सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

मध्यपहाडी लोकमार्ग सहरमा झारेको भन्दै पोखरा महानगरविरुद्ध प्रदर्शन

शनिबार, ०९ पुस २०७९, ११ : ००
शनिबार, ०९ पुस २०७९

लामो समय अन्योलमा रहेको मध्यपहाडी लोकमार्गअन्तर्गत कास्कीको भैंसे–याम्दी खण्डको रुट टुङ्गिएको छ । आयोजनाले यसअघिको प्रस्तावित भैँसेबाट कसेरी हुँदै मनिपालबाट याम्दी जोड्ने रुटलाई संशोधन गरेर मौजा, अर्मला हुँदै याम्दीमा जोडेको हो । उक्त रुटको टेन्डर आह्वान समेत भैसकेको छ  । साढे ३५ किलोमिटर उक्त खण्डमा करिब ४ अर्ब खर्च हुने प्रस्ताव छ । 

तर, पोखरा १६ का बासिन्दाले रुट गलत मनसायबाट टुङ्ग्याइएको भन्दै विरोध जनाएका छन् । स्थानीयको मर्मविपरित आयोजना अगाडि बढाएको भन्दै उनीहरुले पोखरा महानगरमा धर्ना दिएका छन् । स्थानीयलाई जानकारी नगराई पुनः रुट संशोधन गरेको भन्दै मध्य पहाडी लोकमार्ग सहरमा नझार्न उनीहरूको माग छ । 

माग पूरा गर्न स्थानीयले सङ्घर्ष समिति नै बनाएका छ । माग सुनुवाइ नहुँदासम्म महानगरको कार्यालय अगाडी धर्ना दिने समितिका सचिव सन्दीप थापाले बताए । ‘राष्ट्रिय गौरवको आयोजना बन्दा स्थानीयलाई थाहा हुनुपर्छ कि पर्दैन ? सुटुक्क रेखाङ्कन गरेर टेन्डर निकालिएको छ,’ उनले भने, ‘आयोजनाले जग्गाधनी, पर्यटकीय ठाउँ र स्कुललाई समेत वास्ता गरेको छैन । यसका विरुद्ध हामी निरन्तर सङ्घर्ष गर्छौँ ।’ 

आयोजनाबाट व्यक्तिहरूको उठिबास लाग्ने र सुकुम्वासी बन्ने उनीहरूको गुनासो छ । लमजुङको सीमानादेखि भैँसेसम्म र याम्दीदेखि पर्वतको सीमाना नयाँपुलसम्म काम करिब अन्तिम चरणमा छ । भैँसेदेखि याम्दी खण्डमा भने रुट छनोटमा ढिलाई हुँदा काम अघि बढ्न नसकेको हो । सुरुमा भैँसेबाट लेखनाथ निकाल्ने प्रस्ताव थियो । त्यसपछि पनि विभिन्न ५ वटा रुटमा छलफल भयो । अन्ततः भैँसेबाट ज्याम्दु हुँदै आँटीघर निकालेर अर्मलाकोटबाट महेन्द्रगुफा र त्यहाँबाट याम्दी जोड्ने गरी मङ्सिर १४ गते टेन्डर प्रकाशन गरिएको हो । –​न्युज कारखाना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप