बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय

सडकबाट : ट्याक्सीचालकको सरकारलाई प्रश्न – यसरी कतिदिन बाँच्न सकिन्छ ?

बिहीबार, १६ पुस २०७२, १६ : ०८
बिहीबार, १६ पुस २०७२

मकवानपुर हेटौंडाका ३२ वर्षीय मनराज रुम्बाले ट्याक्सी चलाउन थालेको सात वर्ष भइसक्यो । यसबीचमा सबैभन्दा बढी तेलको हाहाकार यसै बर्ष देखे । दशैंदेखि यता उनले पम्पमा गएर तेल हाल्न पाएका छैनन् । तर तेलको उस्तो साह्रो अभाव पनि झेल्नुपरेको छैन । दुई सय ६० देखि माथि तीन सयसम्म तिरेपछि ‘ब्लयाक’मा तेल पाइन्छ । प्यासेन्जरले पनि कुरा बुझेका छन्, त्यसैले त्यसको असुली गर्न त्यति धेरै गाह्रो परेको छैन । तैपनि सधैँ यसरी चल्दैन भन्ने उनलाई थाहा छ । दुई महिना अघिमात्रै उनले आफ्नै नाममा ट्याक्सी किनेका थिए । उनले भने, ‘देशको अवस्था यस्तै रहिरहला भन्ने सोचेको थिइनँ । तर निकै लामो समयसम्म समस्या समाधान नहुँदा अत्यास लागेको छ ।’ सरकारले समस्याको समाधान गरिदिएर आफूजस्तो सर्वसाधारणको मर्का बुझिदिए हुन्थ्यो भन्ने उनलाई लागेको छ । ‘नानाथरीको कुरा नगरीे समस्या समाधान गर्न सरकारको ध्यान जाओस् । हामीजस्ता जनतालाई काम गर्ने वातावरण होस् । संविधानको राम्रोसँग कार्यान्वयन होस्’, उनले भने । सिन्धुपाल्चोक घर भएका कुमार शाक्यले भने ट्याक्सी चलाउन थालेको भने एक वर्ष भयो । ३७ वर्षीय शाक्य पनि ट्याक्सी चलाउन ‘ब्लयाक’मा किनेको तेलकै भर परेका छन् । ‘तीन सय रुपियाँ तिरेपछि तेल त पाइएकै छ’, उनले भने । उनलाई भने यस्तो बेला प्यासेन्जरको किचकिचले तनाव दिन्छ । भाडा भन्यो कि झर्कन्छन् । तेल नपाइनाले भाडा बढी भन्नुपरेको उनको दुखेसो छ । ‘मलाई पनि भाडा बढी लिन मन लागेको छैन । तर के गर्ने, तेल नै ब्ल्याकमा किन्नुपर्छ । घाटा खाएर पनि चलाइरहेको छु’, उनले दुखेसो पोखे । यस्तो अवस्था आउनुमा उनले सरकारलाई नै दोषी देखेका छन् । ‘यो सरकार अहिलेसम्मकै कमजोर सरकार हो । पाएको मौका पनि सदुपयोग गर्न सकेन । भाषणमात्रै छाँटेर त हुँदैन नि । ठाउँअनुसार काम गर्न सक्नु पर्यो’, उनले रिस पोखे, ‘हामी गरिब जनतालाई यसरी कति दिनसम्म दुःख दिएर आनन्दले बस्छ यो सरकार ? मन्त्रालयमात्रै थपिरहन्छ । समस्याको समाधानचाहिँ कहिले गर्छ ?’ दोलखा घर भएका ३९ वर्षीय देवलाल तामाङ पनि पीडा उही हो । पम्पमा तेल छैन, त्यसैले तीन सय ५० रुपैयाँसम्म तिरेर तेल किन्छन् र ट्याक्सी चलाउँछन् । भन्छन्, ‘गुजारा चलाउनै गाह्रो भइसक्यो । आफ्नै ट्याक्सी भए पनि महिना–महिनामा किस्ता बुझाउनै पर्यो । कुनै दिन त बोहनी पनि हुन्न । महँगो भएकाले चढ्नै मान्दैनन् ।’ दुई÷चार महिना यस्तै अवस्था रहने हो भने त पेशा नै छाड्नुपर्ने स्थिति भएको उनको भनाइ छ । ‘कोठामा ग्यास छैन् । बालबच्चा छन् । खानेकुरा मात्र भएर पनि भएन । पकाउन ग्यास पनि छैन । यसरी कतिदिन बाँच्न सकिन्छ ?’, उनको प्रश्न छ सरकारलाई ।

(यस स्तम्भमा हामीले जनताको आवाजलाई जनताकै भाषामा प्रस्तुत गर्नेछौं । जनताको समस्या सरोकारवाला निकायले सुनोस् र अविलम्ब कारबाही अघि बढाओस् भन्ने हाम्रो उद्देश्य हो । प्रस्तुती : सुजन पन्त)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप