सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सेटिङको गोलचक्कर

शनिबार, ०९ पुस २०७९, १० : ०६
शनिबार, ०९ पुस २०७९

‘सेटिङ’ शब्द केही समयअघि मात्र बोलीचालीको भाषामा आएको देखिन्छ । साधारण मानिसले यसको अर्थ नबुझे पनि यसको भाव भने सबैले बुझेकै जस्तो लाग्छ । यो अङ्ग्रेजी शब्द अहिले पूरै नेपालीकरण भइसकेको छ । 

सेटिङको अर्थ नेपालीमा गोप्य रूपमा मिलेमतो गर्नु हो । तर यसोभन्दा कसैले बुझ्न सक्दैन । किनभने यसलाई हामीले नेपाली शब्द बनाइसकेका छौँ । सेटिङ भन्नेमा नै बानी बसिसकेको छ । बुझ्न पनि सेटिङ नै सजिलो छ । अहिले त यो शब्द सबैको जिब्रोमा बसिसकेको छ ।

भुइँमान्छेका लागि यो सेटिङ शब्दले खासै महत्त्व राखेको हुँदैन । यो शब्द ठूलाबडाका लागि मात्र बनेको हो । त्यसैले आजकाल बारम्बार प्रयोग भइ नै रहेको छ । भित्रभित्र कसरी प्रयोग हुँदो रहेछ भन्ने कुरा सबैको कौतुहलको विषय बन्दो रहेछ । बाहिर आए पो कौतुहल मेटिन्थ्यो । अहं, ल्याइँदै ल्याइँदो रहेनछ । कसैले भनिदियो भने वित्यास परिहाल्छ भनेर गोप्यता कायम गरिँदो रहेछ । खोजतलास गरे पनि पत्तै लगाउन नसकिने । कस्तो अचम्मको रहेछ त यो सेटिङ भन्ने शब्द ।

यो सेटिङ शब्द अहिले जोसुकैको मुखमा झुन्डिएको छ । यस्तो विकृति कसले ल्यायो त भन्ने पनि आउन सक्छ । यो सामान्य मानिसले ल्याएकै होइनन् । यो त ठूला ठूला दिग्गज व्यक्तिको दिमागमा खाइखेली गरेको शब्द रहेछ । विचरा तपाईं हामी जस्ताका लागि किन आवश्यक पर्यो र ? न धन कमाउनु छ ? न त राजनीति नै गर्नु छ । यो ठूलै शक्ति र सत्तामा बस्नेहरूले प्रयोगमा ल्याउने शब्द रहेछ । उनीहरूले ल्याएको हुनाले नै साधारण मानिसहरूले थाहा पाउन नसकेका हुन् ।

जहाँ स्वार्थको खेल खेल्नु छ, जहाँ शक्तिको खेल खेल्नु छ, जहाँ पैसाको खेल खेल्नु छ, जहाँ छलकपट गर्नु छ, जहाँ अरूलाई धोकावाजी दिनु छ, जहाँ अर्काको सम्पत्ति हडप्नु छ, त्यहाँ सेटिङले डेरा जमाएको हुँदो रहेछ । 

यो सेटिङलाई खेलाउन अरूले सक्दै सक्दा रहेनछन् । जो शक्तिशाली छ, उसैले खेलाउन सक्दो रहेछ । भुइँमान्छेले त चिताउनै नपर्दो रहेछ । अर्को कुरा सेटिङले उनीहरूलाई चिन्दै चिन्दो रहेनछ । चिनेर पनि के काम लाग्यो र ? यदि त्यसलाई चलाउन सकिँदैन भने ।

यो शब्दको संरचनाको अध्ययन गर्दा सेटबाट सेटिङ भएको देखिन्छ । सेट भनेको टाँसिनु, नउप्किनु, कमजोर नहुनु र अखण्ड भएर सधैँ रहिरहनु हो । तर, दुर्भाग्य कहिलेकाहीं यो बिग्रिन पुग्दो रहेछ । 

किनकि सेटिङ राम्रोसँग जम्न वा बस्न नसकेर कमजोर बन्दो रहेछ । जस्तो घरको ढलान गर्दा राम्रोसँग सिमेन्ट, बालुवा, गिट्टी, पानीको अनुपात मिलाउन सकिएन भने ढलान चुहिने हुन्छ । अर्थात् सेटिङ राम्रोसँग बसेको हुँदो रहेनछ । घर बनाउन नपाउँदै मर्मत गर्नुपर्ने हुन्छ । यो सामान्य अर्थ हो । तपाईं हामीले बुझ्ने । 

तर ठूला बडाले गर्ने सेटिङ भनेको अर्कै हो । जुन सेटिङले व्यक्तिलाई मात्र होइन, राष्ट्रलाई नै दुःख दिएको हुन्छ । सेटिङका कारणले गर्दा अहिले धेरै मानिसले दुःख पाएका छन् । राष्ट्रले दुःख पाएको छ । जे हुनुपर्ने हो, त्यो नभएपछि र जे नहुनुपर्ने हो, त्यो भएपछि दुःख नभए अरू के पो हुन्थ्यो र ?

अहिले सेटिङ मूलतः न्यायालय, ठेक्कापट्टा, राजनीति दलहरूलगायत अन्य महत्त्वपूर्ण जिम्मेवारीमा भएकाहरूसँग सम्बन्धित रहेको देखिन्छ । यही सेटिङका कारणले गर्दा सर्वोच्च अदालतका प्रधान न्यायाधीश निलम्बनमा परे । लामो अवधि भइसक्दा पनि न उनी उपर कारबाही चल्यो, न त बहाली नै हुन सक्यो । यस्तो अवस्था सिर्जना हुनु भनेको पहिले बनेको सेटिङ बिग्रिनुलाई लिन सकिन्छ होला । 

त्यसैले, नेपाली काँग्रेसले एमालेलाई दोष दिने, एमालेले नेपाली काँग्रेसलाई दोष दिने गरेका छन् । यसमा न्यायालय बोल्ने कुरा नभए पनि उसका आफ्नै रिजर्भेसन हुन सक्छन् । अहिले देखिएको सेटिङ भनेको सर्प, भ्यागुतो र बिच्छी एकै ठाउँमा भएको अवस्था जस्तो हो । एकले अर्कोलाई देख्न नसक्ने तर आक्रमण पनि गर्न नसक्ने । त्यसैले तै चुप, मै चुप भएका छन् । सबै सबै सेटिङमा फसेपछि कसले कसलाई कारबाही गर्ने ? 

सेटिङको कुरा गर्ने हो भने नेपालमा यस्ता डरलाग्दा घटना धेरै आउने गरेका छन् । केही समयअघि निकै चर्चामा आएको र अहिले सेलाउँदै गएको बालुवाटार जग्गा प्रकरणलाई लिन सकिन्छ । 

बालुवाटार जग्गा प्रकरणमा ठूलाठूला मान्छेको संलग्नता भनिएको थियो । आफू फसिन्छ कि भनेर एउटा ठूलै नेताले त आफूले किनेको जग्गा नै सरकारको नाममा फिर्ता गरिदिए र आफू पानी माथिको ओभानो हुन पुगे । उच्च पदस्थ कर्मचारी, उच्च राजनीतिकर्मी, उच्च व्यापारी, उच्च विचौलिया र यस्तै अन्य उच्चहरूको साँठगाँठबाट सञ्चालित यो राज्यको सम्पत्ति हडप्ने घटनालाई गम्भीर रूपमा लिएको देखिँदैन । किन लिइएन सबैलाई थाहा छ– सेटिङमा कसिएको जोड घटाउ ।

नेपालमा सेटिङ भई नै रहेको देखिन्छ । यसअघि पनि लाउडा, धमिजा, आयल निगमको जग्गा प्रकरण, ओम्नी, ३३ किलो सुनकाण्ड, चूडामणि शर्मासँग सम्बन्धित कर फस्र्योट आयोगले फस्र्योट गरेको ठूलो धनराशीको रकम, वाइडबडी खरिद प्रकरण, एनसेलको पुँजीगत लाभकर, तारागाउँको जग्गा काण्डजस्ता ठूला र देशकै आर्थिक अवस्था डुबाउनेजस्ता जघन्य काण्डहरू चर्चामा आएका छन् ।  

तत्काल कारबाही गर्नेजस्तो बहाना सरकारले देखाए पनि हाल यी सबै काण्डहरू सेलाउँदै गएको अवस्था छ । उच्च तहले भ्रष्टाचार गर्ने र उच्च तहबाटै कारबाही नचलाउने हुँदा यी सबै काण्डहरू अन्ततोगत्वा सेलाउँदै जाने परिपाटीले प्रश्रय पनि पाउँदै आएको सन्दर्भमा भ्रष्टाचारसम्बन्धि कारबाही केवल औपचारिकतामा मात्र सीमित हुन गएको छ । 

यी केही प्रतिनिधिमूलक काण्डहरूलाई सरकारले मुद्दा चलाई टुङ्गोमा पुर्याउन सके पनि सरकारप्रति जनताको विश्वास बढ्न जाने थियो । तर अवस्था त्यस्तो देखिँदैन । किनकि मुद्दा सेलाउँदै जानु भनेको यी सबै सिमेन्ट जमेका जस्तो गरी सेटिङ भइ नै सकेका छन् ।

सेटिङ भनेकै उच्च तह तथा कुलीन वर्गसँग जोडिएको हुँदो रहेछ । केही महिनाअघि यस्तै सेटिङको समाचार आएको थियो । मधेस प्रदेशले साइकल खरिद गरेको प्रकरणले एक पटक खुबै चर्चा पाएको थियो । ठूलै घोटालाको कुरा आएको थियो । करोडौँ करोडको भ्रष्टाचार भएको आशङ्कामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान सुरु पनि गरेको थियो । पछि उच्च वर्गबाटै विरोध पनि भएको थियो । अहिले यो घटना त्यसै सेलाउँदै गएको अवस्थामा छ । कतिले त सफाइ नै पाइसके ।

लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरणले अस्पताल निर्माणको लागि ठेक्का आह्वान गरेको थियो । तर ठेक्कामा केही निश्चित कम्पनीहरूलाई मात्र मिल्ने गरी सेटिङ गरेर बोलपत्र माग गरियो भन्ने समाचार आएको थियो । मर्का पर्ने पक्षले अदालतमा मुद्दा हालेका र अहिले अदालतबाट ठेक्कापट्टा अघि नबढाउनु भन्ने अन्तरिम आदेश जारी भयो । यसरी सेटिङ भन्ने कुरा कुनै निश्चित क्षेत्रमा मात्र नभई यसको सञ्जाल विभिन्न क्षेत्रमा फैलिँदै गएको देखिन्छ ।

यसबाट यो बुझ्न सकिन्छ नेपालमा निकै डरलाग्दा घटना घट्छन् र सेलाउँदै पनि छन् । यसलाई यसरी पनि भन्न सकिन्छ कि नेपालमा ठूला ठूला मुद्दा उठान हुन्छन् तर टुङ्गोमा पुर्याइँदैनन् । किन यस्तो हुन्छ ? सबैलाई थाहा भए पनि प्रश्न अनुत्तरितै छ– हैन ! वास्तवमा के हो यो सेटिङ भनेको ?

लेखक नेपाल सरकारका पूर्वउपसचिव हुन् 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप