सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सङ्गीत सिक्दासिक्दै माया बस्यो : गायिका विन्दु परियार

शुक्रबार, २१ पुस २०७४, १३ : ५२
शुक्रबार, २१ पुस २०७४

गायिका विन्दु परियार यतिबेला चर्चामा छिन् । प्रदर्शनको तयारीमा रहेको  चलचित्र ‘मङ्गलम’को ‘पर्ख पर्ख मायालु...’ बोलको गीत लोकप्रिय भएपछि उनको चर्चा र व्यस्तता दुवै बढेको छ । स्टेज कार्यक्रमहरूमा समेत उनी अहिले सक्रिय भइरहेकी छन् । भर्खर मात्र उनको स्वरमा एउटा नयाँ गीत बाहिर आएको छ ‘लाउनेले नजर लगाए...’ । यो गीतले पनि अहिले साङ्गीतिक बजार तताइरहेको छन् । यो गीतमा विन्दुलाई सङ्गीतकार तथा गायक आशिष अविरलले स्वरमा साथ दिएका छन् । २०६९ बाट औपचारिक गायन सुरु गरेकी विन्दुले कलेक्सन एल्बम र चलचित्रको गरेर करिब १ सयभन्दा बढी गीतमा स्वर दिएकी छन् । गायनमा आउनुभन्दा पहिले साङ्गीतिक क्षेत्रका बारेमा सोचेको र सुनेको भन्दा फरक पाएको बताउने उनी प्रतिस्पर्धाले गायन टिक्न बिक्न गाह्रो हुने गरेको बताउँछिन् । सङ्गीत सिक्दासिक्दै एरेन्जर सुदीप सागरसँग लगनगाँठो कसेकी बिन्दुसँग रातोपाटीको दश प्रश्न । 
 

पछिल्लो समय केमा व्यस्त हुनुहुन्छ ?
– केही नयाँ गीत ल्याउने तयारीमा छु । जसको रेकर्डिङ चलिरहेको छ । चलचित्रको गीतहरू पनि गाइरहेकी छु । सङ्गीतमै छु भन्नु पर्यो । 

कस्तो खालकी गायिका तपाईं ?
– आधुनिक र चलचित्रका गीतहरू धेरै गाएकी छु । भर्सनटाइल गायिका भनेर चिनिन मन छ । 

स्टेज पनि बेलाबेला तताउने गर्नुभएको छ । सौन्दर्यतिर कतिको ध्यान दिने गर्नुभएको छ ?
–सौन्दर्यमा मेरो धेरै रुचि रहँदै आएको छ । साङ्गीतिक क्षेत्र नरोजेको भए ब्युटिसियन हुन्थेँ । म प्रायः नर्मल मेकअपमा हिँड्न रुचाउने केटी हुँ । स्पेसल कार्यक्रमहरू पर्यो भने मेकअपमा विषेश ध्यान दिन्छु । सो समय मेकअपका लागि आधा घन्टाभन्दा बढी समयसमेत लाग्ने गरेको छ । 

फेसनतिर कतिको रुचि छ ?
फेसनमा केही पहिले काम पनि गरेकी थिएँ । त्यसैले यसमा म सजक छु । फेसन फलो गर्न मनपर्छ । फलो गर्ने भन्दैमा ओपन हुन मन पर्दैन । मलाई लामो खालको गाउन, वानपिस लगाउन मनपर्छ । सीधै भन्नुपर्दा भद्दा देखिनेभन्दा क्युट देखिने फेसन लगाउँछु । कलरको कुरा गर्ने हो भने रातो नै बढी मनपर्छ ।

कस्तो पुरुष आकर्षक लाग्छ ?
– हाइट राम्रो भएको, हेर्दा हेन्डसम देखिने केटा आकर्षक लाग्छ ।

तपाईंको कुन अङ्गमा मानिस लोभिने गरेका छन् ?
– केटा हुन् या केटी साथी । सबैले मेरो आँखा मन पराउने गरेका छन् । आफन्तहरूले पनि तिम्रो आँखा राम्रो भन्छन् ।

डर लाग्दो सपना कतिको देख्नु हुन्छ ?
– कहिले कहिले देख्ने गरेकी छु । केही दिन पहिले मात्र आफूलाई बाघले झम्टिएको देखेकी थिएँ । खै त्यो केको सङ्केत बुझ्न भने सकेकी छैन । 

जीवनलाई कसरी बुझ्नुभएको छ ?
जीवन सङ्घर्ष हो । सङ्घर्षको क्रममा दुःख, सुख आइरहन्छन् । त्यसमा नअतालीकन अगाडि बढ्ने मानिस मात्र सफल हुन्छ ।

फुर्सदको समय के गर्नुहुन्छ ?
– फुर्सदको समय अध्यायनलाई दिने गरेकी छु । रोचक खालका, जीवन जिउन सहज बनाउने खालका किताब मनपर्छ । 

प्रेम के हो ?
– जीवनलाई सफल र खुसी बनाउने माध्यम हो । मैले लभ म्यारिज गरेकी हुँ । मेरो श्रीमान सुदीप सागर म्युजिक एरेन्जर हुनुहुन्छ । उहाँसँग म सङ्गीत सिक्थेँ । भेटघाट भइरहन्थ्यो । काम पनि सँगै केही गरियो । यही क्रममा उहाँको प्रेम प्रस्ताव अचानक फोनबाट आयो । मैले पनि स्विकारेँ । सङ्गीत सिक्दा सिक्दै लभ पर्यो प्रेम पर्यो भन्दा फरक पर्दैन । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप