आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

४६ कम्पनीले ब्रोकर लाइसेन्स पाउने पक्का, नयाँ स्टक एक्सचेन्जका लागि थप ८ दिने आवेदन खुल्ने

बिहीबार, १४ पुस २०७९, १४ : २१
बिहीबार, १४ पुस २०७९

ब्रोकर लाइसेन्सका लागि आवेदन दिएका ४६ वटै कम्पनीले अनुमति पाउने पक्कापक्की भएको छ । बुधबार सर्वोच्च अदालतले धितोपत्र बजार सञ्चालन नियमावली र धितोपत्र व्यवसायी नियमावलीविरुद्धको रिट संवैधानिक इजलासले खारेज गरेसँगै धितोपत्र बोर्डलाई पुरानै लाइसेन्स वितरण प्रक्रिया अघि बढाउने बाटो खुलेको हो । तथापि, सोही मुद्दामा परेको अर्को रिटको किनारा नलागेसम्म भने बोर्डले लाइसेन्स वितरणको प्रक्रिया अघि बढाउन पाउने छैन । 

‘धितोपत्र बजार सञ्चालन नियमावली तथा धितोपत्र व्यवसायी नियमावली विरुद्धको मुद्दा खारेज भइसकेको जस्तै हो । यद्यपि, लाइसेन्स प्रक्रिया भाँड्नकै लागि हालिएको अर्को मुद्दा अहिले पनि सार्वेच्चमा विचाराधीन अवस्थामा नै छ । सो मुद्दा समेत खारेज हुनेमा हामी सतप्रतिशत विश्वस्त छौं’ धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले भने, ‘सो मुद्दाको किनारा लाग्ने बित्तिकै बोर्डले थप लाइसेन्स वितरणको प्रक्रिया अघि बढाउनेछ ।’ 

धितोपत्र बजार सञ्चालन नियमावली तथा धितोपत्र व्यवसायी नियमावलीविरुद्ध अधिवक्ता दीपक मिश्रले गत असोज २७ गते सर्वोच्चमा रिट हालेका थिए । सोही रिटको पेशी आउँदो मंगलबारलाई तोकिएको छ । अध्यक्ष हमालले भने, ‘समयमा नै रिटको फैसला भए र क्लिन चिट पाए थप लाइसेन्स वितरणको प्रक्रिया अघि बढाउँछौँ । प्रक्रिया पुर्‍याएर आवेदन हालेका योग्य कम्पनीहरूलाई लाइसेन्स दिन्छौं । तर, नयाँ स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जका लागि भने कुनै आवेदन नपरेकाले थप गृहकार्य आवश्यक रहेको हमालले रातोपाटीलाई बताए ।  

‘ब्रोकर लाइसेन्सतर्फ कात्तिक ७ गतेभित्रै आवेदन परिसकेको थियो । तर, स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जका लागि तोकिएको ४५ दिन पुरा हुन नपाउँदै सर्वोच्चमा मुद्दा पर्यो र अन्तरिम आदेश जारी भयो । ढिलै भएपनि सर्वोच्चबाट सकारात्मक फैसला आउने भएको छ । यसलगत्तै हामी पुनः लाइसेन्स वितरणको प्रक्रियामा जान्छौं’ अध्यक्ष हमालले भने, ‘सूचना अनुसार स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जको आवेदन दिने अन्तिम समय सीमा कात्तिक १५ गते हो । यसैलाई आधार मानेर ७ देखि १५ गतेसम्मको जति दिन बाँकी रहेको छ त्यति दिनकै लागि समय राखेर पुनः आवेदन माग गर्छौ’ उनले भने ।

लाइसेन्स वितरणकै लागि धितोपत्र दलाल तथा धितोपत्र व्यापारी नियमावली, २०६४ संशोधन गरेको बोर्डले गत असोज २ गते सार्वजनिक सूचना जारी गर्दै ब्रोकर लाइसेन्सका लागि ३५ दिन र स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जका लागि समान ४५ दिनको समय राखेर दरखास्त आह्वान गरेको थियो ।

 धितोपत्र बजारलाई थप व्यवस्थित र प्रतिस्पर्धी बनाई समुन्नत बनाउने उद्देश्य राखेको बोर्डले कम्तिमा थप एउटा नयाँ स्टक एक्सचेञ्ज र ३ वटा कमोडिटी एक्सचेन्ज कम्पनी ल्याउने तयारी गरेको छ । 
यता थप ब्रोकर लाइसेन्स वितरण गर्ने तयारी गरेको बोर्डले ब्रोकरतर्फ भने खुल्ला प्रतिस्पर्धात्मक प्रणालीबाट ठूला पुँजीसहित आउनेलाई लाइसेन्स वितरण गर्ने तयारी गरेको छ । यसले धितोपत्र बजार थप व्यवस्थित र प्रतिस्पर्धी हुने बोर्डको विश्लेषण छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप