सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

लेखाको श्रेस्ता लुकाउने नगरपालिकाका तीन कार्यालय सहयोगी पक्राउ

शनिबार, ०२ पुस २०७९, १० : २४
शनिबार, ०२ पुस २०७९

रौतहटको माधवनारायण नगरपालिकाको लेखा शाखाबाट श्रेस्ता लगायत केही  महत्त्वपूर्ण कागजात लुकाउने तीन जना कर्मचारी पक्राउ परेका छन् । 

इन्स्पेक्टर रामराजा केशरीको  नेतृत्वमा गएको टोलीले हराएका कागजात अन्य शाखाबाट फेला पारेपछि उक्त रहस्य खुलेको हो । पक्राउ पर्नेमा करारमा रहेका कार्यालय सहयोगीहरु अर्जुन साह, रामलखन हजारी र राजेश  पंडित रहेको प्रहरीले जनाएको छ। सोधपुछ तथा प्रारम्भिक अनुसन्धानमा उक्त कागजात लुकाउनेमा तिनैजना कार्यालय सहयोगीहरुको हात रहेको देखिएकाले नियन्त्रणमा लिएको इन्स्पेक्टर केशरिले बताए । 

उनीहरुलाई इलाका प्रहरी कार्यालय गरुडाको नियन्त्रणमा राखिएको छ । इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी बरुणकुमार सिंहले घटनाबारे अनुसन्धान भइरहेको तथा लेखा अधिकृत रामबलम यादवको जाहेरीको आधारमा कार्यबाही प्रक्रिया बढाइने बताएका छन् । 

माधव नारायण नगरपालिकाका लेखा अधिकृत रामबलम यादवले आफू कार्यालयमा नरहेको समय  लेखाका केही श्रेस्ता र महत्त्वपूर्ण केही कागजात  हराएको बताउँदै आएका थिए । शुक्रबार कार्यालय पुगेर कागजातहरुको खोजि गर्दा नभेटेपछि ईलाका प्रहरी कार्यालय गरुडालाई घटना बारे जानकारी गराएको उनले बताए । लगत्तै इन्स्पेक्टर राजाराम केशरीको नेतृत्वमा गएको टोलीले नगरपालिकाका केही कर्मचारीलाई सोधपुछ गर्दा हराएका सबै कागजात योजना फाँटका प्रमुख मेयर बैजुनाथ यादवका भाइ कृष्णनन्दन यादवको दराजमा फेला पारेको थियो । 

 मेयर बैजुनाथ प्रसाद यादवले  कुनै कार्यक्रम नै नगरी जिल्लाको विभिन्न होटलमा खाना र खाजा खुवाएको  लाखौं रकम भुक्तानी गराएको फाइल अख्तियारको हातमा पर्ने डरले मेयरले नै उक्त कागजात लुकाउन लगाएको लेखा अधिकृत यादवले बताएका छन ।

 गौरमा रहेको राज होटलको ४ लाख ९ हजार ३ सय, चन्द्रनिगाहपुरको एन प्लाजा होटलको २ लाख ४३ हजार र सोही ठाउँको पशुपति होटलको ४६ हजार रुपिया भुक्तानी दिइएको समेत फाइल फेलापरेको  लेखा अधिकृत  यादवले बताएका छन् । 

मेयर यादवको तोक आदेशमा भुक्तानी दिइएको उक्त होटलहरुमा नगरपालिकासँग सम्बन्धी कुनै कार्यक्रम नै नभएको पाइएको छ। त्यसैगरी मेयर यादवले  विभिन्न कार्यक्रम सञ्चालन गर्ने भन्दै नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत मिश्रिलाल साहको नाममा ८ लाख ५० हजार, प्रशासन शाखा प्रमुख पृथ्वीनारायण यादवको नाममा १२ लाख, करारमा कार्यालय सहयोगीको रुपमा कार्यरत अर्जुण साहको नाममा ८ लाख र करारकै अर्का कार्यालय सहयोगी राजेश पण्डितको नाममा ७ लाख रुपिया  अग्रिम भुक्तानी लिएको देखिएको छ। 

जनता समाजवादी पार्टीका मधेस प्रदेश सदस्य श्याम विहारी यादवले माधवनारायणका मेयर बैजु यादव नगरपालिकालाई कमाइखाने भाँडो बनाएको आरोप लगाएका छन । मेयर बैजु यादवसँग प्रतिक्रिया लिँदा उनले घटनाबारे अनभिज्ञता प्रकट गर्दै पन्छिएका छन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप