आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

ए डिभिजन लिग एक महिना सर्ने सङ्केत

बिहीबार, १४ पुस २०७९, ०९ : ४७
बिहीबार, १४ पुस २०७९

यति बेला घरेलु लिगको विषयमा चर्चा भइ रहेको छ । विश्वकप फुटबलको माहौल सकिए लगत्तै चर्चामा आएको लिग विवाद झनै उत्कर्षमा पुगेको छ । 

नेपालका ए डिभिजन लिग क्लबले एन्फाले तयारी खर्च नदिएसम्म आफूहरु नखेल्ने बताएपछि लिगको विषयमा फेरी नयाँ चर्चा सुरु हुन थालेको हो । 

अहिले एन्फा क्लबहरुलाई मनाउने तयारीमा जुटेको छ । लिगको विषयलाई लिएर एन्फाले आज क्लबहरूसँग छलफल गर्दैछ । तर, क्लबहरूको छलफल अघि नै एन्फाले लिगको विषयमा एक महिना सार्ने चाँजोपाँचो मिलाउन थालेको छ । 

एन्फा कार्यसमितिको छलफलले एक महिना लिग सार्न सिफारिस पनि गरिसकेको छ । नयाँ सिफारिस मिति अनुसार लिग मागको २० गतेसम्म नहुने अवस्था छ । लिग समयमा नै हुने तर, मिति भने सार्ने तयारी भएको एन्फाका एक सदस्यले बताए । 

‘लिगको विषयमा आज क्लबहरूसँग कुराकानी हुँदैछ । त्यसले केही सकारात्मक विषय ल्याउला । तर, लिग सर्ने विषयमा भने पहिले नै कुरा चलेको छ । कार्यसमितिको छलफलमा लिग मागको २० गते हुने सिफारिस भएको छ,’ उनले रातोपाटीसँगको कुराकानीमा भने । 

पंकज विक्रम नेम्वाङ नेतृत्वको नयाँ कार्यसमिति लिगको विषयमा सकरात्कम नदेखिँदा यतिबेला खेलाडीहरू पनि आक्रोशित भएका छन् । राष्ट्रिय फुटबल टोलीका खेलाडीले नै एन्फा नेतृत्व प्रति गुनासो पोखेका छन् । 

क्लब सकारात्मक भएनन्
एन्फाले अहिले क्लबहरु सकरात्कम नहुँदा लिगको मिति सरिरहेको बताएको छ । तर, क्लबहरु भने एन्फाले तयारी खर्च दिने बाचा गरेपछि दिनु पर्ने बताउँदै आएका छन् । व्यावसायिक फुटबलको कुरा गर्ने क्लबहरूले नै लिगको तयारी खर्च जुटाउन नसक्दा त्यसको प्रत्यक्ष मार खेलाडीहरुलाई परेको छ । 

नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी अन्जन विष्टले एन्फा र क्लब सकारात्मक नदेखिँदा त्यसको प्रत्यक्ष मार खेलाडीहरूलाई परेको बताए । वर्षमा एक पटक लिग खेल्न र खेलाउन नसक्ने क्लब र एन्फाले खेलाडीको भविष्यमाथि खेलबाड गरिरहेको बताए । 

‘खेलाडीहरु दिनहुँ विदेश पलायन भएका छन् । एन्फा वर्षमा एक पटक लिग गराउन सक्दैन । लिगको विषयमा एन्फा र क्लब नै सकारात्मक नदेखिँदा त्यसको प्रत्यक्ष मार खेलाडीमा परेको छ,’ अन्जनले भने । 

एन्फा नेतृत्व प्रति खेलाडी आक्रोशित 
पछिल्लो सयम एन्फाको विषयमा खेलाडीहरूले खुलेर बोल्न थालेका छन् । नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडीहरूले लिग गर्न दबाब दिइरहेका छन् । नेपाली टोलीका खेलाडी अनन्त तामाङले लिगको विषयमा एन्फा चाँडै सकारात्मक हुनु पर्ने बताए । 

घरेलु फुटबलको संरचना नै अस्त व्यस्त बन्दा नेपाली खेलकुदले फरक मोड लिन सक्ने उनको अभिव्यक्ति छ । खेलाडीहरूको खेल्न पाउने अधिकार नै एन्फाले खोसेको उनको भनाइ छ । 

‘खेलाडीहरूले खेल्न पाउनु पर्छ । लिगको संरचना बलियो बनाउन नसक्दा खेलाडी विदेशीनु परेको हामीले देखेका छौं । अब पनि लिग गर्न नसक्ने हो भने एन्फा नेतृत्व प्रति नै प्रश्न आउँछ । क्लबको कुरा गर्दा क्लबले लिग गर्न सक्नु पर्छ ।’ तामाङले भने । 

एन्फा लाचार 
लिग गर्ने विषयमा एन्फा लाचार बनेको छ । लिगको संरचना बलियो बनाएर डबल लिग गराउने बताएको एन्फा अहिले आफ्नो कुरामा अढिक हुन सकेको छैन । एन्फाले लिग सार्ने विषयमा आन्तरिक तयारी गरेपनि अन्तिम निर्णय भने गरेको छैन । 

क्लबसँग डर मान्दा एन्फा आफै लाचार बनेर बस्नु परेको छ । लिग गर्ने कुरामा पनि एन्फा सकारात्मक हुन नसक्दा अहिले नेपाली फुटबलको अवस्था कमजोर छ ।  खेलाडीको विषयमा पनि एन्फा सकारात्मक भएन । अहिलेसम्म राष्ट्रिय टोलीका १२ जना खेलाडी विदेश पलायन हुँदा पनि एन्फा मुकदर्शक बनेको छ । 

एन्फाका महासचिव किरण राईले आफूहरू लिगको विषयमा सकारात्मक बनेको र टिमहरु पनि सोही तरिकामा सकारात्मक बन्नु पर्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप