मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

मौसम खुलेसँगै पर्यटकीयस्थलमा पर्यटकको चहलपहल बाक्लिँदै

बुधबार, ११ कात्तिक २०७२, १६ : ४७
बुधबार, ११ कात्तिक २०७२

इलाम – मौसम खुलेसँगै इलामका पर्यटकीयस्थलमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको छ ।

जिल्लाकै अग्लो स्थानमा रहेको सन्दकपुर, कन्याम, सानो पाथीभरा, माइपोखरी र अन्य पर्यटकीयस्थलमा भारतीय र पश्चिमी मुलुकबाट बाह्य तथा झापा, मोरङ, सुनसरी, काठमाडाँैलगायतका ठाउँबाट आन्तरिक पर्यटक आउने क्रम बढ्दै गएको हो ।

यसपटक छिट्टै मौसम खुलेकाले सन्दकपुरमा पर्यटक आवागमन बढेको स्थानीय शेर्पा च्यालेट होटलका नर्वु शेर्पाले बताए । “चाडवाडको समय, अनि खुला मौसम भएकाले यस क्षेत्रका होटल बुक भइसकेका छन्” उनले भने ।

सन्दकपुरबाट कञ्चनजङ्घा, सगरमाथा, कुम्भकर्णलगायतका हिमशृङ्खलासँगै सूर्यादय र सूर्यास्तको दृष्यावलोकन तथा नेपाल र भारतका थुप्रै स्थान देख्न सकिन्छ ।

यसैगरी पूर्वको हरियालीको रूपमा रहेको चियाको बारीले चिनिएको कन्याममा पनि बनभोज खाने र घुम्न आउने पर्यटक धेरै छन् । यहाँ दैनिक २०० भन्दा बढी आन्तरिक पर्यटक आउने गरेको कन्यामका काजीमान कागते बताउँछन्।

झापा, मोरङ, काठमाडाँैलगायत देशका विभिन्न जिल्लाबाट पर्यटक आएका छन् । यहाँबाट श्रीअन्तु, समालबुङ र कन्याम क्षेत्रको सुन्दर हरियाली देख्न सकिन्छ ।

पूर्वकै कान्छो सिमसार क्षेत्र माइपोखरी घुम्न आउनेको सङ्ख्या पनि उल्लेख्य छ । बरबोटे हुँदै १३ किलोमिटर कच्ची सडक पार गरेर पुगिने माइपोखरीमा आजभोलि दैनिक २०० भन्दा बढी पर्यटक आउन थालेको धार्मिक वन समूहका अध्यक्ष कमल मुखियाले बताए ।

यहाँ विश्वमै लोपोन्मुख गलँैचे झ्याउ, अनौठा खालका चरा, ठकठकेलगायतका पक्षी तथा वनस्पति पाइन्छन् । माइपोखरीमा पानीको सतह बढ्न थालेपछि पर्यटक आगमनमा वृद्धि भएको मुखियाले बताए । विभिन्न प्रजातिका लालीगुराँस र लोपोन्मुख रेडपाण्डा, काँडेभ्याकुरजस्ता पक्षी तथा जनवार सन्दकपुर क्षेत्रमा पाइन्छन् । जमुनामा रहेको चोयाटार सामुदायिक वन रेडपाण्डाको वासस्थान मानिन्छ ।

कन्काई माइको उद्गमस्थल तीन हजार ६३६ मिटरको उचाईमा रहेको सन्दकपुर धार्मिक दृष्टिले पनि महत्वपूर्ण मानिन्छ ।

भारतको दार्जिलिङबाट सीमावर्ती मानेभञ्ज्याङ हुँदै धेरै पर्यटक सन्दकपुर पुग्छन् । मानेभञ्ज्याङदेखि ३१ किलोमिटरमा रहेको सन्दकपुरबीचका मेघ्मा, तुम्लिङ, जौवारी, गैरिवास, कैयाकट्टा र कालपोखरीमा पनि पर्यटक रोकिने भएकाले त्यहाँको चहलपहल पनि बढेको छ ।

सदरमुकामबाट बिब्ल््याँटे हुँदै माबुबाट सन्दकपुरसम्म मोटर सडक जोडिएको छ । माइपोखरी हुँदै माइमझुवा भएर पनि सन्दकपुर पुग्न सकिन्छ ।

पर्यटन सूचना केन्द्र कोल्बुङका सूचना अधिकारी प्रेम अधिकारीका अनुसार चालु आवको तीन महिनामा एक हजार ६०० भन्दा बढी पर्यटक इलाम आएका छन् । साउनमा ४००, भदौमा ६०० र असोजमा ६४२ जना र कात्तिकयता १०० भन्दा बढी पर्यटक जिल्लामा भित्रिएका हुन् ।

अमेरिका, जर्मन र भारतबाट पर्यटक आएको अधिकारीले जानकारी दिए । भारतको अघोषित नाकाबन्दीले समेत पर्यटक आवागमनमा असर पु¥याएको अधिकारीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप