बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय

डिजेलमा मिसावट पाइएपछि पम्पमा सिलबन्दी

सोमबार, १३ पुस २०७२, १४ : ५५
सोमबार, १३ पुस २०७२

भक्तपुर– सल्लाघारीस्थित सूर्यविनायक आयल स्टोरमा आज वाणिज्य विभागले सिलबन्दी गरेको छ ।

पम्पबाट वितरण गरेको डिजेलले गाडी नचलेपछि डिजेलमा मिसावट भएको आशङ्कामा वाणिज्य विभागका निर्देशक हरिनारायण बेल्वासेसहितको टोलीले स्टोरको अनुगमन गरी सिलबन्दी गरेको हो ।

डिजेलमा पानीलगायत पदार्थ मिसावट गरेर बिक्री गरेको पाइएपछि वाणिज्य विभागले डिजेल बिक्री वितरण गर्न रोक लगाउँदै पम्पमा सिलबन्दी गरेको हो ।

बिहान डिजेल वितरण गरेलगत्तै गाडीको चल्न बन्द भएपछि डिजेलमा मिसावट भएको पत्ता लागेको थियो । आयल स्टोरले पाँचवटा गाडीमा डिजेल हालेलगत्तै कुनै पनि गाडी नचलेपछि चालकले डिजेल झिकेर हेर्दा धमिलो पानी जस्तो रहेको देखिएको बा३ख ६८३३ नम्बरको बसका चालक सुमन गोजाले बताए ।

उक्त पम्पमा डिजेल भरेका बा२ख ४१९८ नम्बरको बसका चालक पूर्णबहादुर बजगाईंले चारदिन लाइन बसेर डिजेल हालेलगत्तै बसको इन्जिन नै बिग्रेकाले पम्प सञ्चालकले क्षतिपूर्ति दिनुपर्ने माग गरे ।

महानगरिय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक किरण बज्राचार्यले उक्त पम्पमा आइतबार साँझ ४००० लि डिजेल आएको र आज बिहान ८ बजे वितरण गर्दा मिसावट भएको पाइएपछि वाणिज्य विभागले परीक्षणका लागि डिजेलको नमुना लगेको जानकारी दिए ।

पम्प सञ्चालक मधु प्रधानाङ्गले भने आफूले डिजेलमा मिसावट नगरेको दाबी गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप