मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

टान निर्वाचनका लागि दुई व्यवसायी सङ्गठनको नयाँ गठबन्धन

मङ्गलबार, १९ असोज २०७२, ०८ : ०८
मङ्गलबार, १९ असोज २०७२
काठमाडौँ–ट्रेकिङ एजेन्टस् एसोसिएसन अफ नेपाल (टान)को आगामी निर्वाचनका लागि दुई पर्यटन व्यवसायी सङ्गठनबीच सहकार्य हुने भएको छ । नेपाली काँग्रेस निकट राष्ट्रिय पर्यटन व्यवसायी सङ्घ नेपाल (निट–नेपाल) र एकीकृत (माओवादी) निकट नेपाल पर्यटन व्यवसायी मञ्चबीच नयाँ गठबन्धन बनेको हो । दुवै सङ्गठनको सहमतिअनुसार मञ्चका तर्फबाट टानको अध्यक्षका लागि उम्मेदवारी दिएका सागर पाण्डेको नेतृत्वमा टिम बनाएर निर्वाचनमा जाने भएका छन् । तद्अनुरुप टानको अध्यक्ष र द्वितीय उपाध्यक्ष र आधाजस्तो सदस्य मञ्चलाई र त्यसबाहेकका सबै पदाधिकारी र सदस्य निट–नेपालको हुने गरी भागबन्डा गरिएको छ । यही असोज २८ गते हुने टानको निर्वाचनका लागि अध्यक्षमा सागर पाण्डे, वरिष्ठ उपाध्यक्षमा निमा शेर्पा, प्रथम उपाध्यक्षमा विद्या हिराचन, द्वितीय उपाध्यक्षमा ऋषि नेपाल र महासचिवमा पासाङ शेर्पा, कोषाध्यक्षमा लीलाबल्लभ दाहाल र सहकोषाध्यक्षमा शङ्कर पाण्डेले उम्मेद्वारी घोषणा गरेका छन् । टिम निर्माणमा राजनीतिसँग सरोकार राख्ने समूह लागि परेपनि परिणाममा यसले नितान्त व्यावसायिकता प्रधान उम्मेदवारलाई प्रत्यासी बनाउने प्रयास गरिने निट–नेपालका अध्यक्ष दीपक महतले बताए । समग्रमा यो व्यवसाय केन्द्रित समावेशी समूह भएको र जातीय, भौगोलिक, लैङ्गिक हिसाबले पनि सशक्त भएकाले नेतृत्व आफूहरूले जित्ने उनले दाबी गरे । अध्यक्षका प्रत्यासी सागर पाण्डेले समसामयिक चुनौती सामना गरी दीर्घकालीन योजना ल्याउने योजनाका साथ व्यावसायिक नेतृत्व आएकाले निर्वाचन जित्ने विश्वास व्यक्त गरे । उनले पर्वतीय पर्यटन र पदयात्रा पर्यटनसम्बन्धी नीतिगत सुधार गरी पर्यटकको सङ्ख्या बढाउन पूर्वाधार विकासलगायतका कार्ययोजना ल्याइने उल्लेख गरे । कुल एक हजार मतदाता रहेको टानमा ५५० मत आफ्नो पक्षमा आउने नयाँ गठबन्धन टिमको दाबी छ । तर पर्यटक मजदुरको पक्कड भएको चन्द्रप्रसाद रिजाल समूह पनि निकै दरिलो टिम मानिएको छ । एमाले निकट राष्ट्रिय पर्यटन व्यवसायी सङ्गठनले टान निर्वाचनका लागि एक साताअघि नै नयाँ टिम घोषणा गरिसकेको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप