मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

अपाङ्गतामैत्री प्रजनन् स्वास्थ्य तथा सुरक्षित मातृत्व सेवा सम्बन्धी निर्देशिका सार्वजनिक

सोमबार, ११ पुस २०७९, २० : १२
सोमबार, ११ पुस २०७९

अपाङ्गतामैत्री प्रजनन् स्वास्थ्य तथा सुरक्षित मातृत्व सेवा सम्बन्धी निर्देशिका २०७९ सार्वजनिक भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाले निर्देशिका सार्वजनिक गरेको हो ।

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ को दफा ४० ले दिएको अधिकार प्रयोग गरी निर्देशिका तयार पारिएको परिवार योजना तथा प्रजनन् स्वास्थ्य शाखा प्रमुख कविता अर्यालले बताइन् ।

अपाङ्गतामैत्री सेवा सञ्चालन सन्दर्भमा प्रत्येक स्वास्थ्य संस्थाबाट प्रदान हुने सेवा अपाङ्गतामैत्री हुनुपर्ने निर्देशकामा उल्लेख छ । निर्देशिकामा अपाङ्गताका वर्गीकरण अनुसार अनुकुल र उपयुक्त विधिबाट सेवाका बारे जानकारी गराई सेवाग्राहीलाई आफै निर्णयमा पुग्न सहयोग गर्नुपर्ने उल्लेख छ । 

सेवाग्राहीको मनोवल गिराउने, असहज लाग्ने वा आत्म सम्मानमा ठेस पुग्ने र विभेद महसुुुस हुने शब्द, हाउभाउ वा संकेत प्रयोग गर्न नहुने, सेवाग्राहीलाई सेवा प्रदान गर्दा अपाङ्गता भएका व्यक्तिका बारेमा विचार व्यक्त गर्दा, टिप्पणी गर्दा, प्रस्तुतीकरण गर्दा वा कुराकानी गर्दा अनुसूची ३ अनुसारका अपाङ्गता सम्बन्धी सही शब्द प्रयोग गर्नुपर्ने निर्देशिकामा उल्लेख छ ।

निर्देशिकामा स्वास्थ्य संस्थाबाट सेवा प्रदान गर्दा गोपनीयता कायम हुने व्यवस्था हुनुपर्ने, पूर्ण अशक्त अपाङ्गता भएका सेवाग्राहीलाई प्राथमिकता राखी सेवा दिइने उल्लेख छ । पहुँचयुक्त संरचना, पहुँचयुक्त स्वास्थ्य शिक्षा, सूचना सञ्चार सामग्री अपाङ्गता मैत्री बनाइने पनि प्रतिबद्धता जनाइएको छ ।

कार्यक्रममा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दिपेन्द्ररमण सिहंले  अपाङ्गतामैत्री प्रजनन् स्वास्थ्य तथा सुरक्षित मातृत्व सेवा सम्बन्धी निर्देशिका २०७९ सार्वजनिक गरेको दिनबाट आगामी तीन महिनाभित्र कार्यान्वयनबारे अनुगन गर्न निर्देशन दिएका छन् । यस निर्देशिकालाई देशभर दुई महिनाभित्र जानकारी गराइसक्न समेत महानिर्देशक डा. सिंहले निर्देशन दिएका छन् ।

परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेक लालले निर्देशिका जारी गरिएलगत्तै कार्यान्वयनमा गएको बताए । अपाङ्गतामैत्री प्रजनन् स्वास्थ्य तथा सुरक्षित मातृत्व सम्बन्धमा उल्लेखित कुरा व्यवहारमा कार्यान्वयन र अनुगमनमा लाग्ने प्रतिबद्धता पनि उनले जनाए ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले अपाङ्गतामैत्री प्रजनन् स्वास्थ्य तथा सुरक्षित मातृत्व सेवा सम्बन्धी निर्देशिका कार्यान्वयन गर्न सबै पक्षको एकआपसमा समन्वय हुन आवश्यक पर्ने बताए ।

अपाङ्गता भएका व्यक्तिलाई गरिने विभेद अन्य गर्न समन्वय र सहकार्य बिना एकपक्षीय तवरबाट अघि बढ्न नसिकने उनको भनाइ थियो ।

राष्ट्रिय शिक्षा सूचना सञ्चार केन्द्रका निर्देशक डा सुनिलकुमार शर्माले नेपाल सरकार, प्रदेश र स्थानीय तहले सेवाग्रहीलई पहुँचयुक्त बनाउन अनुसूची ५ अनुसार हुने गरी प्रजनन् स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार सामग्री सेवाग्राहीको पहूँच हुने गरी लैजाने बताए ।

उनले प्रजनन् स्वास्थ्य सम्बन्धी स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार जानकारीहरु युनिकोडमा राख्ने, वेवसाईटमा राखिने जानकारी मुलक सामग्रीहरु पहुँचयुक्त, पीडीएफ फर्म, ठुलो फन्ट र चित्रात्मक संकेतसहित राखिने बताए ।

कार्यक्रममा स्वास्थ्य सेवा विभागको नर्सिङ महाशाखा निर्देशक प्रा गोमा निरौलाले अपाङ्गतामैत्री प्रजनन् स्वास्थ्य तथा सुरक्षित मातृत्व सेवा सम्बन्धी निर्देशिका कार्यान्वयन गर्ने प्रतिवद्धता जनाइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप