मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

चिसो बढ्यो, बिरामीको सङ्ख्या घट्यो

शुक्रबार, ०८ पुस २०७९, २२ : २१
शुक्रबार, ०८ पुस २०७९

चिसोयाम बढेसँगै कान्ति बाल अस्पतालमा बहिरङ्ग सेवा लिने बिरामीको सङ्ख्या आधाले घटेको छ । अहिले दैनिक छ सय बिरामीले बहिरङ्ग सेवा लिने गरेका छन् । गर्मी मौसममा एक हजार बढीले बिरामीले बहिरङ्ग सेवा लिने गरेका थिए । 
अस्पतालका निर्देशक डा युवानिधि बसौलाका अनुसार चिसोयाममा श्वासप्रश्वास र पखालाका बिरामी फाट्टफुट्ट मात्र आउने गरेका छन् । उनले भने, “गर्मी समयमा ज्वरो र पखालालगायत बिरामी बढी आउँछन् । अहिले निमोनिया, रुघाखोकी र कोल्ड डाइरियाका समस्याका बिरामी आइरहेका छन् । तर बहिरङ्ग सेवा लिने बिरामीको सङ्ख्या एक हजारबाट छ सयसम्म झरेको छ ।”

तुलनात्मकरुपमा चिसोमा बिरामी कम हुने उनी बताउँछन् । चिसोयाममा काठमाडौँ बाहिरबाट सिफारिस भएर आउने बिरामीको सङ्ख्यासमेत कम हुने उनको भनाइ छ, “गर्मी मौसममा काठमाडौँ उपत्यका बाहिरबाट रिफर भएर आउने बिरामी धेरै हुन्छन् । चिसोयाम लागेपछि त्यो सङ्ख्या कम हुँदा पनि बिरामी कम देखिएको हो ।” 

उनी थप्छन्, “नजिकको फार्मेसी र क्लिनिकमा गएर औषधि उपचार गराउने धेरै छन् । सास फेर्न गाह्रो भएपछि, खाना खान छोडेपछि र कोखा हानेपछि मात्र अस्पताल ल्याउने प्रचलन छ ।” यस्तै रोटाभाइरस र निमोनियाविरुद्ध खोपको प्रयोगका कारण पनि बिरामी बालबालिकाको सङ्ख्या कम भएको हुनसक्ने उहाँको अनुमान छ । तर अस्पतालमा बिरामी भर्नाको दर घटेको छैन । उनी भन्छन्, “भर्नादर चाहिँ घटेको छैन । आकस्मिक र शल्यक्रियाका लागि अस्पतालका शय्या खाली छैनन् ।” 

महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा पनि बहिरङ्ग सेवा लिने बिरामीको सङ्ख्या घटेको छ । अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीका अनुसार अहिले दैनिक दुई हजार बिरामीले बहिरङ्ग सेवा लिइरहेका छन् । उनी भन्छन्, “बिहीबार एक हजार नौ सय तीन जनाले बहिरङ्ग सेवा लिएका छन् । अहिले धेरैमा दुई हजारसम्म बिरामीले बहिरङ्ग सेवा लिने गरेका छन् ।”

उनका अनुसार सामान्य समयमा दुई हजार पाँच सय बिरामीले बहिरङ्ग सेवा लिन्छन् । अस्पतालमा  मेडिसिन, गाइनो र अर्थोपेडिक्सका बिरामी धेरै छन् । “मौसमी रुघाखोकी र फ्ल्यूको समस्या लिएर आउने बिरामी पनि छन् । यस्ता श्वासप्रश्वासका समस्या लिएर आउने बिरामीको सङ्ख्या दैनिक ३० देखि ४० जनासम्म छन्”, उनले जानकारी दिए । 

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका कन्सल्टेन्ट फिजिसियन मिलन बज्राचार्यले बहिरङ्गमा सेवा लिने बिरामीको सङ्ख्याले मौसमी रुघाखोकीको यकिन अवस्थाबारे आङ्कलन गर्न नसकिने बताए । उनी भन्छन्, “कतिपय बिरामीले घरेलु उपचार गरेर बस्नुहुन्छ । अन्यले नजिकैको क्लिनिकबाट उपचार गर्नुहुन्छ । त्यसपछि पनि निको नभएपछि मात्र अस्पताल आउनुहुन्छ । त्यसैले मौसमी रुघाखोकी र फ्ल्यूका बिरामी कति छन् भन्ने अस्पतालको तथ्याङ्कले पुष्टि गर्दैन ।”

उनी थप्छन्, “अहिलेको रुघोखोकी कडा जस्तो देख्छु । अस्पतालसम्म आउने बिरामीलाई दुई हप्ता बढीसम्म च्याप्ने गरेको देखिएको छ । अहिले रुघाखोकी हुँदै निमोनियाबाट ग्रसित दुईजना आइसियुमा हुनुहुन्छ ।” उनका अनुसार अस्पताल आउने ६० देखि ७० बिरामीको सङ्ख्यामा १२ जनासम्म बिरामी श्वासप्रश्वासको हुने गरेका छन् । 

चिसोमा भीडभाड कम हुने र सङ्क्रमण गराउने भाइरस र ब्याक्टेरीयालगायत कम सक्रिय हुनाले चिसोमा बिरामीको सङ्ख्या तुलनात्मक रुपमा कम हुने गरेको चिकित्सक बताउँछन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप