मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

सहिद स्मृति उद्यान आकर्षक गन्तव्य

बिहीबार, २४ भदौ २०७२, १७ : ३६
बिहीबार, २४ भदौ २०७२
झापा,– मेची अञ्चलको मुख्य व्यापारिक केन्द्र बिर्तामोड नजिकै रहेको सहिद स्मृति उद्यान बाह्य तथा आन्तरिक पर्यटकको आकर्षक गन्तव्य बन्न थालेको छ । शनिअर्जुन नगरपालिका– ७ सालबारीस्थित २६ हेक्टर क्षेत्रफलमा यो उद्यान फैलिएको छ । मुलुकमा लोकतन्त्र स्थापनाका लागि पञ्चायतकालमा भएको आन्दोलनका क्रममा आफ्नो ज्यानको आहुति दिएका अमर सहिदहरुको स्मृतिलाई ताजा राख्न यो उद्यानको स्थापना भएको हो । उद्यानभित्र झापा किसान विद्रोहमा जीवन बलिदान गरेका पाँच सहिद वीरेन राजवंशी, रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइँकेल र नारायण श्रेष्ठको पूर्ण कदको प्रतिमा छ । प्रतिमा स्थापना गरिएका पाँचैजना सहिदलाई पञ्चायती शासकहरुले २०२९ साल फागुन २१ गते झापाबाट इलाम जेल सार्ने निहुँमा सुखानी जङ्गलमा लगेर गोली हानी हत्या गरेका थिए । उद्यानभित्र रहेको पाँच सहिदको प्रतिमा यहाँ आउने पर्यटकको मुख्य आकर्षण बनेको उद्यान व्यवस्थापन समितिका अध्यक्ष वृखबहादुर प्रधान बताउनुहुन्छ । सालको घना जङ्गलभित्र उद्यानको मध्यभागमा रहेको अढाइ हेक्टर क्षेत्रफलको प्राकृतिक तलाउ पर्यटकका लागि अर्को आकर्षण हो । उद्यान व्यवस्थान समितिले तलाउमा पर्यटकलाई सयर गराउन चारवटा पाइडल डुङ्गाको व्यवस्था गरेको छ । उद्यानको स्थापना सुखानी सहिद स्मृति प्रतिष्ठान नेपालले गरेको हो । संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले २०७० साल फागुन २१ गते सहिद स्मृति उद्यानको उद्घाटन गरेका थिए। “प्राकृतिक वातावरणले भरिपूर्ण उद्यान भएकाले टाढादेखि पर्यटक गाडी रिजर्भ गरी वनभोज खान, घुमफिर गर्न, तस्बिर खिचाउन, तलाउमा डुङ्गा सयर गर्न र तनावबाट मुक्त भएर मन बहलाउन यहाँ आउने गरेका छन्” शनिअर्जुन प्रेस क्लबका अध्यक्ष दिपीन राई भन्छन् । गत वर्षदेखि सुखानी सहिद स्मृति प्रतिष्ठानले उद्यानभित्र पूर्वाञ्चलकै पहिलो कछुवा संरक्षण तथा प्रजनन केन्द्र स्थापना गरेको छ । उद्यानले कछुवा राख्न छुट्टै सानो पोखरी बनाएको छ भने प्रजनन र बच्चा रेखदेखका लागि व्यवस्थित स्थानको निर्माण गरिरहेको छ । उद्यानमा हाल २५ वटा दुर्लभ जातका कछुवा संरक्षण गरिएको छ । “वातावरणीय विनाशका कारण कछुवा लोपोन्मुख हुँदै गएको छ,” शनिश्चरे गाविसका पूर्व अध्यक्ष हरि राना चनछन् ् – “उद्यानले संरक्षणको प्रयास थालेर प्रशंसनीय कार्य गरेको छ ।” कछुवा हेर्नकै लागि कतिपय पर्यटक तथा विद्यार्थी यहाँ आउने गरेका छन् । हराउँदै गएको प्राणीमध्येको कछुवाको संरक्षण नै केन्द्रको मूल उद्देश्य भएको कछुवा संरक्षण तथा प्रजनन केन्द्रका प्रमुख नवीन भट्टराई बताउाछन् । उद्यानमा पाँच जातका कछुवा संरक्षण गरिएका छन् । यहाँ रहेका पहेँलो टाउको भएको सुन कछुवा, ढकनी खवटे कछुवा र मयुरपङ्खी नरम खबटे कछुवाको पहिचान भएको छ भने अन्य दुई जातको पहिचान हुन बाँकी रहेको भट्टराईले जानकारी दिएका छन् । हाल प्रतिष्ठानभित्र कछुवा प्रजनन केन्द्रको निर्माण धमाधम भइरहेको र बाल उद्यानका लागि आवश्यक सामग्री आउन बाँकी रहेको उनले बताए ।। संरक्षणप्रति जनचेतना अभिवृद्धि गर्न चार फिट अग्लो तथा छ फिट लामो फाइवरबाट निर्मित कछुवाको आकर्षक प्रतिमा राखिएको छ । कछुवाको प्रतिमा हेर्न र तस्बिर खिचाउन बालबालिकाको घुइँचो लाग्ने गरेको उद्यानकी कर्मचारी रोजिना पाण्डे बताउनुहुन्छ । मनोरम वातावरण, तलाउ र रमणीय आकर्षणका कारण पर्यटकको आगमन आगामी दिनमा झन बढ्दै जाने उनी बताउँछन् ।। आव २०७१÷७२ मा ४६ हजार ८४५ पर्यटकले सहिद स्मृति उद्यानको अवलोकन गरेका छन् । उद्यान प्रवेश गर्दा गत आवमा रु १० को शुल्क तिर्नुपर्ने प्रावधान थियो । साउनदेखि प्रवेश शुल्क १५ बनाइएको छ । दैनिक औसत डेढ सय जनाको हाराहारीमा पर्यटक आउने गरेको र नयाँ वर्ष, भ्यालेन्टाइन दिवस, शनिबार र चाडबाडका बेला यहाँ घुइँचो लाग्ने गरेको छ । गत आवमा उद्यानले प्रवेश टिकट बिक्रीबाट चार लाख ६१ हजार २३०, डुङ्गा सयरबाट १ लाख ५० हजार, वनभोजबाट रु ज्ञलाख ७ हजार २०० र माछा बिक्रीबाट रु एक लाख आम्दानी गरेको कार्यालय प्रमुख रमेश भट्टराई बतााछन् पूर्वी नेपालको प्रवेशद्वार काँकडभिट्टा र मेची अञ्चलको प्रमुख व्यापारिक केन्द्र बिर्तामोडबाट सबैभन्दा नजिकमा रहेको पर्यटकीय आकर्षणको प्राकृतिकस्थल नै यही उद्यान हो । व्यवस्थापन समितिले उद्यानभित्र एक हेक्टर क्षेत्रफलमा बाल उद्यान निर्माण गर्न थालेको छ । यहाँ पर्यटकलाई बस्न फलैचा, चौतारो र हवाई घरको निर्माण गरिएको छ । सरकारी सहयोगमा ३५ मिटर लामो झोलुङ्गे पुल समेत निर्माण भइरहेको छ । सहिद स्मृति उद्यान पुग्न बिर्तामोडबाट कालोपत्र सडक नभएको र नियमित सार्वजनिक यातायातका साधन नचल्ने भएकाले कठिनाइ हुने गरेको छ । दिनहुँ सयौँ पर्यटक आउने स्थल भएकाले उद्यानभित्र अस्थायी सुरक्षा पोस्ट राखिएको छ । “उद्यान अत्यन्त रमणीय लाग्यो”, इलाम–२ बाट सपरिवार घुम्न आएकी सुनगाभा विकास संस्थाकी उपाध्यक्ष यशोदा देवान भनछन् – “प्रचारप्रसार हुन सके यहाँ आन्तरिक मात्र होइन बाह्य पर्यटकसमेत आउने निश्चित छ ।” उद्यानको भौतिक पूर्वाधार विकासका लागि पर्यटन कार्यालय काँकडभिट्टाले समेत सहयोग गरिरहेको छ । गत आवमा कछुवाको प्रतिमा स्थापना, पोखरीको छेउमा फलैँचा, दुईवटा भ्यू पार्क र बाल उद्यान निर्माणका लागि १० लाख खर्च गरिएको छ । विगतमा अनकन्टार जङ्गल रहेको यस क्षेत्रमा उद्यान निर्माण भएपछि चहलपहल बढेको र स्थानीवासीले गुजाराका लागि होटल समेत सञ्चालन गर्न थालेका छन् ।––––––––

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप