देखेँ । म सन्तुष्ट भएँ । 

उनलाई सँगै आएका बिरामी कुरुवाको जिम्मा लगाइदिएँ र समयमा औषधि दिन भनेँ । भोलिपल्ट भेट्ने वाचा गरेर घरतर्फ लाग्ने मनसायले बाहिर निस्किएँ । दिनभरको थकाइको सूचना दिन अनायासै मुखबाट लामो सुस्केरा निस्कियो । अँध्यारो भैसकेको रहेछ । आकाशमा ताराहरू टिमटिमाइरहेका थिए ।

मैले आकाशतिर हेरेर प्रार्थना गरेँ, ‘हाम्रो देशमा अप्सराको जस्तै पाठेघर खस्ने समस्या भएका महिलाहरु कति धेरै होलान् र कतिपय अवस्थामा उपचार नपाएर उनीहरु पीडा झेलेर बस्न बाध्य होलान् । अब कुनै महिलाले अप्सराको जस्तो पीडा झेल्नु नपरोस् ।’ 

अनि, मेरो मनको अर्को कुनाले प्रश्न तेस्याई हाल्यो, ‘के यो अहिले नै सम्भव छ र ?’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप