सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

हिमाल पारी यात्राका शब्द साक्षी

शनिबार, १६ पुस २०७९, ०९ : ०१
शनिबार, १६ पुस २०७९

मौसमले चिसो सुरु भइसकेको सङ्केत गरिरहेको थियो तर मेरो यात्रा भने हिमाल पारीको जिल्लातर्फ अगाडि बढ्दै थियो । चिसो छल्न स्थानीय बेसी झरिरहेका थिए भने म उपत्यकाबाट हिमालतर्फ अगाडि बढ्दै थिएँ । 

डुम्रेबाट लमजुङको लागि गाडीले बाटो पहिल्याउँदै अगाडि बढ्दै हिमालतिर आँखा जुधाउँदै हिँड्दै गर्दा बाटोमा सँगै उभिएर साल र कटुसले खास किसिमको मित्रता कायम गरिरहेका थिए । भानु नगरपालिकाको ठुलो फाँटमा पहेँलपुर धानका बालाहरू झुल्दै थिए । धान खेतमा व्यस्त किसानहरूले मेहनतका साथ आफ्नो उत्पादन भित्र्याइरहेको दृश्यले यात्रालाई मगमगाउँदो बनाइरहेको थियो । 

लमजुङको मनाङे चौतारामा बिहानको खाना खाएपछि यात्रा चामेतर्फ अगाडि बढ्यो । लामो मर्स्याङ्दी गाउँपालिकाको ताङघ्रीङ हुँदै जाँदा घामको उज्यालोलाई जितेर नीलो आकाशमा आफ्नो सुन्दरतालाई फिँजाउन समय पर्खिरहेको जुन देखा परिरहेको थियो । जुन पछिको समयमा ताराहरूले आफ्नो सुन्दरता प्रदर्शन गर्न पालो पर्खिरहेका थिए । संसारमा टाढा भएर पनि कुनै चिज सुन्दर छ भने ती प्रेम र चन्द्रमा हुन् ।  

मर्स्याङ्दी नदीलाई दायाँ बनाउँदै कठिन बाटो छिचोल्दै अगाडि बढिरहँदा बाटोमा आँखाले मापन गरेका कैयौँ हिमशृङ्खलाहरू आँखा सामुन्ने एक एक गरी आइरहेका थिए । गाडीको यात्रा कष्टपूर्ण र झ्याउलाग्दो भए पनि यात्रामा देखिने दृश्यावलोकनसँगको जम्काभेटले ती कष्टलाई जितिरहेको थियो । उच्च पहाडी चट्टानबाट ठुला ठुला झरनाहरू हाम फालेर मर्स्याङ्दीमा विलय भएको देख्न सकिन्थ्यो । जति जति माथि लाग्यो, मर्स्याङ्दी नदीको बेग कम होला कि भन्ने अनुमान थियो तर कुनै सङ्केत मिलिरहेको थिएन । बरु मर्स्याङ्दी नदीको आवाज झन् झन् बढिरहेको आभाष भैरहेको थियो । 

५–७ मिटरको दूरीमा चितुवासँगको जम्काभेटले यात्रा रोमाञ्चक बन्यो । पहिलो पटक माइनस डिग्री तापक्रमसँग घुलमिल हुने जमर्को गर्दै चामे पुग्दै गर्दा मनास्लुलगायत हिमालको चमकले यात्रा झलमल्ल घमाइलो बनाइदियो । अघिपछि उत्तरतर्फ मात्र हिमाल देख्ने गरेकोमा यस पटक हिमालहरू मबाट दक्षिणतर्फ तर्न खोजिरहेको थिएँ । यो अर्को रोमाञ्चक अनुभव थियो ।

सरकारी कार्यालय परिसरहरूमा समेत फलिरहेका स्याउका लटरम्म दानाले यस क्षेत्रमा स्याउको लागि राम्रै वातावरण रहेको प्रस्ट सङ्केत दिइरहेको थियो । चामे (२६ सय मिटर) बजार क्षेत्रबाट लमजुङ हिमाल (६९८३ मिटर) र मनास्लू हिमालको (८१६३ मिटर) दृश्यावलोकन गज्जब देखियो । 

ढिकुरपोखरीबाट माथि बाटो बनाउँदा चट्टान खोपी सी आकारको बाटोको यात्राले आङ्को काँडा उमार्‍यो । हुम्देको सुन्दरताको बारेमा पढेको मात्रै थिएँ, घ्यारु र ङावलबाट हुम्देलाई हेर्दा यति छोटो यात्राको समय धेरै सुन्दर ठाउँको यात्रा गर्ने पुगेछु भन्ने हुटहुटी मनमा आइरह्यो । हुम्दे एयरपोर्ट, हुम्दे उपत्यकामा देखिने स्याउका बारीहरू, बालुवाका पहाडहरूमाथि परिरहेको बिहानीको घामको किरण मनको लेन्समा कैद गरेको छु । सायद स्वर्ग र सुन्दरताको एउटा अंशको टुक्राको रूपमा हुम्देलाई लिन सकिन्छ । ङिस्याङ गाउँपालिकाको केन्द्र, हुम्दे आर्थिक केन्द्रको रूपमा माथिल्लो मनाङको व्यावसायिक आवश्यकतालाई परिपूर्ति गरिरहेको छ । 

बार्खाबाट आईस लेक (४६२० मिटर) जाने सब वे छोडी मूल बाटो हुँदै भ्राकाबाट उपल्लो मनाङको यात्रा सुरु भयो । टंकी मनाङबाट करिब २ सय मिटर अगाडि पुगेपछि थोराङला (५४१६ मिटर) तर्फको बाटो बाटो छोडी तिलिचो जाने बाटो देखाइएकोतिर अगाडि बढ्यौँ । बाटोमा खच्चड, भेडा  र चौरीका बथानले मनका थकाई मेटाउने साधनझैँ भए । 

खाङसार आइपुग्दै गर्दा स्वास्थ्य समस्या उत्पन्न हुने कता कता सङ्केत गरिरहेको थियो । तौल नै नहुने हावाले किन हो किन, त्यही भारी भएजस्तो लाग्दै थियो । उकालो, साँघुरो, तेर्सो बाटो हुँदै श्रीखर्क पुग्यौ । श्रीखर्कमा एउटा चाउचाउ उमालेको ५ सय अनि एक लिटर तातो पानीको रु ३ सयको मेनु हेर्दा नेपाली पदयात्रीको लागि चर्कै लाग्यो । 

श्रीखर्कबाट अगाडि बढ्दै गर्दा मृगका बथानहरू फुरुङ्ग हुँदै उफ्रिरहेका थिए भने पारी डाँडाको चुचुरोमा हिमपात भइरहेको थियो । यसरी पग्लिरहेको हिमाली भूगोलले स्वर्ग देखाइरहेको थियो । चिसो मौसममा चारैतिर सेता चुचुराहरूको विहङ्गम उपस्थितिले सबै थकानको भुक्तान गरिदिएको थियो । सहयात्री विवेक गुरुङले यात्रालाई पछिसम्म ताजा  बनाउन अनेक दृश्यहरू धमाधम कैद गरिरहेका थिए । 

नेपालमै गरे के हुँदैन र भन्ने प्रश्नको जवाफ प्रत्येक नेपाली पदयात्री सँगै रहेको गोल्डस्टार जुत्ताले दिइरहेको थियो । तिलिचो तालमा सूर्योदयको दृश्यलाई मनमा कैद गर्ने अभिलाषा पूर्ण गर्ने निर्णय गर्दै बिहानै ३ बजे त्यसतर्फ अगाडि बढियो ।  चिसो सिरेटो, जुनेली रातको उज्यालो र ताराहरूको टिलपिल टिलपिल चमकलाई नियाल्दै २२ घुम्तीको  कठिन उकालो चढ्दा माथिबाट झर्ने ढुङ्गाले गर्दा होसियार  र धैर्यतापूर्वक तालसम्म पुग्न एउटा कठिनाइ झेल्नै पर्दछ । 

कठिन उकालो बाटोलाई जुनेली रातमा पार गर्दै हिउँ खेल्दै, फोटो खिच्दै हिँडिरहँदा बाटो ३५ मिनेट हिउँमा हिँडेको पत्तै भएन । सूर्योदय अगाडिको तिलिचो, सूर्योदय हुँदाको तिलिचो र सूर्योदय भैसकेपछिको तिलिचो साँच्चिकै मनमोहक क्षण बनेको थियो । चिसो मौसम, सिमलको भुवाजस्तै बिस्तारै बिस्तारै झर्ने सेतो पंक्षीका प्वाख झैँ हिउँ अनि हिउँ जमिरहेको स्थानको आसन, हावाको सुसेली, हिउँका पाटनमा घामको किरण सँगैको सुनौलो दृश्यले लामो यात्रा पछिको थकान फू मन्तर भयो । 

तापक्रम माइनस ८ डिग्री छ । श्वास प्रश्वासमा केही कठिनाइ छ । तर, विहङ्गम दृश्यका अगाडि ती कठिनाइ सामान्य लाग्छ । तिलिचो तालमा हिउँको कुनै प्रभाव  परिरहेको थिएन । तालले आफ्नो सुन्दरता कायम राख्न कुनै कसर बाँकी राखेको थिएन । नीलो तालले आफूलाई सुन्दरताको कुनै कृत्रिम लाली लगाएको थिएन । नीलो तालको पानीमा नजिकैका चुचुराहरूको पानी फोटो सबैभन्दा हेर्न लायक दृश्य थियो । यसरी त्यहाँ पुग्ने पर्यटकहरूलाई आफ्नै सुन्दरताको अनुपम सुखानुभूति प्रदान गरिरहेको थियो तिलिचोले । नजिकै खुलेको अस्थायी प्रकृतिको चिया पसलेले यात्रीहरूलाई स्वास्थ्य सेवा पनि प्रदान गरिरहेका थिए । 

तिलिचो ताललाई तिलिचो पिक (७१३२ मिटर) निलगिरी हिमाल, अन्नपूर्ण प्रथम, याक गावा चुचुरो लगायतले हरप्रहर संरक्षण गरी सुन्दर तालको महिमा प्रदान गरिरहेका थिए । हिउँबाट पतपत झर्दै गरिरहेका पानीका थोपाले दिउँसोको सङ्केत गरिरहेको थियो भने कंक्रिटजस्तै बनिरहेको हिउँले पानी बन्न मानिरहेको थिएन । तर सूर्यको प्रकाशले त्यो कंक्रिटपनालाई छुट्याउन हर सम्भव कोसिस गरिरहेको थियो । करिब १ घण्टा तिलिचोको स्पर्श पश्चात् हुम्देको लागि प्रस्थान गरियो ।

 उपल्लो पिसाङको सामुन्ने अगाडि टिलिक्क उभिँदै गरेको अन्नपूर्ण दोस्रो (७९३७ मिटर) घ्यारु र ङावलबाट देखिएको अन्नपूर्ण हिमशृङ्खलाका हिमालहरूको सुन्दरताले यात्रालाई आनन्दित बनाइरहेको थियो । उपल्लो पिसाङमा रहेको ग्रीन लेक यात्रीहरुले छुटाउनै नहुने प्रकृतिको उपहार हो । माथिल्लो पिसाङबाट सल्लाको जंगलको बाटो ध्यारु निस्केर ङावलबाट काङला पास (५३०६ मिटर) पार गरेर नार उपत्यका पुगिन्छ । 

तिमाङबाट देखिने कास्की र मनाङको सिमाना डाँफेको लेकमा कुना कन्दरामाथि थुप्रिएको हिउँ र वरपर अलि अलि देखिने काला पत्थरको श्यामश्वेत दृश्यभित्र रंगीन वातावरण छचल्किएको थियो । कास्कीको सिक्लेस हुँदै डाँफे लेक नामुनला पास पार गरेर मनाङ पुग्न सकिन्छ । 

मेरो यस पटकको यात्रा समुन्द्री सतहबाट लगभग ५ हजार मिटरको उचाइमा अवस्थित नेपालको सबैभन्दा उच्च स्थानको ताल मनाङको तिलिचो सम्मको रह्यो । यात्राको प्रारम्भमै निश्चल मस्र्याङदीको कलकल आवाज सुन्दै हिँडिरहँदा अर्कै दुनियाँमा पुगेझैं महसुस हुन्थ्यो । यात्राको मध्यमा हिउँको पछ्यौरी ओढेको सेताम्य बाटो, यो पल यस्तै रोकिइरहोस् झैं लाग्थ्यो । 

उकाली ओराली अनि अनगिन्ति मोडहरूलाई सारथि बनाउँदै यात्रा गर्दा शब्दहरूले समेट्नै नसकिने भोगाइको प्यास छ मनभरि । गन्तव्यसम्म पुग्दा मनमा जे जस्तो डर, कठिनाइ भए पनि गन्तव्यको स्पर्शले सम्पूर्ण पीडा भुक्तान गरिदियो । उपल्लो मनाङका प्रत्येक गाउँमा पर्यटकहरूको लागि होटलको राम्रो व्यवस्था छ । यात्रा भरी प्राप्त गरेको मनाङवासीको न्यानो स्वागतले फेरि पनि आउँ आउँ लाग्ने बनाउँछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप