बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय

जाजरकोटमा छात्रालाई महिनावारीका बेला अब समस्या भएन

सोमबार, १३ पुस २०७२, १४ : २०
सोमबार, १३ पुस २०७२

जाजरकोट– महिनावारीका बेला सरसफाइ र आराम गर्न सुविधासहितको छुट्टै घरको व्यवस्था गरिएपछि जाजरकोटको भेरीमालीका नगरपालिका–९ को कालाभुरमा रहेको दीपेन्द्र उमाविका छात्रा नियमित रुपमा विद्यालय आउन थालेका छन् ।

महिनावारीका बेला सरसफाइ र आराम गर्ने ठाउँको व्यवस्था नहुँदा छात्रा नियमित रुपमा विद्यालय आउने गरेका थिएनन् । छात्रा शौचालय र महिनावारी हुँदा सरसफाइ तथा आराम गर्न छुट्टै घरको व्यवस्था भएपछि छात्राको उपस्थिति बढेको हो । विद्यालयका सबै छात्राले महिनावारीको समयमा उक्त घरको प्रयोग गर्ने गरेका छन् ।

जिल्लाका अधिकांश विद्यालयमा सफाइ तथा आराम घरको व्यवस्था नहुँदा विद्यालयमा छात्राको उपस्थिति घट्ने तथा पढाइमा समस्या हुने जिल्ला शिक्षा कार्यालयले जनाएको छ । कालाभुरको दीपेन्द्र उमाविबाहेक जिल्लाका सबै विद्यालयमा महिनावारी हुँदा सफाइ तथा आराम गर्ने कोठाको उचित प्रबन्ध नहुँदा छात्रालाई विद्यालय आउन असहज छ ।

छात्राको समस्यालाई ध्यान दिँदै विद्यालयको बाल क्लबको अगुवाइमा रु दुई लाखको लागतमा उक्त पक्की भवन निर्माण गरिएको हो । भवनको सदुपयोगका लागि वातावरणीय कृषि तथा विकास केन्द्र (केड)ले बहुआयामिक विकास अध्ययन मञ्चमार्फत छात्रवृत्ति तथा ‘प्याड’को व्यवस्था गरेको केडका कार्यक्रम अधिकृत रामविक्रम शाहले बताए ।

बीस जना गरिब, विपन्न, असहाय र पाठेघर खसेका आमाका छोरीले रु छ हजारका दरले छात्रवृत्ति पाइरहेको विद्यालयका प्रधानाध्यापक बलदेव शाहले बताए । उनका अनुसार सबैले प्रयोग गर्ने गरी १५० प्याड एकमुष्ट विद्यालयलाई दिने गरिएको छ ।

संस्थाले वितरण गरेका प्याड नपुग भएपछि विद्यार्थी आफैंले घरबाट घरेलु प्याड ल्याउने गरेको सफाइ तथा आराम घरकी प्रमुख शिक्षिका सरिता केसीले बताए । “छात्राले पाँच÷पाँच वटा दरले घरेलु प्याड बनाएर ल्याउँछन्, विद्यालयमा रहेको सामजिक ९महिनावारी० बाकसमा राख्छन्, पछि जसलाई चाहिन्छ, उसैले प्रयोग गर्ने गर्छन्”–उनले भने ।

“पहिला महिनावारी हुँदा सरसफाइ तथा आराम गर्न छुट्टै कोठाको व्यवस्था नहुँदा विद्यालय आउन पनि लाज लाग्थ्यो, अहिले यस्तो व्यवस्था भएपछि आफू जस्तै धेरै साथीलाई सहज भएको छ”– कक्षा नौ मा अध्ययनरत छात्रा पुष्पा पौडेले भने ।

स्थानीय निकायले लक्ष्यित वर्गअन्तर्गत बालबालिकाको नामको बजेट उनीहरुकै आवश्यकताका आधारमा र सहभागितामा योजना कार्यान्वयन गर्दा प्रभावकारी हुने भेरीमालिका नगरपालिकाका निमित्त कार्यकारी अधिकृत तुलाराम गिरीको भनाइ छ ।

जिल्लामा शिक्षा क्षेत्रमा काम गर्ने सीमित संस्था भए पनि उनीहरुले सञ्चालन गर्ने काम प्रभावकारी हुन सकेको छैन । निमित्त जिल्ला शिक्षा अधिकारी किसानराज चिलवाल विद्यालय, कार्यालय, स्थानीय निकाय र गैससले छात्राका लागि सरसफाइ तथा आराम गर्ने कोठा बनाउन अभियान नै थाल्नुपर्ने र केही वर्षमै विद्यालयमा छात्राको उपस्थिति नहुने समस्या समाधान हुने दाबी गर्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप