मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

जोडी जुराउने र सन्तान माग्ने अनौठो मेला

शुक्रबार, १० पुस २०७२, १७ : ३०
शुक्रबार, १० पुस २०७२

नुवाकोट – मन्दिरमा भगवानसँग वरदान माग्ने चलन धार्मिक मान्यतामा विश्वास राख्ने समाजमा सदियौँदेखि चल्दै आएपनि पुरा हुने वा नहुने कुनै वैज्ञानिक आधार भेटिएको त छैन । तर, नुवाकोटको एक धार्मिकस्थलमा वर्षेनी लाग्ने मेलामा भने मागेको पुरा हुने जनविश्वास छ । विशेषगरी जोडी जुराउन र सन्तान माग्नकै लागी यहाँ लाग्ने परम्परादेखिको एउटा मेला नेपालकै सन्दर्भमा भने अलि अनोठो र फरक छ । जिल्लाको पुर्वमा रहेको राउतवेंशी गाविसमा पर्ने ऐतिहासिक एवं धार्मिक दुप्चेश्वर महादेवको मन्दिरमा निसन्तान भक्तजनहरु सन्तान प्राप्तीको कामना गर्दै मेला भर्न जाने अनौठो चलन आजसम्म पनि निरन्तर छ । सदरमुकाम विदुरदेखि पुर्वमा रहेको राउतवेंशी गाविसको दुप्चेश्वर महादेवको मन्दिरमा यस्तो आस्था बोकेर जाने भक्तजनको आकर्षणले पछिल्लो समयमा सांस्कृतिक तथा धार्मिक महत्वलाई उजागर समेत गरिरहेको छ । हरेक वर्षको पुस महिनामा धान्यपूर्णिमाका अवसरमा साताव्यापी विषेश मेला लाग्ने जिल्लाकै प्रसिद्ध दुप्चेश्वर मन्दिरमा मुख्यतः सन्तान नहुने दम्पतिहरु सन्तान माग्न आउने र महादेवको भक्तिपछि दैवी शक्तिले सन्तान प्राप्त हुने विश्वास गरिन्छ । यसै विश्वास अनुरुप यसपटक पनि विगत पाँच दिनदेखि राउतवेंसी–८ मा आजका दिनसम्म लाग्ने मेलामा शुक्रवारसम्म ६० हजारभन्दा बढी भक्तजनले दुप्चेश्वरको दर्शन गरिसकेका छन् । पौराणिक कथनअनुसार चारसय वर्षअघि स्थानिय एक तामाङको दुहुनो गाई गोठालोमा हराएपछि खोजी गर्दै जाादा छङ्गाछुरको पहरोमा आफ्नो चारै थुनबाट दुध चढाइरहेको भेटिएपछि सो ठाउँमा दुप्चेश्वर महादेव रहेको विश्वासमा प्रत्यक वर्ष धान्यपूर्णिमाका दिन विषेश मेला लाग्दै आएको छ । अर्कोतर्फ, समुन्द्र मन्थनपछि निस्किएको कालकुट विष सेवनले रन्थनिएका महादेव गोसाइकुण्ड जाँदा दुप्चेश्वरमा आउने गरेको जनश्रुती पाइन्छ । त्यसैले सोही स्थानमा दुधेश्वर महादेव उत्पती भएका र पछि अपभ्रश भई दुप्चेश्वर नामाकरण भएको अर्को किंवदन्ती पाइन्छ । दुप्चेश्वर महादेवको मेला भर्न राजधानी काठमाण्डौं, धादिङ, रसुवा, सिन्धुपाल्चोक, मकवानपुर, गोरखा, चितवन लगायत देशका विभिन्न भागहरुबाट यहाँ वर्षेनी हजारौँ दम्पती भक्तजनहरु महादेवसँग सन्तान माग्न आउने गरेका छन् । ‘जे माग्यो त्यही पूरा हुने’ धार्मिक विश्वास रहेको यस मन्दिरलाई हिन्दू र वौद्ध धर्मालम्बीहरुले दोस्रो पशुपतिनाथको रुपमा पुकार्दै आएका छन् । विषेशगरी निःसन्तान दम्पतिको इच्छा पूरा गरिदिने भएकोले मेलामा भीड लाग्ने गरेको दुप्चेश्वर संरक्षण समितिका कुमार पण्डितले बताए । दुप्चेश्वरको दर्शन गर्नाले मनले चिताएको पुग्ने, पुत्र प्राप्ती हुने, लामो समयसम्म नबोल्ने बालबच्चा बोल्ने विश्वासमा यहाँ टाढाटाढाका भक्तजनहरु भाकल गर्ने र भाकल पुरा भएपछि पनि महादेवको दर्शनका लागी यहाँ ओइरो लाग्छन् । छोराछोरी नभएकाको सन्तान, विवाह नभएकाको विवाहको लगन गराइदिन प्रार्थना गर्ने गरेको र इच्छा पूरा पनि भएको धेरै भक्तजनहरुको अनुभव पनि यहाँ सुन्न पाइन्छ । दुर्गम क्षेत्र समेत मानिने यस धार्मिक स्थलमा रहेको दुप्चेश्वर मन्दिर सातसय मिटरभन्दा अग्लो चट्टानको पहरोमा अवस्थित छ । मन्दिरको फेदीमा रहेको तादी नदीबाट बनाईएको घुमाउरो छिँडी हुँदै पालैपालो भक्तजनहरुले पूजा र दर्शनका लागी उक्लने गरेका छन् ।

धार्मिक पर्यटनको गन्तव्यको रुपमा गतिलो सम्भावना बोकेको यस मेलामा तामाङ, शेर्पा जातिका परम्परागत संस्कृतिको प्रदर्शन रोचक र अनौठोसँग हेर्न पाइन्छ । मेलामा शेर्पा जातिहरु ढ्याङ्ग्रो ठोक्दै झाँक्रीको भेषमा महादेव खुसी पार्न रातभर झाँकी प्रदर्शन गर्छन । तामाङ सेलो, साइगोले लगायतका तामाङ लोकसाँस्कृतिक गीत र नृत्यहरु यस मेलाको अर्को आकर्षण हो । यसका साथै स्थानिय उत्पादनहरुको बिक्रि वितरणसमेत हुने गरेको छ । मेलामा बाँस तथा चोयाको थुन्चे, डोका डाला र धुपी काठको लाखौँ बराबरको व्यापार समेत हुने गर्दछ । यो मेला साँस्कृतिक र आर्थिक दृष्टिकोणबाटसमेत महत्वपूर्ण मानिँदै आएको छ । दुप्चेश्वरलाई सन्तानेश्वर महादेवका रुपमा पुकार्दै आउने भक्तजनहरु दिनानुदिन बढ्दै गएको स्थानियवासीको भनाई छ । दुप्चेश्वर सबै धर्मको आश्थाका केन्द्रसमेत मानिएकाले यस क्षेत्रको विकासमा विषेश पहल हुनुपर्ने स्थानियवासीहरुको माग छ । सरकारी स्तरबाट यहाँ कुनैपनि पर्यटकिय महत्वको प्रचारप्रसार नभएकोले मेलाबाहेक अन्य समयमा यहाा आउनेको संख्या अति नै न्यून रहेको दुप्चेश्वर मेला संरक्षण तथा व्यवस्थापन समितिले जनाएको छ । दुप्चेश्वर महादेव जस्ता धार्मिक एवं एतिहासिक सम्पदाको संबद्र्धन र प्रचारप्रसार गरी आन्तरिक एवं वाह्य पर्यटकहरु भित्र्याउन सके नुवाकोटको मात्र नभई राष्ट्रिय आर्थिक समुन्नतिमा महत्वपूर्ण देन रहने बुद्धिजिवीहरुको विश्वास छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप