बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय

काँग्रेस, मोर्चा र एमाओवादी बैठक छलफलबाट अगाडि बढ्ने निष्कर्ष

शनिबार, ११ पुस २०७२, २२ : ४९
शनिबार, ११ पुस २०७२

काठमाडौँ–संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस, संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र सत्तापक्ष एकीकृत नेकपा ९माओवादी०बीच मुलुकको पछिल्लो समसामयिक विषयमा छलफल भएको छ ।

काँग्रेस सभापति सुशील कोइराला निवास महाराजगन्जमा आज बेलुकी भएको छलफलमा तराई मधेसको समस्या र संविधान संशोधनको विषयमा छलफल भएको थियो ।

छलफलमा सहभागी एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले देशको पछिल्लो अवस्थाका बारेमा छलफल भएको तथा वार्ता र संवादबाट वर्तमान समस्याको समाधान हुने बताए । अध्यक्ष दाहालले भोलि बिहान नेकपा ९एमाले० सहित सबै दलका शीर्षनेता बसेर छलफल गर्नेसमेत जानकारी दिए ।

छलफलपछि नेपाली काँग्रेसका प्रवक्ता दिलेन्द्रप्रसाद बडूले वार्ता अत्यन्त सकारात्मक र उपलब्धिमूलक भएको बताए । उनले भोलि संसद्मा प्रस्तुत हुने संशोधन प्रस्तावमा आवश्यक ठाउँमा भाषागत र भावनागत परिमार्जनको आवश्यक भए मोर्चाले आफ्नो माग राखेर अगाडि बढ्नुपर्ने बताए ।

प्रवक्ता बडूले वार्ता र संवादबाट राजनीतिक समाधान खोजिने बताउँदै उनले एमाओवादी सरकारमा रहेकाले एमाओवादीका अध्यक्ष दाहालले सरकारसँग छलफल गरी सरकारको आधिकारिक धारणा ल्याउने विश्वास व्यक्त गरे ।

सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले बैठकमा केही छलफल भए पनि निष्कर्ष केही ननिस्किएको बताए । उनले मधेस आन्दोलनले उठाएका मुद्दा ठोस रुपमा नउठाएसम्म मधेस आन्दोलन रोकिँदैन भने ।

छलफलमा काँग्रेसका तर्फबाट सभापति कोइराला, एमाओवादी अध्यक्ष दाहाल, काँग्रेस महामन्त्री प्रकाशमान सिंह, नेता अर्जुननरसिंह केसी, दिलेन्द्रप्रसाद बडू, डा मीनेन्द्र रिजाल, संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका तर्फबाट सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, महेन्द्रराय यादव, रामनरेश राय यादव, मनिष सुमनलगायतको उपस्थिति थियो ।

त्रिपक्षीय वार्ता बस्नुअघि कोइराला निवासमै नेपाली काँग्रेस र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच तराई–मधेसको समस्या समाधान र संविधान संशोधनबारे छलफल भएको थियो ।

त्यसैगरी प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र एकीकृत नेकपा ९माओवादी०बीच आज दिउँसो भएको छलफलमा छलफलमा मधेसवादी दललाई समेत सहमतिमा ल्याएर संविधान संशोधन विधेयकलाई अगाडि बढाउने र मुलुकले भोगिरहेको समस्या समाधान गर्न दुबै पक्ष सहमत भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप