मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

‘होम स्टे’सँगै भदौरे–पञ्चासेको पर्यटकीय प्रवर्द्धनमा जुटे युवा

शनिबार, ११ पुस २०७२, १४ : ५६
शनिबार, ११ पुस २०७२
[caption id="attachment_21582" align="alignleft" width="840"] फोटो : बासुदेव[/caption] पोखरा– विश्वमै पर्यटकीय नगरीका रुपमा प्रख्यात पोखरा सहर नजिकैको रमणीय भदौरे–पञ्चासे क्षेत्रको पर्यटकीय विकास अभियानमा यहाँका युवाहरू जुटेका छन् । होम स्टे (घरवास)का माध्यमबाट स्वदेशी तथा विदेशी पर्यटकलाई यहाँको आकर्षण पस्किन क्रियाशील यहाँका युवाले रोजगारीका विदेसिन आवश्यक नभएको सन्देश पनि दिएका छन् । विगत तीन वर्षयता भदौरे गाविसको वडा नं १ मा १५ र वडा नं २ मा २५ वटा घरमा घरबास कार्यक्रम सञ्चालन गरिएको छ । स्थानीयवासी एवम् घरबास सञ्चालिका दुर्गीमाया गुरुङ घरबास कार्यक्रमसँगै यहाँका युवा रोजगारीका लागि विदेसिन नपरेको बताउँछिन । “पाहुनाहरूलाई स्थानीय रुपमा उत्पादित वस्तु नै खुवाउने सोचका कारण घरबाससँगै कृषि उत्पादनमा पनि जोड दिएका छौ,” उनले भनिन् – “दाल बाहेक हामीले अन्य वस्तु किन्नुपरेको छैन ।” सामूहिक रुपमा गरिएको प्रयासका कारण पनि सबैमा उत्साह थपिएको सामूदायिक तमुह्युला होमस्टे समितिकी सदस्य समेत रहेकी गुरुङको भनाइ छ । जैविक विविधताले भरिपूर्ण भदौरे पञ्चासे क्षेत्र प्रकृति, वनस्पति र पशुपक्षी अध्ययन एवम् अनुसन्धानका लागि महत्वपूर्ण स्थल हो । समुद्री सतहबाट दुई हजार ५२३ मिटर अग्लो पञ्चासेमा वार्षिक रुपमा करिब १० हजार विदेशी र २० हजार स्वदेशी आउने गर्छन् । यहाँ आइपुग्ने बाटो व्यवस्थित भइनसकेकाले पर्यटकको बसाइ लम्ब्याउन नसकिएको स्थानीय गुरुङ होमस्टे भदौरेका अध्यक्ष रुपेश गुरुङले बताए । बाटोघाटो लगायतको भौतिक पूर्वाधार तयार नभएका कारण पर्यटक आकर्षण गर्ने प्रचूर सम्भावना भएर पनि सोचेजति पाहुनालाई यस क्षेत्रमा ल्याउन नसकिएकामा उनलाई पछुतो छ । जैविक विविधतायुक्त रमणीय वातावरण रहेको यस क्षेत्रमा एक सय १३ प्रकारका सुनाखरी, एक सय ५१ प्रकारका जडीबुटी, एक सय सात प्रकारका बनस्पति र दुई सय ८५ प्रकारका चराचुरुङ्गी पाइन्छ । विश्वमै नपाइने अत्यन्त दुर्लभ दुई जातको सुनाखरी यही क्षेत्रमा मात्र पाइने गुरुङले जानकारी गराए । यहाँको पञ्चासे क्षेत्र धार्मिक पर्यटनका लागि पनि उत्तिकै आकर्षक स्थल हो । लगभग पाँच हजार ५०० हेक्टर क्षेत्रफलमा फैलिएको यो स्थलमा घण्टे पोखरी अवस्थित छ । कास्की, पर्वत र स्याङजा जिल्लाको संगमस्थल यहाँबाट माछापुच्छ«े, अन्नपूर्ण, धवलागिरि लगायतका हिम श्रृङखला एक साथ हेर्न सकिन्छ । गुराँसको रमणीय जङ्गल भएका कारण फागुनदेखि वैशाखसम्मको समयमा यहाँको सुन्दरता अझै उचाइमा पुग्ने गरेको छ । घण्टे पोखरीको नाम कसरी रहन गयो भन्ने सम्बन्धमा रोचक प्रसङ्ग रहेको छ । छत्तीस हात लामो र नौ हात चौडाइ भएको यो पोखरीमा घण्टी भने बज्दैन । पोखरीको शिरबाट हेर्दा माछापुच्छ«े लगायतका हिमश्रृङखलाको छाया, फेदबाट हेर्दा पञ्चासेको छाया, पूर्वबाट घाम अस्ताएको मनमोहक दृश्य सतहमा देखिन्छ । “उच्च पहाडी भागमा रहेको अत्यन्त स्वच्छ यो पोखरीको सौन्दर्यको वर्णन विदेशी पर्यटक मार्फत विश्वका कुना कुनामा पुग्ने गर्छ,” गुरुङले भने – “पोखरीको चर्चाको घण्टी टाढा टाढा पुग्ने गरेकै कारण यसलाई घण्टे पोखरी भनिएको हो ।” बाटोको राम्रो व्यवस्था हुन नसक्दा यहाँका धेरै पर्यटकीय स्थलमा पर्यटकलाई पु¥याउन समस्या भएको स्थानीयवासी बताउँछन् । यहाँ विभिन्न तीनवटा छहरा पनि छन् । यहाँको छन्द्रे र गौसो छहरा एक सय ५० मिटर अग्ला छहरा छन् । खोपा छहरा ३० मिटर माथिबाट खस्छ । छहरा पनि यहाँको पर्यटकीय आकर्षण भएको बताउने भदौरे क्लबका अध्यक्ष जीवन गुरुङले बाटोको अभावमा पर्यटकलाई त्यस स्थानमा पु¥याउन नसकिएको बताउँछन् । गत साउनमा पहिरो गएर बिग्रेको पैदलमार्ग समेत बनाउन नसकिएकामा उनलाई दुःख लाग्छ । बैशाख १२ मा गएको गोरखा भूकम्प, साउनमा गएको बाढी पहिरो र त्यसपछि थपिएको नाकाबन्दीको दुष्प्रभाव यहाँको पर्यटन उद्योममा पनि परेको छ । उनले पूर्वाधारको अभावमा पदमार्गमा हिँड्ने बाहेक अन्य पर्यटकीय स्थलमा पर्यटक पुग्न नसकेको बताए । घरबास योजनाअन्तर्गत पर्यटकलाई सेवा प्रवाह गर्न यहाँका स्थानीय जनता सक्रिय छन् । यहाँका होटल समेतको क्षमतालाई हेर्दा लगभग २०० जना पर्यटकलाई दैनिक बस्ने र खाने व्यवस्था गर्न सकिने अध्यक्ष गुरुङ बताउँछन् । भदौरे क्लबका पूर्व अध्यक्ष आइन्दल गुरुङका अनुसार यस क्षेत्रको विकास र प्रचारप्रसारका लागि स्थानीय युवाको सक्रियतामा यस वर्ष गत पुस १ देखि ६ गतेसम्म १८ औँ ल्होसार मेला तथा भदौरे–पञ्चासे मेला सम्पन्न गरिएको छ । जैविक विविधता, चराचर तथा बन जङ्गलको अध्ययन अनुसन्धानका साथै खला ठाउँमा रात बिताउन आउनेहरूको सङ्ख्या पनि पछिल्लो समयमा बढेको स्थानीयवासी बताउँछन् । घरबास कार्यक्रमसँगै स्थानीय जनताका लागि आयआर्जनको ढोका खुलेर यहाँका युवाको विदेसिने क्रम रोकिएको मात्रै छैन यस क्षेत्रको समग्र पर्यटकीय विकासका सम्भावना पनि बढेर गएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप