सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

स्वर्ण महोत्सवका अवसरमा हाइकुबारे विमर्श

बुधबार, ०६ पुस २०७९, ११ : ४९
बुधबार, ०६ पुस २०७९

साहित्यिक पत्रकार सङ्घको स्वर्ण महोत्सवको अवसरमा सङ्घले हाइकु वाचन तथा विमर्श कार्यक्रमको आयोजना गरेको छ । थाहा पुस्तकालय, काठमाडौँमा आयोजित सो कार्यक्रममा वक्ताहरूले नेपाली भाषामा लेखिएका अधिकांश हाइकुमा बाह्य संरचनामा मात्र ध्यान दिइएकाले स्तरीय हुन नसकेको धारणा व्यक्त गरेका थिए । उनीहरूले हाइकु ५, ७ र ५ को तीन पङ्क्तिको संरचना मात्र नभएको बताउँदै चित्र, बिम्ब वा प्रतीकात्मकता हाइकुको महत्त्वपूर्ण विशेषता भएको बताए । 
कार्यक्रममा हाइजिन तथा हाइकु अभियन्ता प्रा. रामकुमार पाँडेले हाइकुमा प्रकृतिका विभिन्न स्वरूप, दृश्य, भूगोल, वनस्पति, जीवजन्तुका रूपरङ र अवस्था कलापूर्ण र सौन्दर्ययुक्त भएर आउने बताए । उनले ६ वटा ऋतु हुने र जैविक विविधताका कारणले पनि नेपाल हाइकु लेखनका लागि उपयुक्त स्थान भएको धारणा पनि राखे । 

अर्का हाइजिन तथा हाइकु अभियन्ता पुष्कर लोहनीले हाइकुसम्बन्धी अध्ययनमा जोड  दिँदै ५, ७ र ५ अक्षरको संरचनालाई यथावत् राखी प्रकृतिपरक विम्बात्मक एवं चित्रात्मक हाइकु लेखनमा जोड दिनुपर्ने बताए । प्रकृतिपरक बाहेकका ५, ७ र ५ अक्षरका तीन पङ्क्तिको रचना सेन्यु भएकाले त्यसलाई सेन्यु नै भन्नुपर्ने धारणा उनको थियो । 

साहित्यकार प्रमोद प्रधानले सपाट वर्णन र सजिलो लेखनका कारण अधिकांश नेपाली हाइकु स्तरीय हुन नसकेको उल्लेख गरे । विधागत मान्यतालाई स्वीकार गरेर हाइकु लेख्नुपर्ने उनको धारणा थियो । 
हाइजिन तथा हाइकुको प्रवद्र्धनमा सक्रिय साहित्यकार चेतनाथ धमलाले नेपालमा हाइकुको विकासबारे चर्चा गर्दै यसको प्रवद्र्धनका लागि सामूहिक प्रयासको खाँचो औँल्याए । 

आयोजक संस्था साहित्यिक पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकालीले हाइकुलाई स्थापित गर्न लेख्नेहरूले यसलाई गम्भीर रूपमा लिनुपर्ने हुनाले विमर्श कार्यक्रमको आयोजना गरिएको बताए । 
सो कार्यक्रममा प्रमुख अतिथि पूर्वराजदूत एवं कवि भीम उदासले जापानी भाषा र नेपाली भाषामा रहेको विभिन्नताका कारण जापानी भाषामा जस्तै हाइकु नेपालीमा लेख्न गाह्रो हुने बताए । 
कार्यक्रममा जापानमा १५ वर्षभन्दा बढी समयदेखि बसिरहनुभएकि डा. बुनु दाहालले जापानको खान्जी भाषा र हाम्रो भाषाबीच धेरै फरक रहेको हुनाले जापानी भाषामा जस्तै गरी नेपाली भाषामा हाइकु लेख्न गाह्रो हुने धारणा राखिन् । 
नीता श्रेष्ठ नित्यनूरले सञ्चालन गरेको सो कार्यक्रममा दिव्य गिरीले स्वागत र मुरारी सिग्देलले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए । कार्यक्रममा पुष्कर लोहनी, रामकुमार पाँडे, भीम उदास, नरेन्द्रबहादुर श्रेष्ठ, दिव्य गिरी, मोहनबहादुर कायस्थ, ललिता दोषी, मुरारी सिग्देल, चेतनाथ धमला, वैरागी जेठा, निर्मलरमण पराजुली, नीता श्रेष्ठ नित्यनूर, विष्णु ओलीले आआफ्ना हाइकु वाचन गरेका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप