बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

दाङको पर्यटकीय चमेरी गुफा ओझेलमा

बिहीबार, १७ भदौ २०७२, १२ : ५७
बिहीबार, १७ भदौ २०७२

दाङ -दाङ जिल्लाको तुलसीपुर नगरपालिका–१ मूलकोटमा अवस्थित चमेरी गुफा प्रचारप्रसार अभावका कारण ओझेलमा परेको छ ।  करिब दुई दशक पहिले पत्ता लागेको प्राकृतिक गुफाको प्रचारप्रसार र प्रवद्र्धन गर्नसके बाह्य तथा आन्तरिक पर्यटकको प्रवद्र्धन हुने स्थानीयको भनाइ छ ।

तुलसीपुर नगरपालिका–१ को मूलकोटमा रहेको चमेरी गुफासम्म पुग्नका लागि सामान्य मोटरबाटो पुगे तापनि पर्याप्तरुपमा त्यसको विकास हुन नसकेको स्थानीयवासी किरण केसीले बताउ । तुलसीपुर बजारदेखि करिब १२ किलोमिटरको दूरीमा रहेको यस गुफाको प्रचारप्रसार र सम्बद्र्धन गर्नसके पर्यटकीयस्थलका रुपमा विकास गर्नसकिने यहाँका जानकारको भनाइ रहेको छ । प्राकृतिकरुपमा रहेको गुफाको संरक्षण र यसलाई दिगो विकास गर्नसके दाङ जिल्लाको मुख्य पर्यटकीय क्षेत्रका रुपमा विकास हुने बताइएको छ ।

हाल गुफामा दैनिकरुपमा ३० देखि ४० सम्म सर्वसाधारण अवलोकनका लागि जाने गरेको स्थानीय सीताराम पुनले जानकारी दिए । विभिन्न तीनतला रहेको उक्त गुफासम्म पुग्नका लागि जिल्ला विकास समिति दाङ, तुलसीपुर नगरपालिका, स्थानीय सामुदायिक वन र पर्यटन विकास कार्यालय भैरहवाको आर्थिक सहयोगमा गुफासम्म पुग्ने बाटो तथा अन्य केही संरचना निर्माण भए पनि गुफाको पर्याप्त विकास हुन नसकेको स्थानीयको भनाइ छ । गुफाभित्र विभिन्न देवीदेवता, शेषनाग र बाघको स्वरुप पनि देखिने भएकाले गुफाको अवलोकन गर्ने जोकोही पनि चकित पर्ने गर्दछन् । गुफाको बाहिरी भाग र भित्री भागमा ती स्वरुप देखिन सकिन्छ । गुफामा विभिन्न तिन तह रहेका छन् । प्रत्येक तहका भित्तामा विभिन्न स्वरुप देख्न पाइन्छ ।

बाहिरबाट हेर्दा पहाड र त्यसभित्र अवस्थित चमेरी गुफामा चमेरा बस्ने भएका कारण यसको नाम चमेरी गुफा हुन गएको जानकार बताउँछन् । करिब २०५२ सालतिर पत्ता लागेको यो गुफा कसले र कसरी पत्ता लाग्यो भन्नेबारे सबै अनभिज्ञ रहेका छन् । जानकार भने भिरमा घाँस काट्न जाँदा पत्ता लागेको बताउँछन् । गुफासम्म पुग्न बाटोमा सिँढी निर्माणको काम थालनी भए पनि बजेट अभावका कारण सो काम सम्पन्न हुन नसकेको बताइएको छ । चमेरी गुफासम्म तुलसीपुर नगरपालिका र जिविस दाङको सहयोगमा बिजुली पुगेपनि सो विद्युत्ले मात्र पर्याप्त नभएको बताइन्छ ।

यसको विकास भए दाङको पनि विकास हुन्छ भन्दै स्थानीयले सरोकारवाला निकायले यसलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सबैले सहयोग गर्नुपर्ने बताएका छन् । गुफाको प्रचारप्रसार र विकास गर्नसके पर्यटकीय क्षेत्रका रुपमा विकास हुने र यसले स्थानीयको आर्थिक विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ । हाल गुफा संरक्षण समितिले चमेरी गुफा अवलोकनका लागि रु १५ लिने गरेको छ । त्यसबाट सङ्कलित रकम गुफाको विकासमा लगाउने जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप