सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

अविरलको ‘गोर्खे’ सार्वजनिक

आइतबार, १० पुस २०७९, ११ : १४
आइतबार, १० पुस २०७९

उपन्यासकार ग्रीष्म अविरलको ‘गोर्खे’ उपन्यास सार्वजनिक भएको छ । नेपाल लेखक सङ्घले आयोजना गरेको कार्यक्रममा प्रगतिशील लेखक सङ्घका अध्यक्ष डा. मधुसूदन गिरीले सो उपन्यासको विमोचन गरेका हुन् । 
उक्त कार्यक्रमलाई  सम्बोधन गर्दै डा. गिरीले नेपाली साहित्यमा नयाँ कृति जन्मिएको र अविरलको लेखन आकर्षक रहेको बताए । उनले भने, ‘अर्ध–डायस्पोरिक कृतिका रूपमा गोर्खे आएको छ । यसमा नेपाली समाजको कलात्मक चित्रण पाइन्छ ।’ 

अखिल नेपाल लेखक सङ्घका अध्यक्ष डा. धनप्रसाद सुुवेदीले गोर्खे विदेशमा काम गर्ने नेपालीको अर्को नाम भएको बताए । उनले भने, ‘देवकोटाको मदन रुपैयाँ कमाउन ल्हासा गएको थियो । देवकोटा स्वयम् पनि केही समय भारतको वनारसमा बसेर जीविका चलाएका थिए । प्रस्तुत उपन्यासको गोर्खे जागिर खान भारतको नागाल्यन्ड गएको छ । यसका उपन्यासकार स्वयम् पनि जागिर खानका लागि अफ्रिकातिर पुगेका छन् ।’ सुवेदीले उपन्यासमा गोर्खेका रूपमा नेपाली जीवनको कथा भनिएको विचार व्यक्त गरे । उनले नेपाली समाजको यथार्थ पक्षलाई उपन्यासले केलाएको जिकिर गरे ।

ओरिएन्टल प्रकाशनले बजारमा ल्याएको सो कृतिबारे समीक्षा प्रस्तुत गर्दै समालोचक तेजविलास अधिकारीले भाषाशैली र भौगोलिक यात्रालाई मात्र केन्द्रबिन्दु बनाएर हेर्दा उपन्यासमा स्थानीय रङको सुन्दर चित्रण गरिएको बताए । उनले भने, ‘उपन्यासको कोटिमा राख्न सकिन्छ । यसमा मान्छेका साझा सुखदुःख र चाहनाहरूलाई खुलेर व्यक्त गर्ने पात्रहरू काल्पनिक भए पनि वास्तविक लाग्छन् ।’

समालोचक अधिकारीले समयका हिसाबले कालु पाण्डे, दामोदर पाण्डे आदिको कालखण्डको स्मरणदेखि वर्तमान समयलाई उपन्यासले छोएको छ भने राजनीतिक परिवेशका हिसाबले सामन्तवादी समाजदेखि राणा, पञ्चायत, बहुदल–जनयुद्धकाल र गणतन्त्रकालसम्मलाई सिलसिलाबद्ध रूपमा चित्रण गरेको बताए । उनले उपन्यासभित्र धेरै हिसाबले विषयको विन्यासलाई कलात्मक बनाउने कोसिस गरिएको सुनाए । उनले भने, ‘जम्मा चौध वर्षको उमेरमा घर छोडेर हिँडेको गोर्खेको झन्डै छ दशक अर्थात् सम्पूर्ण जीवन कहानी यस उपन्यासका कथ्य र विश्लेष्य विषय बन्न पुगेको छ । उपन्यासमा मनकुमारी, चमेली, आसामी युवती, गोमा, रिनादेवी जस्ता नारी पात्रहरू क्रमशः गोर्खेको व्यक्तित्वले आकर्षित भई कुनै न कुनै हिसाबले सम्पर्कमा आउँछन् ।’

सो कार्यक्रममा लेखक डा. कौशिला रिसालले नेपाली समाजको वास्तविकतालाई उपन्यासले कलात्मक रूपमा उनेको बताइन् । उपन्यासकार ग्रीष्म अविरलले कृति पहिलो भएकाले धेरै कुरा छुटेका सक्ने भन्दै आगामी दिन अझ सशक्त ढङ्गले लेखनमा आउने विचार व्यक्त गरे । 

सो कार्यक्रममा कलाकार जुलुमलाल चित्रकार, साहित्यकार शीतल गिरि, जसध्वज गुुरुङ, राधेश्याम लेकाली, खोलाघरे साहिंलो, जय छाङ्छा, शिवराम खड्का, गणेश खतिवडा, बखतबहादुर थापा, राधा दुलाल कार्की, डा. विष्णुु राई, सङ्गीता थापा, प्रकाश तिवारीलगायतको उपस्थिति थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप