सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

बालकविता सङ्ग्रहमाथि परिचर्चा

मङ्गलबार, १२ पुस २०७९, १२ : ४३
मङ्गलबार, १२ पुस २०७९

अखिल नेपाल लेखक सङ्घको आयोजनामा पुतलीसडकस्थित पद्मोदय माविमा ‘बातलाबा’को २४औँ शृङ्खलामा कवि शेखर अर्यालको ‘काकालाई चिठी’ कवितासङ्ग्रह र ‘कलम’ बाल कवितासङ्ग्रहमाथि परिचर्चा गरिएको छ ।

अखिल नेपाल लेखक सङ्घका अध्यक्ष धनप्रसाद सुवेदीकोे अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा डा. शेखरकुमार श्रेष्ठले ‘काकालाई चिठी’ सङ्ग्रहमा प्रगतिशील विचारका कविताका साथै राजनीतिक, सामाजिक तथा वैदेशिक हस्तक्षेपको विरोध रहेको बताए । उनले न्याय, सञ्चार र देशप्रेमका कविता सशक्त रूपमा आएको बताए । उनले भने, “राजनीतिक विषय क्षेत्रका कविता धेरै छन् । देश प्रजातन्त्रबाट गणतन्त्रमा प्रवेश गरे पनि वास्तविक परिवर्तन नभएको र देश विकासका लागि अब अर्को क्रान्ति आवश्यक भएको अभिव्यक्त कवितामा छ ।” सर्वहारावर्ग अर्काको काम गर्ने दास नबनी आफ्नो उन्नतिको काममा लाग्नुपर्ने भाव कवितामा रहेको उनले बताए ।

समीक्षक श्रेष्ठले कवितामा रीति तथा पद संयोजनले सिर्जना सशक्त हुनुपर्नेप्रति ध्यान दिन आवश्यक रहेको कुरा बताए । त्यस्तै कलम बालकविता सङ्ग्रहमा रहेका कविता बालभावनामा आधारित हुनुका साथै चार पाँच वर्षदेखि एघार बाह्र वर्षको उमेर समूहका बालबालिकाका लागि  उपयुक्त कविता रहेको र यी कविताले बालभावनाको विकासमा योगदान पुर्याउने उनले बताए ।

कृतिमाथि समीक्षा गर्दै डा. कौशिला रिसालले ३७ वटा कविता सङ्कलित भएको ‘काकालाई चिठी’मा सङ्ग्रहित कविता समसामयिक परिस्थिति र परिवेशको चित्र कोरिएको बताइन् । कविताले अन्यायविरुद्धमा आवाज उठाएको, वर्गीय विभेदले सिर्जना गरेका सामाजिक विकृति र विसङ्गतिको पर्दाफास गरिएको, प्रगतिवादी र  विद्रोहको स्वर यसमा पाइने बताइन् । उनले भनिन्, “अर्यालका कवितामा राष्ट्रियभाव र राष्ट्रप्रेमको स्वर बुलन्द भएको, भ्रष्टाचारी, घुसखोरी प्रवृत्तिमाथि व्यङ्ग्यसमेत गरिएको छ । आकारगत हिसाबले ठिक्क छोटा कविता छन् ।”

कार्यक्रमका अध्यक्ष तथा अखिल नेपाल लेखक सङ्घका अध्यक्ष धनप्रसाद सुवेदीले बातलाबामा प्रथम पटक परिचर्चा कार्यक्रम राखी कवि अर्यालका दुई कृतिको परिचर्चा गरिएको बताए । उनले यस शृङ्खलाबाट नयाँ कार्यक्रमको सुरुवात भएको बताउँदै यस्तो कार्यक्रम पाण्डुलिपिमा गर्नसके अझ सार्थक रहने धारणा राखे ।

यस्तै कवि राधा कार्की दुलालले समाज सापेक्षित सिर्जना गरेर कवि अर्यालले नेपाली वाङ्मयमा विशिष्ट योगदान दिएको बताइन् ।

कार्यक्रममा प्राडा राजन पोखरेल, कवि भीमनाथ रेग्मी, कवि टीकाराम उदासी, समालोचक पारस ढकाल, कवि प्रथा, कवि अगिव बनेपाली, जित अधिकारी, प्रकाश तिवारी, डा. यादेवी सुवेदी, भागवत भट्टराई, वसन्त अर्याल, ईशान घिमिरे, रेशम अर्याल, निशान घिमिरे, रेसुङ्गा अर्याल, निशान्त अर्याललगायतको उपस्थिति रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप