मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

नयाँ वर्षको पूर्वसन्ध्यादेखि ठमेल चौबिसै घन्टा खुल्ला हुने

आइतबार, १२ पुस २०७२, ११ : ४८
आइतबार, १२ पुस २०७२
काठमाडौँ–राजधानीको प्रमुख पर्यटकीय स्थल ठमेल अबदेखि चौबिसै घन्टा खुल्ला हुने भएको छ । पर्यटकको सुविधालाई दृष्टिगत गर्दै आउँदो सन् २०१६ अङ्ग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यादेखि ठमेल क्षेत्रका सबैखाले सेवालाई चौबिसै घन्टा खुलाइने भएको हो । ठमेल पर्यटन विकास परिषद्ले जिल्ला प्रशासन कार्यालय काठमाडौँ र महानगरीय प्रहरी आयुक्तको कार्यालयको सहकार्यमा ठमेलमा चौबिसै घन्टा पर्यटकले सेवा पाउने गरी व्यवस्था मिलाएकोे छ । विदेशी पर्यटकले खर्च गर्ने तथा मनोरञ्जनको वातावरण नभएको गुनासोलाई मध्यनजर गरी ठमेललाई चौबिसै घन्टा सञ्चालन गर्न लागिएको परिषद्का अध्यक्ष रामशरण थपलियाले  जानकारी दिनुभयो । उहाँका अनुसार पर्यटकको आवश्यकताअनुसार ठमेलका डिस्को र बार बिहान ४ बजेसम्म र होटल तथा रेस्टुराँ बिहान २ बजेसम्म खुल्ला गरिनेछ । पर्यटक तथा व्यवसायीको सुरक्षाका लागि आवश्यक व्यवस्था मिलाइएको र ठमेलका मुख्य सडकमा सिसी क्यामेरा जडान र सोलार बत्ती राख्ने काम धमाधम भइरहेको परिषद्ले जनाएको छ । परिषद्को विवरणअनुसार ठमेल क्षेत्रमा एक हजार घरमा होटल, रेस्टुराँ, ट्राभल, ट्रेकिङलगायत गरी करिब चार हजार व्यावसायिक केन्द्र छन् । नेपाल घुम्न आउने जम्मा पर्यटकमध्ये ८० प्रतिशत ठमेल क्षेत्रमा जाने गर्छन् । नयाँ वर्षमा विशेष साङ्गीतिक कार्यक्रम पर्यटकको आकर्षणलाई मध्यनजर गर्दै परिषद्ले अङ्ग्रेजी नयाँ वर्षको अवसरमा विशेष सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ । नयाँ वर्षको पूर्वसन्ध्यामा साँझ ६ देखि ८ बजेसम्म नेपाली मौलिक १२ प्रकारका साङ्गीतिक कार्यक्रम तथा राति ९ देखि १२ः३० बजेसम्म विशेष डिजे सांस्कृतिक कार्यक्रम गरिने आयोजक ठमेल पर्यटन विकास परिषद्ले जनाएको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप