आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

देउवाले जिद्दी गर्नुको साटो समझदारी देखाउनुपर्थ्यो : पूर्व भारतीय राजदूत

‘सबैभन्दा ठुलो जित केपी ओलीको हो’
सोमबार, ११ पुस २०७९, १५ : ०९
सोमबार, ११ पुस २०७९

नेपालका लागि पूर्व भारतीय राजदूत रञ्जित रेले नयाँ सत्ता गठबन्धन बन्नु नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको जीत भएको टिप्पणी गरेका छन् । बीबीसी हिन्दीसँग कुराकानी गर्दै रेले भने, ‘यसमा सबैभन्दा ठुलो जित केपी ओलीको हो । उहाँ प्रतिपक्षमा हुनुहुन्थ्यो, अहिले एक्कासि सत्ताको केन्द्रमा पुग्नुभएको छ । ओलीले आफ्नो राष्ट्रपति, सभामुख बनाउने र बाँकी राजनीतिक नियुक्ति पनि उहाँकै हातमा हुनेछ । राजदूत नियुक्तिमा पनि ओलीकै चल्नेछ ।’

अर्कोतर्फ नेपाली कांग्रेस जितेर पनि हारेको उनको भनाई छ । ‘अब नेपाली कांग्रेससँग केही छैन । कुनै प्रदेशमा पनि कांग्रेसको सरकार बन्दैन । प्रचण्ड सहमत नभएको भए देउवाले उनलाई प्रधानमन्त्री बन्नुपर्थ्यो । नेपाली कांग्रेसका धेरै सांसद थिए र प्रचण्डलाई प्रधानमन्त्री बनाएको भए पनि उनको मनमानी चल्ने थिएन ।’

रे भन्छन्, ‘देउवा डेढ वर्ष प्रचण्डको समर्थनबाटै प्रधानमन्त्री भएका थिए । शेरबहादुर देउवा पाँच पटक प्रधानमन्त्री भइसकेका छन् । यस्तो अवस्थामा उनले जिद्दी हुनुको साटो समझदारी देखाउनुपर्थ्यो ।’

प्रचण्ड प्रधानमन्त्री भए भारतलाई कस्तो होला ? भन्ने प्रश्नमा रे भन्छन्, ‘नेपाली कांग्रेस र प्रचण्डको गठबन्धन कायम भएको भए राम्रो हुन्थ्यो । नेपालका सबै कम्युनिस्ट पार्टीहरू एकजुट हुनु चीनका लागि सधैँ राम्रो हो । ओली र प्रचण्डको पनि भारतसँग राम्रो सहकार्य थियो तर नेपालमा कम्युनिष्टहरुको एकता भएपछि चीनलाई डिल गर्न सहज हुन्छ ।’

सरकारको स्थायित्वबारे रे भन्छन्, ‘प्रधानमन्त्री बनेको दुई वर्षसम्म अविश्वासको प्रस्ताव आउँदैन । यस्तो अवस्थामा प्रचण्ड दुई वर्षसम्म प्रधानमन्त्री रहनेछन् । दुई वर्षपछि के हुन्छ, अहिले नै भन्न गाह्रो छ ।

तर सम्पूर्ण घटनाक्रममा नेपाली कांग्रेसको अपरिपक्वता बाहिर आएको छ । सबैभन्दा पहिले देउवाले प्रचण्डसँग चुनावमा तालमेल गर्नु हुँदैनथ्यो । प्रचण्डसँगको गठबन्धनले नेपाली कांग्रेसका समर्थकमा निराशा छाएको छ । त्यसले नतिजालाई पनि असर गर्‍यो । गठबन्धन गरेपछि प्रचण्डको भए मन बुझ्नुपर्ने थियो । प्रचण्डलाई प्रधानमन्त्री बनाउन नचाहेको भए देउवाले ओलीसँग सम्पर्क राख्नुपर्ने थियो । अब सबै कुरा नेपाली कांग्रेसको हातबाट फुत्किसकेको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप