मुख्यमन्त्रीका दाबेदार शेरधन राईको जीवन : शपथ लिएर घरजम गर्छु
भोजपुरबाट पहिलोपटक प्रतिनिधिसभा सदस्य निर्वाचित हुँदा शेरधन राई २७ वर्षका थिए । राई केपी शर्मा ओली नेतृत्व सरकारमा सूचना तथा सञ्चारमन्त्री भए । साढे नौ महिना सरकारमा रहँदा उनले उदाहरणीय काम गरे । विवादरहित मन्त्रीमा दह्रिए । उनै राई १ नम्बर प्रदेशको मुख्यमन्त्रीको दौडमा छन् । १ नम्बर प्रदेशको भावी मुख्यमन्त्रीको चर्चामा रहेका शेरधन राईसँग रातोपाटीको मेरो जीवनका लागि दीपेन्द्र राईले गरेको कुराकानी :
मेरो खाना
गाउँको सामान्य किसान परिवारमा जन्मेको मानिस भएकाले मकैको भात नै मन पर्छ । मेरो घर लेकमा पर्छ । आफ्नै बारीमा पाइने सिस्नु त्यत्तिकै मीठो लाग्छ । समय मिल्यो भने घर पुग्दा पीठो हालेको मकैको भात र सिस्नु हातले मुछेर खान असाध्यै मन पर्छ । आफ्नै बारीमा फलेको आलु पनि त्यस्तै मीठो मानेर खान्छु । गाउँको ढिँडोको स्वाद जिब्रोमै झुन्डिरहेको छ । लोकल कुखुराको मासु झन् मीठो लाग्छ । माछा र लोकल कुखुराबाहेकको मासु खाने बानी छैन ।
म जुनसुकै खाना रुचिपूर्वक खान्छु । चाइनिज, कोरियन र थाई खाना पनि मन नपर्ने होइन । चाइनिज, कोरियन र थाई खाना खान रेष्टुरेन्ट जाने गर्छु । रेष्टुरेन्ट पुगिहाल्दा लोकल कुखुरा, माछा र मःमः रोजाइमा पर्ने स्न्याक्स हुन् ।
पाककलाबारे जानकार छु । लोकल कुखुराको मासु र माछा राम्रै पकाउँछु । घर पुग्दासमेत आमाले मासु पकाउन लगाउनुहुन्छ ।
मेरो पोसाक
सानैदेखि आफूलाई सुहाउने र सहज हुने कपडा लगाउँथें । त्यतिबेला बुवाले दिनुभएको स्कुल खर्च जोगाएर आफूलाई सुहाउने, सहज र मन परेको कपडा किनेर लगाउँथें । त्यो बानी अहिलेसम्म छुटेको छैन । मिलाएर लगाउनुपर्छ, सफा लगाउनुपर्छ भन्नेमा ध्यान दिन्छु ।
धेरैजसो ‘रेडिमेड’ कपडा लगाउँछु । जिन्स पाइन्ट, सर्ट, टी–सर्ट, ज्याकेट, ‘स्पोर्ट्स सुज’ लगाउने गर्छु । धेरैले मेरो ‘ड्रसअप’ देखेर फलानाले कति मज्जाले मिलाएर लगाएको, कत्ति सुहाएको होला भनेर टिप्पणी गर्छन् ।
सेतो र कालो रङका कपडा रोजाइमा पर्छन् । कपडा सिलाउन परे काठमाडौंको बागबजारमा रहेको टिपटप, अनुपमा र मोनालिसा टेलरिङ सेन्टर पुग्ने गर्छु ।
केपी शर्मा ओली नेतृत्वको सरकारमा मैले साढे नौ महिनाभरि दौरासुरुवालमात्रै लगाएँ । त्यतिबेला १२ भन्दा बढी दौरासुरुवाल सिलाएको थिएँ । कपडाको ‘ब्रान्ड’प्रति त्यत्तिकै सचेत छु । जुत्ता, टी–सर्ट, ज्याकेटलगायत ‘ब्रान्डेड’ लगाउँदै आएको छु ।
मेरो फिटनेस
मन्त्री हुनुअघि क्लब जान्थें । डेढदेखि दुई घन्टासम्म शारीरिक अभ्यास गर्थें । शरीर बनाउनुभन्दा ‘मेन्टेन’ मा ध्यान दिन्छु । त्यसैले होला, धेरैले मेरो ‘फिजिकल आउटलुक’ प्रति सकारात्मक टिप्पणी गर्ने गरेका छन् । मन्त्री भइसकेपछि क्लब जान पाएको छैन । शारीरिक अभ्यासका लागि चाहिने एक सेट सामान व्यवस्था गरेको छु । दैनिकजसो घरमै डेढ–दुई घन्टा शारीरिक अभ्यास गर्छु ।
खानेकुरामा त्यत्तिकै सचेत छु । चिल्लो, पिरो र अमिलो खानेकुरा खाँदै खान्न । मर्निङवाक गरेर क्लब जाने बानी थियो, त्यो छुटिरहेको छ ।
मेरो अध्ययन
व्यस्तताका कारण हिजोआज किताब पढ्न पाएको छैन । पार्टी, कार्यक्षेत्र (त्यो भनेको पार्टीको राजनीतिक, सैद्धान्तिक कुरासँग सम्बन्धित) का सामग्री अध्ययन गर्नु त छँदै छ । त्यसबाहेक ‘न्युजपेपर’ पढ्छु । राजनीतिक नेताले दर्शनशास्त्र, राजनीतिशास्त्र, अर्थशास्त्र र साहित्यसम्बन्धी किताब पढ्न आवश्यक हुन्छ । उल्लिखित विधाका किताब पढ्न जाँगर चल्छ । मैले धेरैजसो म्याक्सिम गोर्की र माओका किताब पढेको छु । माक्र्सवादी किताब पढ्नैपर्यो । मोदनाथ प्रश्रितले लेख्नुभएको किताब पढेको छु । बजारमा आएका तर आफूलाई कामलाग्ने किताब पढ्न छुटाउँदिनँ ।
किताब नलेखे पनि आलेख लेख्ने गर्छु । बीचमा लेख्न भ्याएको छैन । मेरो निजी पुस्तकालयमा हजारौंको संख्यामा किताब छन् । सालिन्दा १५–२० हजार रुपैयाँको किताब किन्दै आएको छु ।
मेरो घुमफिर
घुमफिर गर्न असाध्यै मन पर्छ । तर, घुमफिर गर्न पाइरहेको छैन । सानैदेखि ठूलो जिम्मेवारी पूरा गर्दै आएको छु । संवत् २०५६ मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुँदा २६/२७ वर्षको थिएँ । त्यसपछि लगातार महत्वपूर्ण जिम्मेवारीमा छु । औपचारिक पदको जिम्मेवारीमै रहँदै आएकाले धितमरुन्जेल घुम्न पाएको छैन ।
१५ बढी देशको औपचारिक भ्रमण गरे पनि अनौपचारिक भ्रमणमा रमाउन पाएको छैन । कर्णाली र महाकालीका केहीबाहेक नेपालका अधिकांश जिल्ला पुगेको छु । घुमेकामध्ये पूर्वतिरका भोजपुर, इलाम र पश्चिमका पोखरा, पर्वत, बागलुङ असाध्यै मन पर्यो । पर्यटक भएर मुस्ताङ घुम्ने रहर छ । विकासे अध्ययनका लागि दक्षिण कोरिया र जापान जाने मन छ ।
मेरो फुर्सद
राति ११ देखि बिहान ५ बजेसम्म आराम गर्नेबाहेक फुर्सद हुँदैन । यति धेरै व्यस्त रहे पनि मोबाइल ‘स्वीचअफ’ गरेरै आराम गरौं भन्ने लाग्दैन । र, त्यस्तो गरेको छैन । फुर्सद भइहालेमा गीत–संगीत सुनेर मनोरञ्जन लिन्छु । त्यतिमात्रै होइन, इन्टरनेटको सुविधाले गर्दा विभिन्न शीर्षकमा संसारभरि रहेका साथीभाइसँग कुराकानी गरेर समय सदुपयोग गर्छु ।
मेरो बुवाआमा भोजपुरमै बस्नुहुन्छ । उहाँहरू काठमाडौं आउनुहुँदा खाना खान रेष्टुरेन्ट पुगे पनि चलचित्र हेर्नचाहिँ गएका छैनौं ।
मेरो खेलकुद
संवत् ०५१ सम्म भलिबल खेलेको थिएँ । क्षेत्रीयस्तरको भलिबल खेलाडी म टेबलटेनिसको पनि राम्रै खेलाडी हुँ । तेक्वान्डो पनि खेलेको थिएँ । फुटबल हेर्न मन लाग्छ ।
मेरो मोबाइल
साथीले उपहार दिनुभएको आइफोन प्रयोग गर्दै आएको छु । कामै नलाग्ने भएपछि मात्रै मोबाइल किन्ने गरेको छु । आफूलाई आवश्यक मोबाइलका सबै ‘एप्लिकेसन्स युज’ गर्छु । मोबाइलमा गेम खेल्ने बानी छैन ।
मेरो टेलिभिजन
टीभीमा विशेषतः समाचार हेर्छु । टीभी हेर्ने साइत बेलुका जुर्छ । मेरो कोठामा ३२ वा ३५ इन्चको सामसुङ टीभी छ ।
मेरो चलचित्र
अभिनेता विल्सनविक्रम राईको चलचित्र रातोघर पछिल्लो समय हेरेको थिएँ । दुई वर्षअघि दयाहाङ राई अभिनीत चलचित्र कबड्डी कबड्डी हेरेको हुँ । हेरेकामध्ये बलिदान, कबड्डी कबड्डी र दासढुंगा असाध्यै मन पर्यो ।
दयाहाङ राई, सरोज खनालको अभिनय जीवन्त लाग्छ । सबै नायिकाप्रति उत्तिकै सम्मान छ ।
मेरो रोग
पूर्ण रूपमा स्वस्थ छु । आजसम्म दीर्घरोगले समातेको छैन । सालिन्दा ‘होलबडी चेकअप’ गराउँछु । रक्तचापको अवस्था सामान्य छ । खानपान र नियमित शारीरिक अभ्यासले स्वस्थ रहेको हुँ भन्नेमा शंका छैन ।
मेरो भाषणशैली
आफ्नो भाषणशैली आफैंले मूल्यांकन गर्दा चित्तबुझ्दो लाग्छ । मेरो भाषण सुन्नेले दिएको प्रतिक्रियाका आधारमा मैले यसो भनेको हुँ । तर, आफ्नो भाषणशैलीदेखि आफैं सन्तुष्ट छु । भाषण गर्दा थेगो प्रयोग गर्ने बानी छैन । परिस्थिति हेरेर भाषण गर्नुपर्छ । भाषण गरेकै आधारमा विवादमा तानिएको छैन । भाषण गर्नअघि सामान्य तयारी गर्छु । त्यसो भन्दैमा घोकेर, लेखेर भाषण गर्ने मान्यता राख्दिनँ ।
मेरो मापसे
सामान्यतया मादक पदार्थ खाने गर्छु । जहाँ पायो त्यहीं, जस्तो पायो त्यस्तै खाने बानी छैन । सकेसम्म स्तरीय खानुपर्छ भन्ने लाग्छ । मलाई वाइन मन पर्छ । तर, लतका रूपमा खाने गरेको छैन । मादक पदार्थ खाएर मात्नुपर्छ भन्ने तरिकाले खाइँदैन । आजसम्म मात्नेगरी कहिल्यै खाएको छैन ।
मेरो संगीत
गीत–संगीत सुन्छु । राजेशपायल राई, नारायण गोपाल, कुन्ती मोक्तान, मिलन अमात्यको आवाज कर्णप्रिय लाग्छ । म आफैं पनि गुनगुनाउँछु । गीत गाउनैपर्ने भयो भने हात उठाउँदिनँ ।
मेरो भूल
मानिसबाट जानअन्जान गल्ती हुन्छन् । तर, आजसम्म पश्चाताप लाग्नेगरी गल्ती गरेको छैन ।
कहिलेकाहीं गल्ती नगरी पनि सजाय पाएको छु । मेरो व्यक्तिगत र राजनीतिक जीवन एउटै गतिमा अघि बढेको देख्न नसक्नेले सुनियोजित तरिकाले चरित्रहत्या गर्ने गर्छन् । आफ्नो गल्ती नभएकाले वास्तै गर्दिनँ ।
मेरो घर
भोजपुरमा रहेको बुवाको घर २०२७ सालमा बनेको हो । बुवाको आफ्नै कमाइले घर बनाइएको हो । तीनतले घर पहेंलो र रातोमाटोले पोतिएको छ । घर बनाउँदा कति खर्च लाग्यो बुवालाई सोधेको छैन ।
मेरो राशी
चिनाको नाम थाहा नभएकाले राशी केलाएको छैन । अहिलेसम्म ग्रहदशा हेराएको छैन । ग्रहशान्ति पनि गराएको छैन । घरमा कुलपित्र पुजिन्छ । तीनचुलाको पूजा गरिन्छ । त्यसप्रति गहिरो विश्वास छ । कुलपित्रमा भाग लिन्छु । तर, प्रतिफलको कुरा आफैंमा भर पर्छ । किनकि आफूले गरेको कर्मबाट फल प्राप्त हुने हो । तर पनि त्यो विश्वास हो । आस्था पनि हो । त्यसबाट मानिसले सकारात्मक सोच राख्छन् । प्रतिफलको आस गर्छन् । त्यहीअनुसार काम गर्छन् । यसरी प्रत्येक मानिस सफल हुन्छन् ।
मेरो सौन्दर्यचेत
कपालमा तेल प्रयोग गर्छु । अनुहारमा अहिलेसम्म साबुन प्रयोग गरेको छैन । क्रिम लगाउँदिनँ । सामान्यतः पफ्र्युम प्रयोग गर्छु । चिसो मौसममा साउनाबाथ लिन्छु ।
मेरो प्रेम
म अविवाहित हँु । १ नम्बर प्रदेशको ‘रेस’ मा छु । केही समयअघि मोरङ विराटनगरका पत्रकार साथीरूले बिहे कहिले गर्नुहुन्छ भनेर सोधेका थिए । मुख्यमन्त्रीको शपथ लिएर घरजम गर्ने भनेर उत्तर दिएको थिएँ । तपाईंलाई पनि यही उत्तर दिएँ ।
मेरो सपना
नेपाल संसारकै सुन्दर देश हो । संसारभरि यस्तो सुन्दर देश कतै छैन । नेपाल हिमाल, पहाड र तराई भएको देश हो । यहाँ प्राकृतिक स्रोत साधनको खानी छ । हामीले तीन काममात्रै गर्न सक्यौं भने पुग्छ । त्यो भनेको सजाउने, बनाउने र व्यवस्थापन गर्ने ।
नेपाल जस्तो अवस्थामा छ, त्यसलाई सजाइ दिए पुग्छ । अर्को व्यवस्थापन र तेस्रो निर्माण गर्ने । कहाँ–कहाँ के–के बनाउने भनेर वर्ष दिनभित्र अध्ययन पूरा गर्न सकिन्छ । त्यसपछि तुरुन्त बनाउन थाल्ने हो । सँगसँगै सजाउँदै जाने र प्रणाली बसाउँदै जाने हो भने मुलुक संसारकै सुन्दर र नमुना बन्न सक्छ । तर, राजनीतिक नेतृत्वको इच्छाशक्ति चाहिन्छ । सोच चाहियो । सोचसहितको समूह चाहिन्छ । तदनुरूप राज्यका सबै निकायलाई परिचालन गर्नुपर्छ । त्यो सम्भव पनि छ । त्यसो गर्न सकियो भने २५ वर्ष नेपाललाई संसारकै सुन्दर देश बनाउन सकिन्छ ।
हिजोदेखि आजसम्म त्याग, समर्पण, निष्ठा र इमानदारीपूर्वक राजनीतिमा लागिपरेको छु । त्यसको परिणामअनुसार आज यो हैसियतमा छु । मैले जुन–जुन जिम्मेवारी पाएँ, इमानदारीपूर्वक गरेको छु । म कहींबाट क्रेन लगाइएर, कसैको दयामायाँमा च्यापिएर आएको होइन । त्यही भएर दुई–दुईपटक संसद्मा पुगेको छु ।
संविधान जारीपछि केपी शर्मा ओली नेतृत्वको सरकारमा सूचना तथा सञ्चार मन्त्रालयको जिम्मेवारी पाउनु सामान्य होइन । साढे नौ महिना सञ्चारमन्त्री हुँदा उदाहरणीय काम गरेर सफल मन्त्रीका रूपमा दह्रिएँ । अहिले पार्टीले १ नम्बर प्रदेशको भावी मुख्य मन्त्रीका रूपमा पत्याएको छ । पाँच वर्ष मुख्यमन्त्री रहँदा गरेको कामका आधारमा मेरो आगामी राजनीतिक यात्रा तय हुन्छ ।
प्रदेश नम्बर १ हिमालैहिमालको प्रदेश हो । यहाँ सगरमाथा, कञ्चनजंघा, मकालुलगायतका हिमशृंखला छन् । हलेसी, पाथिभरा, वराहक्षेत्रलगायत धार्मिकस्थलमात्रै होइन, १ नम्बर प्रदेश सुनकोसी, दूधकोसी, सप्तकोसीको प्रदेश भनेर पनि चिनिन्छ । सबैभन्दा धेरै छिमेकी मुलुकसँग सम्बन्ध, सम्पर्क राख्न सक्ने प्रदेश पनि १ नम्बर नै हो । उल्लिखित चीजलाई आधार बनाएर प्रदेश नम्बर १ लाई सजाउँदा, बनाउँदा र व्यवस्थापन गर्दा सातमध्ये सबैभन्दा सुन्दर, नमुना र उन्नत प्रदेश बन्न सक्छ ।
मेरो मृत्यु
मृत्यु स्वाभाविक प्रक्रिया हो । मृत्युसँग डर लाग्दैन । जन्मेपछि मर्नुपर्ने भएकाले किन डराउनु ? म १० कक्षामा पढ्थें । टेस्ट परीक्षा दिनुपर्ने वर्ष थियो । साउनमा परीक्षा थियो । म जेठमा बिरामी परें । घरबाहिर डेरा गरेर पढ्थें । आउँ परेकाले मलाई बोकेर घर पुर्याइयो ।
तीन महिना थलिएँ । कुनै पनि औषधोपचारले छोएन । त्यही समय मेरो भाइको निधन भयो । म बिरामी भएको सबैलाई थाहा थियो । भाइ बिरामी परेको कसैलाई थाहा भएन । जब फलानाका छोरा बिते भन्ने खबर बाहिर आयो, शेरधन राई बिते भनेर बुझे । विद्यालयमा शोकसभा गरियो । कविता वाचन गरियो । विद्यालय बिदा दिने बेला एकजना साथीले शेरधन होइन भनेपछि पठनपाठन भने रोकिएन ।
०७० सालको निर्वाचनअघि म अचानक बिरामी परें । मलाई भोजपुरबाट विमानमा काठमाडौं ल्याएर हेल्पिङ हेन्ड्समा भर्ना गरियो । म अचेत थिएँ । चिकित्सकले बाँच्ने सम्भावना ४० प्रतिशतमात्रै छ भनेका थिए । मलाई आईसीयूमा राखियो । त्यही समय मलाई हेर्न राष्ट्रपति विद्या भण्डारी आउनुभएको रहेछ । राष्ट्रपति भण्डारीले मलाई नर्भिक अस्पताल सार्ने निर्णय गर्नुभएको रहेछ ।
मलाई नर्भिक पुर्याइयो । उपचार सुरु भयो । सबै नेताले मलाई मारिसकेका थिए । तीनदेखि चार लाखबीच हुनुपर्ने मेरो प्लेटलेस २२ हजारमा झरेको थियो । चारदेखि ११ हजारबीच हुनुपर्ने डब्लुबीसी १८ सयमा झरिसकेको थियो । तर, उपचारपछि बाँचें । अन्य घटना भए पनि उल्लिखित दुई घटना स्मरणीय लाग्छ ।
सहज र स्वाभाविक मृत्युवरण होस् भन्ने लोभ छ । जसलाई सबैले सम्झिऊन् । मेरो मृत्युबाट धेरैलाई ऊर्जा मिलोस् । प्रेरणा मिलोस् ।