सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

रञ्जित गजमेरको आत्मकथा ‘मोहनी मादल’ सार्वजनिक

सोमबार, ०४ पुस २०७९, १९ : २३
सोमबार, ०४ पुस २०७९

संगीतज्ञ रञ्जित गजमेरको आत्मकथा ‘मोहनी मादल’ सार्वजनिक भएको छ । राजधानीको प्रज्ञा प्रतिष्ठान डबलीमा सोमबार पुस्तक लोकार्पण भएको हो । पुस्तकलाई वी रिडले प्रकाशन गरेको छ ।

गजमेरका समकालीन पिटर जे कार्थककी पत्नी रञ्जना कार्थक, नोर्बु योञ्जनकी छोरी सुजाता, गजमेरका छोराछोरी सत्यजित, प्रिती लगायतले संयुक्तरुपमा पुस्तक विमोचन गरेका हुन्  ।

कार्यक्रममा गीतकार नगेन्द्र थापाले प्रवासी नेपालीको गीत लेखेर शरण प्रधानलाई संगीतका लागि अनुरोध गर्दा त्यही समूहमा गजमेरलाई भेटेको सम्झिए । १९६३ देखि गजमेरसँगको सङ्गत सुरु भएको भन्दै उनले ६० को दशक संगीतको उत्कर्षको समय रहेको बताए । अर्का गीतकार दिनेश अधिकारीले लक्ष्मीप्रसाद देवकोटाको कुन मन्दिरमा जान्छौ यात्रीलाई संगीतबद्ध गरेर गजमेरले जोखिम मोलेको बताए । 

‘चर्चित सिर्जना चलाउनु जोखिम हुन्छ, त्यो उहाँले जोखिम मोल्नुभयो र राम्रो सिर्जना दिनुभयो,’ उनले भने, ‘त्यसपछि म उहाँको फ्यान भएँ ।’ गजमेरकै कारण आफूले ५ वटा गीतमा धुनका आधारमा गीत तयार पारेको अधिकारीले सुनाए । ‘संगीतमा दिएको योगदानका कारण उहाँको आयु लामो हुने नै छ,’ उनले भने, ‘यो आत्मकथाले उहाँलाई अझ लामो आयु दिएको छ ।’

संगीतकार गजमेरले आफूले नेपाल र नेपालीका लागि संगीतका के कर्म गरे भन्ने प्रमाण पुस्तकमा रहेको बताए । काठमाडौँमा सुरुवाती दिनमा निकै संघर्ष गरेको स्मरण गर्दै उनले आफूलाई सहयोग गर्ने समकालीनहरूलाई सम्झिए । आफू अहिले नेपालमा आएर नेपालीमा कुरा गर्न पाएको भन्दै उनले निकै खुसी व्यक्त गरे ।

कार्यक्रममा गजमेरद्वारा संगीतबद्ध गीतहरू विभिन्न कलाकारले प्रस्तुत गरेका थिए । मोहनी लाग्ला है , तिम्रो मनमा लुकेको कुरा, चिसोचिसो हावामा, वीरताको चिनो, भुलिगए सम्झनालाई लगायत गीतले प्रतिष्ठानको डबली गुन्जायमान बनेको थियो I बाध्य वाधन तर्फ सुरज प्रधान, विक्रम कार्की, रुपेश सिङ, जे पि जोशी, भवन गन्धर्ब,  सञ्जीव मैनाली थिए । गायन तर्फ क्रमशः; विपिन, कर्म ग्याल्जेन, कमल किरण, नवीन गजमेर, बानीका प्रधान, शीला, जीना रसैली र टिका प्रसाई थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप