सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

हेम–सरिता फाउन्डेसनद्वारा तीन स्रष्टा पुरस्कृत

मङ्गलबार, १२ पुस २०७९, १४ : ५८
मङ्गलबार, १२ पुस २०७९

हेम–सरिता फाउन्डेसनले साहित्य, सङ्गीत र पत्रकारिताका क्षेत्रमा विशेष योगदान पुर्याउने तीन स्रष्टालाई पुरस्कृत गरेको छ । नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीको सभाहलमा सोमबार आयोजित कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ हास्यकलाकार हरिवंश आचार्यले स्रष्टात्रयलाई सो पुरस्कार हस्तान्तरण गरेका थिए ।

फाउन्डेसनले मुलुकको पत्रकारिता क्षेत्रमा विशेष योगदान पुर्याएबापत वरिष्ठ पत्रकार जीवराम भण्डारीलाई टङ्कप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कार, गीतसङ्गीतका क्षेत्रमा योगदान पुर्याएबापत गायक नवीन पौडेललाई हेम–सरिता पाठक अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार र कवि मनोज विश्वकर्मालाई भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय कविता पुरस्कार प्रदान गरिएको हो । उक्त पुरस्कारको राशि क्रमशः दुई हजार र एक, एक हजार अमेरिकी डलर रहेको फाउन्डेसन नेपाल शाखाका अध्यक्ष राधेश्याम लेकालीले बताए ।

उक्त कार्यक्रमा हेम–सरिता पाठक फाउन्डेसनले ‘भ्रष्टाचारविरुद्धका कविता’ कृतिको पनि विमोचन गरेको छ । उक्त कार्यक्रमा ‘भ्रष्टाचारविरुद्धका कविता’ फाउन्डेसनको अन्तर्राष्ट्रिय समितिकी अध्यक्ष जेनी पाठक, प्रमुख संरक्षक हेम पाठक, संरक्षक सरिता पाठक, राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, नेकपा (माओवादी केन्द्र)का नेता दीनानाथ शर्मा, नेकपा (एमाले)का नेता पूर्वसांसद रामेश्वर फुयाल, कांग्रेस नेता शोभाकर पराजुली, फाउन्डेसनका प्रमुख सल्लाहकार प्रेमराजा महत, सल्लाहकारहरु मदन पाठक, देवेन्द्र सिटौला, डा. भीष्म भुसाललगायत सो कृतिको विमोचन गरेका थिए । कार्यक्रमा सो कृतिका पच्चीस उत्कृष्ट कविलाई पनि प्रमाणपत्रसहित सम्मान गरिएको थियो ।

समारोहमा फाउन्डेसनका प्रमुख संरक्षक समाजसेवी हेम पाठकले संस्थाको लक्ष्य, प्राप्ति र गतिविधिमा प्रकाश पार्दै देशलाई भ्रष्टाचारमुक्त पार्न फाउन्डेसन प्रतिबद्ध रहेको बताए । उनले कुनै पनि भ्रष्टाचारीलाई सामाजिक बहिष्कार गर्नुपर्ने पनि उनले बताए ।

फाउन्डेसनकी अध्यक्ष जेनी पाठकले संस्थाको गतिविधिबारे मन्तव्य राख्दै फाउन्डेसनले ७७ जिल्लाका गरिब तथा जेहेनदार विद्यार्थीको पहिचान गरी आवाससहित निःशुल्क शिक्षा प्रदान गर्दै आएको जानकारी दिइन् ।

अमेरिकाको टेक्सासमा मुख्य कार्यालय रहेको फाउन्डेसन ‘सबैलाई शिक्षा’ र ‘भ्रष्टाचारविरुद्धको अभियान’मा रहेको समर्पित रहेको छ । यस संस्थाले अमेरिकामा रहेर नेपालका विद्यार्थीका लागि १० हजार अमेरिकी डलर राशिको छात्रवृृत्ति खडा गरेको छ ।

पुनम पौडेलले सञ्चालन गरेको सो कार्यक्रमा रवीन्द्र मिश्र, नेता दीनानाथ शर्मा, रामेश्वर फुयाल, शोभाकर पराजुली,  प्रेमराजा महत, मदन पाठक, देवेन्द्र सिटौला, उग्रतारा माविका प्रधानाध्यापक डम्बरबहादुर छलान, हितमान तामाङलगायतले मन्तव्य राखेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप