आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

२८ वर्षीया सांसद भन्छिन्–सयौँ राजा पाल्नुभन्दा एउटै राजा पाल्नु राम्रो होइन र ?

‘कम्युनिस्ट र कांग्रेसले दलितलाई सत्तामा पुग्ने भर्‍याङमात्रै बनाएपछि राप्रपामा लागेँ’
सोमबार, ०४ पुस २०७९, १४ : ४८
सोमबार, ०४ पुस २०७९

 भनिन्छ– अभावले मान्छेलाई संघर्ष गर्नतर्फ अग्रसर गराउँछ भने इखले सफलता । सल्यानबाट प्रतिनिधिसभा सदस्य बनेकी २८ वर्षीया अनिसा नेपालीको जीवनमा ठ्याक्कै यही कुराले मेल खान्छ । राष्ट्रिय प्रजातन्त्र पार्टीको समानुपातिक कोटाबाट सांसद भएकी उनी सामान्य परिवारमा जन्मे हुर्केकी हुन् ।

दार्मा गाउँपालिका–४ (साविकको भल्चौर) की अनिसाले कक्षा ५ सम्म गाउँकै विद्यालयमा अध्ययन गरिन् । सानैदेखि जिज्ञासु स्वभावकी भएर होला, अभावको बीचमा पनि इख लिएर कर्ममा बढी विश्वास गर्थिन् उनी । त्यही भएर उनी सल्यानबाट संसदको यात्रा तय गर्ने पहिलो महिला नेतृ भएकी छन् । यसअघि सल्यानबाट कुनै पनि दलबाट महिला नेतृले संसदको यात्रा तय गर्न सकेका छैनन् ।

उनको बाल्यकाल घाँस, दाउरा, मेलापातमा संघर्ष गर्दागर्दै बित्यो । रातोपाटीसँग उनले भनिन्, ‘बिहान एक भारी घाँस काटेर मात्रै स्कुल दौडनुपर्ने बाध्यता थियो । घरमा गाई, भैँसी, बाख्रा पालेका थियौँ । ५ बहिनी, २ भाइ र आमा–बुबा गरी ८ जनाको परिवार खेती गरेर नै पालिनुपर्ने बाध्यता अर्कोतिर थियो ।’

अनिसा घरकी साइँली छोरी हुन् । तर उनले आफ्नो पढाईलाई जस्तै अभाव र चुनौतीमा पनि रोकिनन् । समाजका सर्वहारा वर्गमाथि ठुला भनिएकाहरुले कसरी वर्चश्व जमाउँदा रहेछन् भन्नेबारे निकै उनी निकै चिन्तित हुन्छिन् । वर्गीय समानताका लागि देशमा जतिसुकै राजनीतिक परिवर्तन आए पनि व्यवहारमा खासै परिवर्तन नआएको उनको बुझाइ छ । त्यही कुराले उनलाई राजनीतिमा अग्रसर बनाएको हो ।

०६८ सालमा जनज्योति उच्च माविबाट एसएलसी पास गरेकी उनले दाङको राप्ती बबई क्याम्पस तुल्सीपुरबाट ब्याचलर (०७६) पास गरेकी छन् । एसएलसीपछि खलंगा गएर उनले आरती टेक्निकल सेन्टरबाट ०७२ सालमा अहेव पास गरिन् । ब्याचलर अध्ययनसँगै जागिर खानुपर्छ भन्ने भयो । घरमा अरु दिदी र दाइहरुको बिहे भइसकेको थियो । उनीहरु आ–आफ्नो घरधन्दामा लागिसकेकाले आमा–बुबा र बहिनीहरुको शिक्षा–दीक्षाको जिम्मेवारी पनि उनको काँधमा थियो । 

जागिरकै सिलसिलामा राप्रपामा आबद्ध नेताहरुसँग भेट भएको र राप्रपाको विचार, एजेण्डा मन परेको उनले सुनाइन् । अनिसाको परिवारले राजनीतिक विरासत बोकेको थिएन । तर पनि उनले आफ्नो समुदायको प्रतिनिधित्व गर्ने उद्देश्यसहित राजनीतिमा कदम चालिन् । तर, त्यति सजिलो भने थिएन ।

थिचिएको र पछाडि पारिएको वर्ग–समुदायको आवाज बन्नुपर्छ भन्ने उद्देश्यसहित राजनीतिमा होमिएको उनको भनाइ छ ।

राप्रपाको राजनीतिमा अग्रसर भएको छोटो समयमै उनी एकाएक छलाङ मार्न सफल भइन् । राप्रपाले उनलाई दार्मा गाउँपालिकाको पार्टी अध्यक्ष बनायो । ०७४ मा राप्रपाबाटै पालिका अध्यक्ष लडेकी उनी गत वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा पनि पालिका अध्यक्षमा उम्मेदवार बनेकी थिइन् । यद्यपि कमजोर संगठनका कारण पराजित भइन् । तर उनले राजनीतिमा हरेस खाइनन् ।

अनिसा आफू दलित कोटाबाट बन्दसूचीमा परुञ्जेलसम्म आफूलाई कुनै जानकारी नै नभएको सुनाउँछिन् । ‘सल्यान १ बाट दलितबाट म र २ बाट चन्द्रकला विक हुनुहुन्थ्यो,’ उनी भन्छिन्, ‘उहाँ पहिला पनि सिफारिस हुनुभएको थियो तर सांसद बन्न सक्नुभएको थिइन, मलाई क्षेत्र नम्बर १ बाट सिफारिस गरिएको थियो । तर संघको बन्दसूचीमा नामा आउँदा निकै खुसी लाग्यो । त्यहाँ भन्दा पहिला संघमा आफ्नो नाम गए नगएको जानकारी थिएन ।’

‘इखले राप्रपाको राजनीति’

अनिसा इखले राप्रपाको राजनीतिमा लागेको बताउँछिन् । ‘म राप्रपामा लाग्नुका प्रमुख कारण भनेको कम्युनिस्ट र कांग्रेसहरुले दलितहरुलाई प्रयोग मात्र गरे,’ उनले भनिन्, ‘दलितको भोटलाई प्रयोग गर्ने बस्तु बनाए तर दलित समुदायको समृद्धिका लागि कहिल्यै काम गरेनन् ।’

कम्युनिस्ट, कांग्रेसले दलित समुदायलाई राजनीति गर्ने बाटो बनाइरहेको उनको आरोप छ । ‘एजेण्डा गरिब र सर्वहारा वर्गको परिवर्तनका लागि राख्ने गर्दछन्, जुन सुन्दा निकै आकर्षक हुन्छन् तर व्यवहारमा कहिल्यै लागु गरेनन्,’ उनी भन्छिन्, ‘दलित र गरिबलाई प्रयोग गरेर सत्तामा पुग्ने भर्‍याङ बनाएको कुरा मलाई फिटिक्कै मन परिरहेको थिएन ।’

उनी ठुला भनिएका रानजीतिक दलहरुले सर्वहारा वर्गमाथि अत्याचार गरिरहेको आरोप लगाउँछिन् ।

युवा नेतृ अनिसाको आवाज अब प्रतिनिधिसभामा गुञ्जिने छ । ‘समाजमा दबिएर रहेका आवाजहरु नै मेरो आवाज हुन्,’ उनी भन्छिन्, ‘भ्रष्टाचार विरुद्धमा संघर्ष गर्ने राप्रपाको नीति नै भएकाले हामी त्यो कुरामा सचेत छौं । त्यसको विरुद्धमा संसदमा बोल्ने छौँ ।’

उनले आफू पुरानै राजतन्त्रात्मक शासन जस्तो राजतन्त्रको पक्षमा नरहेको बताइन् । ‘हामीले पहिलेको जस्तै शासन चलाउने राजा चाहिएको भनेका हैनौं,’ उनले भनिन्, ‘एउटा अभिभावकीय रुपमा राजसंस्था हुनुपर्छ भन्ने भनाइ हो, हजारौँ राजा पाल्नुभन्दा एउटै राजा पाल्नु राम्रो होइन र ?’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप