सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

नेपाल लिटरेचर फेस्टिभल : सांगीतिक महौलबीच दशौँ सँस्करणको सुरुवात

बिहीबार, ०७ पुस २०७९, २१ : ०९
बिहीबार, ०७ पुस २०७९

नेपाल लिटरेचर फेस्टिभलको दशौँ सँस्करण पोखराको लेकसाइडस्थित बाराही घाटमा सुरु भएको छ। करिब दुई सय वक्ता र हजारौँ सहभागीहरूको उपस्थिति रहने यस अन्तर्राष्ट्रिय फेस्टिभलको पहिलो दिन, उद्घाटन सत्रमा काठमाडौं विश्वविद्यालयका रजिस्ट्रार तथा अर्थशास्त्री डा. अच्युत वाग्लेले विद्वत्प्रवचन दिए ।

उनले 'नेपाल २०९०' शीर्षकमा दिएको मन्तव्यमा विशेष गरी नेपालले अपनाउनु पर्ने विकासको शैली र यहाँका सम्भावना एवं राजनीतिक र सामाजिक नेतृत्वले लिनु पर्ने बाटाबारे चर्चा गरेका थिए । 'सरल रेखाको परिकल्पनामा अबको एक दशकपछिको नेपाल निःसन्देह आशावादी छ। यो मुलुक अहिलेभन्दा धेरै समृद्धिशाली र गौरवशाली हुनेछ। जनताको भागमा पर्ने सुखको मात्रा र सुखानुभूति गर्ने आमजनताको सङ्ख्यामा बढोत्तरी हुनेछ। निश्चय नै आशाका किरणहरू पर्याप्त छन्,' उनले भने।

कार्यक्रमको सुरुवातमा नेपाल लिटरेचर फेस्टिभलका कार्यकारी निर्देशक नीरज भारीले स्वागत मन्तव्य राखेका थिए। उनले अतिथि एवं सहभागीहरूलाई स्वागत तथा धन्यवाद व्यक्त गरे। उनले भने,'सन् २०११ मा सुरु भएको फेस्टिभलले एक दशक लामो यात्रा तय गरेको छ। यस क्रममा सहयोग पुर्‍याउने सबैप्रति म आभारी छु। वर्ष बित्दै जाँदा यस फेस्टिभलको महत्त्व एक पर्वको रूपमा बढ्दै जाँदा निकै भावुक महसुस हुन्छ।'

उनले गण्डकी प्रदेश, पोखरा महानगरपालिका, गण्डकी प्रज्ञा प्रतिष्ठानलगायत सरोकारवाला निकायहरूले फेस्टिभल प्रति अपनत्व ग्रहण गरिदिए यस कार्यक्रमलाई थप प्रभावकारी रूपमा निरन्तरता दिन सकिने बताए।​ नीरज भारीले इङ्गित गरेको साथ तथा सहयोगप्रति सकारात्मक प्रतिक्रिया जनाए पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले । उनले फेस्टिभललाई पोखराको गौरवको विषयको संज्ञा दिए र आफूहरू सधैं साथ दिन तयार रहेको बताए ।

त्यस्तै गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्चीले साहित्यिक महोत्सवको महत्त्वबारे चर्चा गरे। गण्डकीको भाषा, संस्कृतिको प्रवर्द्धन तथा उत्थानका लागि बुकवर्म फाउन्डेसनसँगको सहकार्यलाई निरन्तरता दिने बताए। पहिलो दिन बाल विकास विज्ञ डा. मीनाक्षी दाहालसँग 'घरबाट स्कुलसम्मू शीर्षकमा फिशटेल एकेडेमीका कार्यकारी निर्देशक दिनकर नेपालले छलफल गरे। उनीहरूले बालबालिकाको विकासक्रममा अपनाउनु पर्ने संवेदनशीलतालगायत विविध पक्षहरुबारे अन्तरक्रिया गरेका थिए।

एउटै विद्यालयमा गइरहेका बालबालिकाले पनि आफ्नो वर्गअनुसार फरक कक्षा कोठा, फरक शिक्षकको शिक्षा लिनुपर्ने अवस्था रहेको डा. दाहालको भनाई छ। उनले एउटै विद्यालयमा फरक तरिकाले सिकाइ विधि अपनाउँदा विद्यालयबाटै वर्गीय उत्पादन भइरहेको बताइन्। सरकारी नियमन, मापदण्ड नबनाइदिँदा अहिले स्कुल नै वर्गीय उत्पादन हुने देखिन्छ। सिकाइको खाडल त्यहीबाट सुरु भएको देखिन्छ,’ डा दाहाल भन्छिन्, ‘निजी विद्यालयको सिको गरेर अङ्ग्रेजी बनाउने, प्रवेश परीक्षा लिनुपर्ने गर्न थालेका छन् । यो एकदमै विभेद छ, वर्गीकरण छ ।’

कार्यक्रममा वरिष्ठ संगीतकार गोपाल योञ्जनका गीतहरूको सांगीतिक प्रस्तुतिसमेत भयो। उक्त कार्यक्रममा कवि नवराज पराजुलीले योञ्जनका कृतिहरू वाचन गरे। त्यस्तै उज्ज्वल सागर, बानिका प्रधानलगायत गायकहरूले उनको गीत गाए।​ फाइनप्रिन्टद्वारा प्रकाशित गोपाल योञ्जनका गीतहरूको सङ्ग्रह गोपालय  समेत उक्त कार्यक्रममा लोकार्पण गरियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप