सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कविता : एउटा मान्छे

शनिबार, ०२ पुस २०७९, ०६ : २२
शनिबार, ०२ पुस २०७९

मेरा क्रोध पनि 
बिचलित भए 
जति क्रोधित हुनुपर्ने 
त्यो म भइन
मस्तिष्क गलेर फतक्क भए
पाउ पनि लुलो देख्छु
मासी सुके सरी
लम्पसार, तनक्क पसारिएको छु
आइन्दा बौरिनै नसक्ने जसरी
आफू मै म महान मान्छे
खै, खोजेको मैले मेरो महानता ?
आफैमा दीपक हूँ म 
खै बालेको मैले मेरो मनको दियो ?
मन्दिर हो मेरो मन
खै पुजेको मैले मेरो देवता ?
फलानाले त्यो गरिसक्यो 
मैले किन गरिन ?
ढिस्कानाले त्यो पाइसक्यो 
म किन त्यस्तो बनिन ?
हरेक रात यी ज्वारभाटा 
बल्किएर मैले मेरो 
सपनै देखिन
म को हूँ, मैले आफैलाई 
चिन्नै सकिन 
के मैले जुन छुने आँट नगर्ने ?
के मैले मेरो माटो चिन्ने साहस नगर्ने ?
के मैले म आफै बन्ने विश्वास नगर्ने ?
के मैले यी हिमालका 
गहिराई नाप्ने कल्पनै नगर्ने ?
के मैले यो बतासको झोका देख्ने आँखा नउघार्ने ? 
के मैले बर्षातको थोपा छुने चाह नगर्ने ?
आखिर कहिलेसम्म ? 
बसन्तका पत्कर सरी म लडि रहूँ ?
चैतको वेगको हुरी चल्दा 
बेतुकमा थाहै नपाई उडिरहूँ 
कहिले यता र कहिले उता ।
यो बाटो 
किन ? 
लम्पसार छ  
किन ?
सर्दैन बामे पनि 
चुपचाप 
ठिङ्ग उभिएको 
यो पहाडलाई सोध्छु 
कहिलेसम्म
तँ यहाँ ठडिरहन्छस् ?
प्रत्येक प्रहर 
झिजाउन मन लाग्छ
तँलाई कति जङ्गली र चरा
बचेराले विष्टाइसके ?
आकासले हेपेको हेक्का छ ?
ऊ कहिले बगाउने गरी
बर्षात पारिदिन्छ 
कहिले सहनै नसकिने
धूप लगाई दिन्छ 
आखिर किन सहन्छस् 
यति विघ्न ?
गल्र्याम गुर्लुम पहिरो जाँदा पनि 
सहेकै छस्
मनुखेले खुइल्याउँदा पनि 
मन्द छस्
ढिला जाग्ने बानी परेको छ सायद यसलाई 
नाजावाफ हुन्छु म । 

म जून समात्न हिँडेको
खै के भेटें ?
आफैलाई बिर्सन्छु कहिलेकाहीँ
साहस आउँदैन सोध्न आफैलाई 
म 
किन रुमल्लिएको छु ? 
उसै हतार छ किन मलाई
जलन छ भतभती पोल्ने 
चैन किन मिल्दैन कहीँ कतै ?
के म मात्रै यो जञ्जिरमा छु ? 
म मात्रै यो हतारमा हुँ ?
म मात्रै माकुराको जालो सरी 
बेचैनमा अल्झिएको हुँ ?
यी प्रश्नले थिचिएको छु 
म बारम्बार ।
....
यो आकासले  
थिचेजस्तो लाग्छ 
फोक्सो फुलेर 
श्वासै रोकिन खोज्छ
अनि एउटा 
प्रश्न तेर्सिन्छ  
के आकास खसेछ ?
मेरा सपना छिन्नभिन्न पारिदिन
मेरो पागलपन लुटिन दिन
म आफैलाई आफ्नो नबनाउन 
मेरो धरातल पुरीदिन ।

लाग्छ,
म कहिल्यै नभरिने 
धोक्रो भर्न तल्लीन छु 
थुपार्दैछु आँखैले नदेखिने चुली
देखाउँदैछु मेरो चुरी फुरी दुनियाँलाई
ए, म त 
आँखा देख्दा देख्दै अन्धो पो भएछु 
कान सुन्दा सुन्दै बहिरो पो भएछु
बोल्दा बोल्दै म त लाटो पो भएछु 
हिँड्दा हिँड्दै म त कुजो पो भएछु

मेरा कैयौं आकाङ्क्षा तुहाएर पनि
मेरा खुसीहरुलाई 
आत्महत्या गर्न बाध्य बनाएर पनि 
अनेकौं वेदना लुकाएर पनि
हजार कामना भजाएर पनि 
म त मान्छे बन्नु छ
एउटा मान्छे
भोलि मर्ने साधारण मान्छे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप