सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

साहित्यकार रिजालको ‘पूर्वीय दर्शन विमर्श’ निबन्ध सङ्ग्रह प्रकाशित

शनिबार, ०२ पुस २०७९, ०९ : ५७
शनिबार, ०२ पुस २०७९

पत्रकार तथा साहित्यकार कमल रिजालको ‘पूर्वीय दर्शन विमर्श’ शीर्षकको निबन्ध सङ्ग्रह प्रकाशित भएको छ । लामो समयदेखि अध्यात्म दर्शनको क्षेत्रमा कलम चलाउँदै आएका रिजालको यो तेह्रौँ कृति हो । गोरखापत्र दैनिक तथा मधुपर्क मासिकको प्रधानसम्पादक रहिसकेका रिजालको यस कृतिलाई रत्नपुस्तक भण्डारले प्रकाशित गरेको हो । 

रिजालका यस अघिका कृतिहरू पनि अध्यात्मदर्शनसितै सम्बन्धित छन् । प्रस्तुत निबन्ध सङ्गहमा पाँच खण्ड र ६१ वटा निबन्ध समाविष्ट छन् । यीमध्ये पहिलो वैदिक दर्शन खण्डमा वेद र उपनिषद् सम्बन्धी विषयवस्तुमा आधारित नौवटा निबन्ध छन्, जहाँ वेद र विज्ञानलाई समन्वयात्मक ढङ्गमा विश्लेषण गर्ने प्रयास भएका छन् । दोस्रो पौराणिक दर्शन खण्डमा १८ वटा निबन्ध सङ्कलित छन्, जहाँ १८ महापुराणको परिचय र तिनका धार्मिक, सामाजिक तथा संस्कृतिक विशेषता केलाउने प्रयास भएका छन् । 

तेस्रो संस्कृति संरक्षण खण्डमा संस्कार र संस्कृति सम्बन्धी नौ वटा निबन्ध र चौथो शब्द तथा सदाचार खण्डमा शब्दको शक्ति, स्रोत र सामथ्र्य तथा सुशान सम्बन्धी पाँचवटा निबन्ध समाविष्ट छन् । पाँचौँ विविध खण्डमा सामाजिक विकृति र तिनका निराकरण सम्बन्धी विषयवस्तु समेटिएका २० वटा निबन्ध रहेका छन् । 

लेखक रिजालका अनुसार वैदिक सनातन धर्मसंस्कृति संसारकै सर्वाधिक पुरानो धर्मसंस्कृति मात्र हो । साथै संसारलाई सर्वप्रथम मानवताको धरातलमा हिँड्न सिकाउने धर्मसंस्कृति पनि यही नै हो तर त्यही धर्मसंस्कृृतिमाथि विभिन्न नाम र रूपमा प्रहार हुने गरेकाले त्यसैलाई चिर्नु पुस्तकको उद्देश्य हो । 

उनी भन्छन्– ‘वेद शब्दहरूको सङ्ग्रह मात्र नभई विज्ञानको कुँजी पनि हो । आज संसारमा विज्ञान र प्रविधिको क्षेत्रमा जेजति प्रगति भएका छन् तिनको मूलभूत आधार भनेको वेद नै हो । प्रस्तुत पुस्तकमा तिनै कुरालाई यथासम्भव प्रस्ट्याउने प्रयास भएका छन् ।’

प्रकाशक रत्नपुस्तक भण्डारका गोविन्द श्रेष्ठ भन्छन्– हामीले अन्य विभिन्न साहित्यिक पुस्तकका साथै आध्यात्मिक साहित्य सम्बन्धी पुस्तक पनि प्रकाशित गर्दै आएका छौँ । यसको उद्देश्य समाजमा आध्यात्मिक चेत विकास गरी आत्मिक अनुशासनमा सहयोग पुर्याउनु हो । यसमा प्रस्तुत पुस्तकबाट राम्रै टेवा पुग्ने विश्वास गरेका छौँ ।’

भूमिका खण्डबाहेक २०८ पृष्ठको पुस्तकको मूल्य रू. ३९५।– रहेको छ ।      
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप