मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

माछापुच्छ्रेको अर्को भाग, जसलाई कमैले देखेका छन् (फोटोफिचर र भिडियो)

शनिबार, २६ भदौ २०७२, १७ : २८
शनिबार, २६ भदौ २०७२

 काठमाडौं– वैशाख १२ को भूकम्पले ठूलो जनधनको क्षति त गर्यो नै, यसले ठूलो क्षति पर्यटन क्षेत्रमा पनि पुर्यायो । नेपालको लाङटाङ र मनास्लु क्षेत्रमा भूकम्पले क्षति पुर्याएको छ, यहाँ ट्रेकिङ रुट भत्केका छन् । विश्वकै आकर्षणको केन्द्र रहेको सगरमाथा आधार शिविरमा पनि भूकम्पपछिको हिमपहिरोका कारण पर्यटकले ज्यान गुमाए । यसलगत्तै विभिन्न देशले नेपाल सुरक्षित नरहेको भन्दै आफ्ना नागरिकहरूलाई नेपाल नजान सल्लाह दिए । जसकारण नेपालमा पर्यटक आउने क्रम ह्वात्तै घटेर गयो । अहिले बिस्तारै पर्यटक आउने क्रम बढ्दै छ । नेपालमा खासगरी प्राकृतिक सुन्दरता अवलोकन गर्न पर्यटक आउने गर्छन् । यहाँका खोलानाला, हिमाल, पहाड, ताल पर्यटकको आकर्षणको केन्द्र बन्ने गरेका छन् । पर्यटक ग्रामीण इलाकाको ट्रेकिङ गर्दै ‘भर्जिन’ नेपालको सुन्दरता हेर्न रुचाउँछन् । भूकम्पले दुई चर्चित ट्रकिङ रुटमा असर पु¥याएपछि हामीले नयाँ विकल्पको खोजी ग¥यौं । यसै क्रममा कम प्रयोग हुने गरेको मर्दी हिमाल बेस क्याम्पको यात्रा तय भयो ।

काठमाडौंबाट पोखरा पुगेपछि हाम्रो यात्रा सुरु भयो । पोखराबाट ३० किलोमिटर पश्चिममा काँडे भन्ने स्थान पुगेपछि पैदलयात्रा सुरु हुन्छ । त्यसपछि करिब डेढ घन्टाको पदयात्रापछि अस्ट्रेलियन क्याम्प पुगिन्छ । त्यहाँबाट एक घन्टामा देउराली भन्ने स्थानमा पुगिन्छ । त्यो अन्नपूर्ण बेस क्याम्प र मर्दी हिमाल बेस क्याम्प छुटिने स्थान पनि हो । देउरालीबाट लो क्याम्प भन्ने स्थान पुगिन्छ । त्यहाँसम्म पुग्ने रुट निकै कठिन छ । बाक्लो जंगल, अप्ठेरो रुट छिचोल्दै लो क्याम्प पुग्न करिब ४ घन्टा लाग्ने रहेछ । लो क्यामपछि हाई क्याम्पको यात्रा सुरु गर्नुपर्छ । त्यहाँ क्याम्प खडा गरेर बेस क्याम्प पुग्न सकिन्छ । त्यही दिन नै हाई क्याम्पमा नै फर्कनुपर्ने हुन्छ ।

उकालो भएकाले हाई क्याम्पबाट बेस क्याम्प जान पाँच घन्टा लाग्छ भने फर्कन मात्र तीन घन्टा लाग्छ । यो बर्खाको समय बेस क्याम्पसम्म जाँदा जंगली फूल, हरियाली पहाड, पहाडलाई चुमेर जाने बादलका टुक्रा नियाल्न सकिन्छ । घरीघरी तल पोखरा सहर देखिन्छ । बादलुको घुम्टोले बेलाबेला छोपिने पोखरालाई हेर्न केहीबेर धैर्य गर्नुपर्छ । कतैकतैबाट बेलाबेला पोखरा यसरी झुल्कन्छ, मानौं कुनै प्रेमीले मायालुको अनुहार लुकिछिपी हेर्न पाएको छ । जब बेस क्याम्प पुग्यौं, त्यहाँको दृश्य त झनै सुन्दर । त्यहाँ समय बिताएपछि हामी पुनः हाइक्याम्प फर्कियौं । हाइक्याम्पबाट राति माछापुच्छ्रे हिमालका दृश्य निकै मनमोहक देखिन्थे । धेरैले पोखराबाट मात्रै ६,९९३ मिटर उचाई रहेको माछापुच्छ्रे हिमाल देखेका छन् । जुन माछाको पुच्छरजस्तो देखिन्छ । यो तस्बिर अर्को छेउबाट लिइएको हो । यो भागबाट कमैले हिमाललाई हेर्न पाएका छन् ।

https://www.youtube.com/watch?v=ICyWhMLMU_M&feature=youtu.be

त्यहाँबाट पुनः लो क्याम्प झर्न त्यही २ घण्टा जति लाग्छ । त्यहाँबाट २ देखि ३ घण्टामा घलेल गाउँ पुगिन्छ । घलेल गाउँबाट लुम्रे जानुपर्छ, जहाँ बस पाइन्छ । बसबाट दुई घन्टामा पोखरा पुग्न सकिन्छ ।

सिक्लेसको यात्रा

मार्दी हिमालपछि हाम्रो यात्रा सिक्लेससम्मको थियो । एक दिन पोखरामा आराम गरेपछि हामी कालिका चोकसम्म पुग्यौं । त्यहाँबाट सिउरेनी भञ्ज्याङ हुँदै ओरालो झरेर भगवती भन्ने स्थानमा पुग्यौं । त्यहीँबाट सिक्लेसको मुख्य यात्रा सुरु हुन्छ ।

त्यहाँबाट दुई घन्टामा भैसे भन्ने गाउँ पुगिन्छ । त्यहाँ बास बसेर याङ्चीकोटतिर उकालो चढ्नुपर्छ, करिब साढे तीन घन्टा लाग्छ । त्यसपछि सबी भन्ने ठाउँतिर दुई घन्टाजछि ओरालो झर्नुपर्छ । त्यहाँबाट खोलाको किनारैकिनार हुँदै सिक्लेस गाउँको फेदी पुगिन्छ । मार्दी खोलामाथि रहेको यो पुरानो गाउँ एक हजार नौ सय ८० मिटर उचाइमा रहेको छ । यहाँबाट लमजुङ र अन्नपूर्ण हिमालको मनमोहक दृश्य देख्न सकिन्छ । गाउँमा एक दिन बिताएपछि हाम्रो यात्राको अन्त्य भयो । त्यसपछि हामी पुनः पोखरा फर्कियौं ।

भूकम्पले अवश्य पनि धेरै क्षेत्रमा ठूलो असर पु¥याएको छ । तर, यति साह्रै क्षति गरेको छैन कि पर्यटकले असुरक्षित महसुस गर्न परोस् । नेपाल सुरक्षित र सुन्दर छ । नेपालमा यस्ता धेरै सुन्दर ठाउँ छन्, जहाँ नेपाली नै पुग्न सकेका छैनन् । त्यस्ता ठाउँमा पनि पुगेर प्रचारप्रसार गर्नुपर्नेछ ।

(फोटोग्राफीमा रुचि राख्ने उजोल राई वान्डरफुल एभरेस्ट भ्यु ट्रेक्स एन्ड एक्सिपिडिसनमा टुर गाइडका रुपमा आबद्ध छन् ।) राईलाई फेसबुकमा uzolrookie ट्वीटरमा  @uzzrai फलो गर्न सकिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप