बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय

संविधानमा सबै समुदायका अधिकार सुनिश्चित छ : उपप्रम केसी

सोमबार, १३ पुस २०७२, १४ : ४०
सोमबार, १३ पुस २०७२

म्याग्दी– उपप्रधानमन्त्री एवम् सहकारी तथा गरिबी निवारण चित्रबहादुर केसीले नयाँ संविधानमा सबै समुदायका हक र अधिकार सुनिश्चित भएको बताएका छन् ।

‘नेपालको संविधान जनताको संविधान–जनताको संविधान जनताकै माझमा’ राष्ट्रव्यापी प्रचार अभियानअन्र्तगत आज बेनीमा आयोजित कार्यक्रममा उनले महिला, दलित, मधेसी, जनजाति र पिछडिएका समुदायका अधिकार नयाँ संविधानमा सुनिश्चित भएकाले नयाँ संविधान उत्कृष्ट रहेको बताए ।

उपप्रधानमन्त्री केसीले संविधान निर्माणपश्चात् यसको कार्यान्वयन महत्वपूर्ण रहेकाले संविधान जारी गर्न एकमत भएका मुख्य तीन दलको एकता अझै आवश्यक रहेको उल्लेख गरे । संविधानमा भएका विमतिलाई जनमत तयार गरी संशोधनमार्फत अगाडि बढ्नुपर्ने बताउँदै उनले मधेसमा जारी आन्दोलनको संवैधानिक र राजनीतिकरुपमा समाधान खोजिनुपर्ने बताए ।

माग सम्बोधनको बाहनामा देश नै ठप्प हुने गरी सीमानाका अवरोध गर्नु र हिंसात्मक आन्दोलन गर्नुको कुनै अर्थ नरहेको भन्दै उनले निर्वाचन क्षेत्र भूगोल र जनसङ्ख्याको आधारमा मात्रै निर्धारण हुने बताए । जनताका प्रतिनिधिद्वारा संविधान निर्माण हुनु जनताकै जित भएको उनको भनाइ थियो ।

आफ्नो पार्टी जनमोर्चाले समेत संविधानका केही व्यवस्थामा विमति जनाएको स्मरण गर्दै उपप्रधानमन्त्री केसीले नयाँ संविधानले मुलुकको विकासको मार्गदर्शन दिएकाले संविधानको कार्यान्वयनमा सबै एकजुट भएर लाग्नुपर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप